`

तुइनखोलामा १६० मिटर बढी ढाक्ने गरी पहिरो : पोखरा–काठमाडौँ यातायात समेत प्रभावित

Nepal One HD ८ असोज २०८२ १६:४४
समाज

गण्डकी । मुग्लिन–नारायणगढ खण्डको तुइनखोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा– काठमाडौँ सडक खण्डमा पनि पर्ने गरेको छ । उक्त पहिरोका कारण मुग्लिन खण्डमा सवारीसाधनको अत्याधिक चाप बढ्न थालेसँगै त्यसको प्रभाव पोखरा–काठमाडौँ आवतजावत चल्ने सवारीसाधनमा परेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।

उक्त पहिरोका कारण सडकमा सवारीसाधनको जाम हुन थालेपछि यात्रुहरूलाई समयमा नै गन्तव्यमा पु¥याउन नसकिएको उनले बताए । लगातार पहिरो जान थालेपछि मुग्लिन–नारायणगढ सडक खण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

उनले भने, ‘मुग्लिन–नारायणगढ खण्डमा सडक यातायात प्रभावित भएसँगै नेपालका पश्चिमी क्षेत्रमा जाने सवारीसाधन पोखरा हुँदै जान थालेका कारण पनि सवारीसाधनको चाप अत्याधिक छ ।’ पोखरा–काठमाडौँ खण्डमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत नियमित ४०० को संख्याका यात्रुवाहक सवारीसाधनले सेवा दिइरहेको उनले जानकारी दिए । दशैँको टीकाको दिन नजिकिँदै गर्दा ठूलो संख्यामा सर्वसाधारण आवतजावत गर्ने भए पनि सडक अवरुद्ध हुँदा आवतजावतमा कठिनाइ भएको उनले बताए ।

सडकका दुवैतर्फबाट २-२ वटा गरी ४ वटा उपकरणले बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले बताए । उनका अनुसार अपरान्ह ३ बजेसम्ममा सडकको दुवैतर्फ गरी करिब ६० मिटर मात्रै पहिरो पन्छाइएको छ । मंगलबार अपरान्ह खसेको भयंकर पहिरोले झण्डै १६० मिटर सडक क्षेत्र पुरिएको छ भने २० मिटर अग्लो पहाड नै बनेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *