`

नेपालको अवस्थाबारे भारतले आफ्ना नागरिकका लागि जारी गर्‍यो ‘एडभाइजरी’

Nepal One HD ४ असोज २०८२ ८:३३
प्रमुख खबर

काठमाडौं । भारतले जेनजी आन्दोलनयता बिग्रिएको नेपालको अवस्था सुधारको क्रममा रहे पनि यात्रा गर्दा अझै सावधानी अपनाउन आफ्ना नागरिकलाई सुझाव दिएको छ । काठमाडौँस्थित भारतीय दूतावासले आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको हो ।

नेपालस्थित भारतीय दूतावासले भनेको छ, ‘नेपालको स्थितिमा केही हप्ताको तुलनामा सुधार आएको छ । सडक यातायात र उडान नियमित रूपमा सञ्चालन भइरहेका छन् ।’ ‘यद्यपि नेपाल यात्रा गर्ने भारतीय नागरिकलाई सावधानी अपनाउन र भारतीय दूतावास वा स्थानीय अधिकारीले जारी गरेका सल्लाह पालना गर्न सल्लाह दिइन्छ ।’ भारतीय दूतावासले आफ्ना नागरिकलाई सहयोग गर्न हेल्पलाइन नम्बर, आपत्कालीन नम्बर र इमेल ठेगाना पनि जारी गरेको छ ।

सञ्चार मन्त्रालयमा सूचीकृत हुन नआएको भन्दै तत्कालीन ओली सरकारले भदौ १९ गते फेसबुक, एक्स, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । यसको ४ दिनपछि अर्थात् भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै जेनजी (२८ वर्षमुनिको पुस्ता) ले काठमाडौँसहित देशका प्रमुख सहरमा प्रदर्शन गरेको थियो ।

दुई दिनको जेनजी आन्दोलनमा परी हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ । कैयौं घाइते अझै अस्पतालमा छन् । सार्वजनिक तथा निजी सम्पत्तिको क्षति ठूलो छ ।

यस क्रममा आन्दोलनकारीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई घरभित्रै पसेर कुटपिट गरे ।

जेनजी आन्दोलनका कारण कांग्रेस–एमालेको गठबन्धन सरकार ढलेपछि मुलुकमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ भने नयाँ सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद् (प्रतिनिधि सभा) विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *