शपथपछि महावीर पुनको प्रतिक्रिया : मन्त्री बन्दिँन भनेको थिएँ बाध्यता आइपर्यो


काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका महावीर पुनले आफू मन्त्री बन्दै नबन्ने भने पनि परिस्थितिका कारण मन्त्री बन्नुपर्ने बाध्यता आइपरेको बताएका छन् । शपथ ग्रहणपछि शितलनिवासमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले व्यवहारिक अनुसन्धान आफ्नो प्राथमिकता रहेको बताए । उनले विज्ञानका अलवा आफूले शिक्षाको जिम्मेवारी सम्हालेका कारण के–के बिषय प्राथामिकतामा राख्ने भनेर अहिले तत्कालै नभन्ने बताए ।
उनले आफूले राम्रो मान्छेको सुझाव मात्रै लिने पनि बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले हरेक युवाले कुनै काम गर्दा कसैलाइ सोधेर वा कसैको पुच्छर बनेर काम नगरी आफ्नै बुद्धिले काम गर्नुपर्ने पनि बताएका छन् । शपथ अघि व्यंग्यात्क रूपमा मन्त्री पुनले आफूलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भनेर टिप्पणी गरेका छन् । उनको आविष्कार केन्द्र सँघुरो ठाउँमा कवाडी कारखाना जस्तो रहेको भनेर टिप्प्णी हुने गरेकाले उनले पनि व्यंग्यात्मक ढंगमा भनेका हुन् । ‘मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला,’ उनले भनेका छन् ।
मन्त्री पुनले ५ महिनाभित्र गर्न सकिने ठोस काम र आइडिया मागेका छन् । ‘कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला,’ उनले भने । यो सरकार चुनाव गराउने अन्तरिम सरकार भएकाले उनले ५ महिनामा गर्न सकिने कामको योजना मात्र मागेका हुन् ।
सरल जीवनशैली भएका पुन मन्त्रीमा सिफारिस हुँदै गर्दा पनि आविष्कार केन्द्रमा ग्यासबाट शव जलाउने भट्टी निर्माण भएको जानकारी गराउँदै थिए । दुई दिनअघि काठमाडौं आएका पुन आविष्कारका लागि आर्थिक जुटाउन जिल्ला जिल्लामा किताब बेच्न हिँडिरहेका थिए । आफ्नै पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बोकेर उनले ५२६ दिनमा ४५ वटा जिल्लामा २ लाख ४० हजार पुस्तक बेचेका छन् ।