शिक्षामन्त्री पुन मन्त्रालयकै कोठामा बस्ने, आफै पकाएर खाने


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन दिएका छन् । आज (सोमबार) पदभार ग्रहणपछि कर्मचारीहरूलाई निर्देशन दिँदै उनले सुत्ने खाट र खाना पकाउने व्यस्थापन गर्न भनेका हुन् ।
‘म जहाँ काम गर्छु, त्यहीँ बस्ने बानी छ । मन्त्रालयमै एउटा कोठा बनाउनुस्, खाट र कुर्सी चाहिन्छ । किचन भए पुग्छ, म आफै पकाएर खान्छु’, मन्त्री पुनले भने । उनले आफूलाई प्रहरी वा सेनाको सुरक्षा आवश्यक नपर्ने बताएका छन् । ‘अहिलेसम्म आएको सुरक्षा टोलीलाई कमाण्डरलाई रिपोर्ट गरेर फर्कन भनेको छु । मेरो अघिपछि आउनु पर्दैन’, पुनले भने । उनले मन्त्रालयको कामका लागि बाहिर जाँदा गाडी भने प्रयोग गर्ने बताएका छन् । ६ महिनाका लागि मन्त्री भएको बताउँदै उनले आफूले सकेको काम गर्ने प्रतिबद्धता जनाए ।
पुनले गरे पहिलो निर्णयमै हस्ताक्षर नगर्ने जिद्दी
नव नियुक्त शिक्षामन्त्री महावीर पुनले पदभारग्रहण गरेका छन् । केशरमहलमा तयार पारिएको शिक्षा मन्त्रालयमा गएर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि मन्त्रीलाई पहिलो निर्णयमा हस्ताक्षर गराउने प्रचलन छ । तर, मन्त्री पुनले पहिलो निर्णयमा हस्ताक्षर नै गर्न मानेनन् ।
मन्त्रालयले वैज्ञानिकहरूको एउटा समिति बनाउने निर्णयमा मन्त्रीको सही गराउन खोजेको थियो । तर, मन्त्री पुनले यस्ता समिति कति बन्छन् कति भनेर हस्ताक्षर नगर्ने जिद्दी लिए । त्यसपछि कर्मचारीहरूले यो प्रक्रियागत कुरा भएको भन्दै निकै बेर सम्झाएपछि उनी तयार भए । मन्त्री पुनले भने, ‘अहिले हस्ताक्षर चाँहि गर्छु, तर, यो निर्णयलाई पछि मेरो टिमले हेर्नुपर्छ ।’