`

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

रामेछाप । रामेछापको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । पालिकाको वडा नम्बर ३ का चार टोलका बासिन्दा पहिरोको जोखिममा परेका हुन् । पहिरोले पूरै बस्ती नै तानेपछि तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन पीडितले माग गरेका छन् ।

सुनापति–३ मा पर्ने केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका बासिन्दा विस्थापित हुने खतरा छ । विगत लामो समयदेखि सामान्य पहिरो खस्दै आएको उक्त बस्ती यही असोज १७, १८ र १९ गते परेको अविरल वर्षाका कारण झन जोखिममा परेको हो । पहिरोले बस्ती नै तलतलिर तानेपछि कतिपय घर भत्किसकेका छन् भने धेरजैजो घर चिराचिरा परेर ढल्ने अवस्थामा पुगेका छन् । वर्षा रोकिएको दुई बित्न लाग्दा समेत पहिरो भने रोकिएको छैन । चक्लाबन्दी पहिरोका कारण बस्ती दिनदिनै तलतल सर्दै गइरहेका छन् । जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने काम अघि बढाइएको र राहतबापतको केही रकम पनि दिने तयारी भएको सुनापति गाउँपालिकाका उपाध्यक्ष गीता विष्टले बताइन् ।

घरहरु दिनदिनै खानीखोलातर्फ बग्दै गएपछि पीडितले आफूहरुलाई तत्कालै सुरक्षित ठाउँमा बस्ने बासको व्यवस्था मिलाइदिन माग गरेका छन् । बस्तीमा बस्न सक्ने अवस्था नभएकाले तत्काललाई सुरक्षित ठाउँमा बस्ने बास मिलाइदिन र स्थानीयवासीको लागि सुरक्षित ठाउँमा बस्ती नै सार्नुपर्ने स्थानीय पीडित सीता खड्का बताउँछिन् । पहिरो क्षेत्रमा पर्ने बस्तीका बासिन्दालाई राति त्यस ठाउँमा नबस्न गाउँपालिकाले आग्रह गरे पनि अन्त बस्ने ठाउँ नहुँदा पीडित त्यहीँ बस्न बाध्य छन् ।

स्थानीय पीडित मीनबहादुर खत्रीका अनुसार २०३५ सालमा त्यस ठाउँलाई पहिरोको जोखिम क्षेत्रमा सूचीकृत गरिएको थियो । त्यति बेला त्यहाँका केही बासिन्दालाई बसाइँ सारेर अन्यत्र लगिए पनि पछि त्यस ठाउँमा पुनः बस्ती बसालिएको थियो । अब यस ठाउँमा बस्न सक्ने अवस्था नरहेको तर अन्यत्र सर्न पनि आफ्नो निजी जग्गा जमिन यही ठाउँमा भएको पीडित रोज थिङले बताए ।

सुनापति–३ का वडाध्यक्ष कुलबहादुर थिङको नेतृत्वमा समिति बनाएर पीडितको पहिचान गरिसकिएकाले अब तत्कालै उनीहरुलाई राहत र पुनर्वासको व्यवस्था मिलाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठले बताए । पहिरो जोखिम क्षेत्रका बासिन्दालाई सरकारले तत्कालै राहत सँगसँगै उनीहरुको जीवन रक्षाको लागि अन्यत्र बसाइँसराइ गराएर स्थायी रुपमा पुनर्वासको व्यवस्था मिलाउन नसके ठूलो जनधनको क्षति अवस्था रहेको छ ।

पहिरो प्रभावित इलाममा राहत लिएर पुग्यो क्षितिज नेतृत्वको युवा संघको टोली

इलाम । अविरल भारी वर्षासँगै गएको पहिरोमा परी इलाममा ठूलो जनधनको क्षति भएपछि यतिबेला नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले राहत वितरण सुरु गरेको छ ।

बुधबार युवा संघका अध्यक्ष क्षितिज थेबे नेतृत्वको टोलीले इलामको माइ नगरपालिकामा राहत वितरण सुरु गरेको युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार बुधवार बाढीले सबैभन्दा बढी प्रभावित माइ नगरपालिका–७ चेप्टी गाउँमा राहत वितरण गरिएको हो ।

भारी वर्षासँगै गएको बाढीले गाउँ नै ध्वस्त भएको छ । युवा संघले बाढी प्रभावित परिवारलाई प्रतिपरिवार एक बोरा चामल, खाने तेल दुई लिटर, नुन, मरमसला, पिभीसी, म्याट लत्ताकपडा, ब्ल्यांकेट, डस्ना, जुत्ता चप्पल वितरण गरेको छ । युवा संघले बाढी प्रभावित सबै स्थानीय तहमा राहत वितरण गर्ने तयारी गरेको छ । जेनजी आन्दोलनपछि दलका नेता–कार्यकर्ता निष्क्रिय रहेका बेला युवा संघले भने बाढी पहिरो प्रभावित क्षेत्रमा राहतको प्याकेज लिएर जनताकहाँ पुगेको छ ।

बाढी–पहिरोबाट घर गुमाएकालाई सरकारले तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने

काठमाडौं । सरकारले केहि दिनअघिको बाढी–पहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो जानकारी गराएको हो । सरकारले बाढी–पहिरो प्रभावितलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने भएको छ ।

बाढी–पहिरोबाट कसैको घरभत्केको पाइएमा सरकारले तत्काल अस्थायी आवासमा सार्ने र दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको हो । अस्थायी आवासका लागि विपद् प्राधिकरणबाट ५० हजार रुपैयाँ उपलब्ध गराइने छ । सो रकममध्ये २५ हजार रुपैयाँ तत्काल र २५ हजार रुपैयाँ एक लेबल घरको संरचना बनेपछि मापदण्ड अनुसार उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

बाढी–पहिरोबाट ६२ ले गुमाए ज्यान, इलाममै ३९ जना पुगे

काठमाडौ । गत १७ देखि १९ गतेसम्म परेको अलिरल वर्षा र त्यसपछिको बाढी, पहिरो र अन्य विविध कारणबाट ६२ जनाको ज्यान गएको छ। सरकारी तथ्यांकअनुसार कोशी, मधेश, बागमतीमा बाढी र पहिरोबाट ४६ जनाको मृत्यु भएको हो । यीबाहेक १६ जनाको अन्य विविध कारणबाट मृत्यु भएको छ ।

इलाममा बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । इङ्लाखोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेलापछि मृतकको संख्या ३९ पुगेको हो । सन्दकपुर–५ इङलाका वडा सदस्य कुमार गुरुङका अनुसार प्रवेश अस्तीदेखि बेपत्ता थिए ।

उनको स्वीटर र हाइनेक मात्र भेटिएको थियो । त्यस स्थानबाट करिब ४०० मिटर तल आज उनको शव फेला परेको वडा सदस्य गुरुङले जानकारी दिएका छन् । योसँगै इलाममा मृत्यु हुनेको संख्या ३९ पुगेको हो । एक जना बेपत्ता छन् । इलाम नगरपालका–६ का महेन्द्र लिम्बु बेपत्ता छन् । उनलाई पहिरोले घरसहित बगाएको थियो ।

 

पाकिस्तानी प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले हालैको बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

‘नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म ज्यादै दुःखी छु । म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा छन्’, सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्।

बाढी–पहिरो : ज्यान गुमाउनेको संख्या १५ नाबालकसहित ६० पुग्यो

काठमाडौं । देशका विभिन्न जिल्लामा दुई दिनको भारी वर्षापछि आएको बाढी–पहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।बाढी–पहिरोका कारण ११ जिल्लाका १५ नाबालकसहित ६० जनाको ज्यान गएको हो । इलाममा १३ पुरुष १४ महिला र १० नाबालकसहित ३७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै पाँचथरमा ३ पुरुष, ४ महिला र १ नाबालक, उदयपुरमा २ महिला र १ नाबालक, खोटाङमा २ पुरुष, सुनसरीमा १ पुरुष, रौटहटमा १ महिला र २ नाबालक, मोरङमा १ महिला, महोत्तरीमा १ महिलाको ज्यान गएको छ । त्यस्तै सिन्धुपाल्चोकमा १ नाबालक, काभ्रेमा २ महिला, सिन्धुलीमा १ जना महिलाको ज्यान गएको हो ।

 

 

लाङटाङ यात्राका क्रममा बेपत्ता चार जना अझै भेटिएनन्, १२ जनालाई स्याफ्रुबेशी ल्याइयो

काठमाडौं । लाङटाङमा ट्रेकिङ यात्राका क्रममा बाढी–पहिरोका कारण फसेका १२ जनालाई सुरक्षाकर्मीले स्याफ्रुबेशी ल्याएको छ ।सोमबारसम्म १२ जनलाई रसुवाको स्याफ्रुबेशी ल्याइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले उनीहरूलाई स्याफ्रुबेशी ल्याएको हो । उनीहरू १६ जनाको टोली लाङटाङ ट्रेकिङ गएका थिए । जसमध्ये चार जनालाई बेरिङ खोलाले बगाएर बेपत्ता बनाएको छ । सेना, प्रहरी र सशस्त्र प्रहरी बलले खोजी तथा उद्धार गरिरहेको छ ।

पाँच वटा स्थानमा खोजी जारी छ । शनिबार गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोलाले चार जनालाई बेपत्ता पारेको थियो । बेपत्ता हुनेमा मध्यपुर थिमि नगरपालिकाकी संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० बस्ने रवि श्रेष्ठ छन् ।

प्रेमिकाको पीडा : मेरो छोरीलाई जोगाएर मलाई लगेको भए हुन्थ्यो भगवान् !

इलाम । दुई वर्षपछि साउदी अरबबाट दशैं मनाउन घर फर्किएका खेमकुमार सिंजाली मगरको परिवारका लागि यो वर्षको दशैं जीवनको सबैभन्दा पीडादायी क्षण र ठूलो दशा बनेर आयो ।

२४ वर्षीय खेमकुमार एक महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा उनलाई परिवारसँग बिताउने दिनको उत्साह थियो । इलाम नगरपालिका–५ घोष गाउँस्थित ससुरालीमा पुगेका उनी दशैंको टीकापछि श्रीमती प्रेमिका तामाङ र पाँच वर्षीया छोरी प्रिन्सिकासँग रमाइलो समय बिताइरहेका थिए ।

तर शनिबार राति आएको बिपद्ले सबै कुरा एकाएक बदलिदियो । आइतबार बिहान करिब ४ बजे आएको भीषण पहिरोले उनीहरू बस्दै आएको घर नै पुरिँदा पाँच वर्षीया प्रिन्सिका च्यापिएर ज्यान गुमाइन् । श्रीमती प्रेमिका घाइते अवस्थामा उद्धार भइ अहिले इलाम अस्पतालमा उपचाररत छिन् ।

प्रेमिका तामाङको आँखाबाट आँशु थामिएको छैन । छोरीको अनुहार अन्तिम पटक हेर्न पनि नपाएको पीडामा उनी भन्छिन्, ‘मेरो छोरीलाई जोगाएर मलाई किन लगिनस् भगवान् ?’ खेमकुमारलाई चार दिनपछि साउदी फर्किनु थियो, तर अब उनी असमञ्जसमा छन् । उनी भन्छन्, ‘यो घटनाले सबै सपना चकनाचुर बनायो । शायद अब विदेश नफर्की श्रीमतीको साथमा बसेर यतै केही गर्नुपर्ला ।’ खेमकुमारको घर अब मात्र इँट–पर्खाल होइन, सम्झनाहरूको चिहान बनेको छ ।

मन्त्री घिसिङ र अर्याल आज इलाम जाँदै

काठमाडौं । पहिरोबाट सबै भन्दा धेरैको ज्यान गएको क्षेत्र अवलोकन गर्न वर्तमान सरकारका दुई मन्त्रीहरु आज (सोमबार) इलाम जाने भएका छन् । मौसम अनुकूल भएमा मन्त्रीद्वय कुलमान घिसिङ र ओम प्रकाश अर्याल आज इलाम जाने भएका हुन् ।

काठमाडौंबाट झापाको भद्रपुरसम्म नियमित उडानको हवाईजहाजमा र भद्रपुरबाट इलाममा हेलिकप्टरबाट जाने तयारी छ । असोज १८ गतेको भिषण वर्षाले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । कयौं घाइते र बेपत्ता छन् ।

राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरु भत्किएर क्षतविक्षत भएका छन् । शुक्रबार र शनिबारको बाढी पहिरोका कारण देशभर ५३ जनाको ज्यान गएको छ ।

काभ्रेमा पहिरोसँगै आएको ढुंगाले लागेर महिलाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेको रोशीमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर एक महिलाको ज्यान गएको छ । आइतबार अपराह्न ४ बजेतिर रोशी गाउँपालिका–११ स्थित भैंसेमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर ५६ वर्षीया बिमलादेवी तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

बिमलादेवी घर नजिकै लुगा धुन जाने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेर मृत्यु भएको थियो । कार्कीका अनुसार प्रहरीको सहीको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए ।

बाढी–पहिरो अपडेट : देशभर ज्यान गुमाउनेको संख्या ५२ पुग्यो

काठमाडौं । दुई दिन (शुक्रबार र शनिबार) को अविरल वर्षाका कारण आएको बाढी–पहिरो परेर देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो ।

जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

 

 

बाढी–पहिरो र चट्याङबाट देशभर ४३ को मृत्यु, इलाममा मात्र ३७ जना

काठमाडौं । असोज १७ गतेदेखिको लगातारको भारी वर्षाका कारण देशभर ४३ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरणअनुसार मृत्यु हुनेमध्ये इलामका मात्र ३७ जना रहेका छन् ।

प्राधिकरणका अनुसार रौतहटमा ३ जना, पाँचथरमा १ जना, खोटाङमा १ जना र उदयपुरमा १ जनाको मृत्यु भएको छ । यस्तै पाँच जना हराइरहेका छन् । बेपत्तामध्ये स्याङ्जामा ४ जना खोलाले बगाएको र इलाममा १ जना पहिरोमा पुरिएको प्राधिकरणले जनाएको छ ।

घाइतेको संख्या १२ पुगेको छ । जसमा इलाममा ४ जना, भोजपुरमा ३ जना, खोटाङमा ३ जना, पाँचथरमा १ जना र मकवानपुरमा १ जना घाइते भएका छन् । अत्यधिक वर्षाका कारण इलामको माङसेबुङमा अलपत्र परेका २ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

सरकारले असोज १८ देखि २० गतेसम्म लामो दूरीका सवारी साधन सञ्चालन रोक्दै उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको छ । स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका परिवारलाई सुरक्षित स्थानमा सार्ने र उद्धार–राहतका लागि सुरक्षा निकायलाई परिचालन गरेका छन् ।

बाढी–पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल दुई लाख राहत, घाइतेको निःशुल्क उपचार

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी–पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहतस्वरूप तत्काल दुई लाख उपलब्ध गराउन निर्देशन दिएको छ ।

प्राधिकरणले स्थानीय तहसँग समन्वय गरेर मृतकका परिवारलाई दुई लाखका दरले सहयोग उपलब्ध गराउँदै घाइतेको निःशुल्क उपचार गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख इ.दिनेश प्रसाद भट्टले क्षति पुगेका जिल्लाहरुमा उद्धार तथा राहत तत्काल पु¥याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको जानकारी दिएका छन् ।

प्राधिकरणले बाढी र पहिरोले सबैभन्दा धेरै धनजनको क्षति पु¥याएको इलाम जिल्लामा मात्रै ७० लाख रुपैयाँ तत्काल उपलब्ध गराएको छ ।‘भर्खरै इलाममा बढी क्षति पुगेका कारण त्यहाँ हामीले ७० लाख उपलब्ध गराएका छौं । अन्य जिल्लामा भने यसअघि नै जिल्ला विपत् कोषमा पैसा पर्याप्त रहेका कारण सोहीबाट खर्च गर्न निर्देशन दिएका छौँ’, उनले भने । प्राधिकरणले तत्काल सहयोग उपलब्ध गराउन तथा खोज उद्धार र राहत पुनस्र्थापनाका कार्यलाई निरन्तरता दिन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुलाई निर्देशन दिएको हो ।

नेपालको बाढी–पहिरोको क्षतिप्रति मोदीले भने–जुनसुकै सहयोग गर्न तयार छौं

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जाल एक्समार्फत यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताएका छन् ।

साथै प्रधानमन्त्री मोदीले विपद्को घडीमा छिमेकी मित्र राष्ट्रका हैसियतले आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पहिरोले पुर्दा इलाममा एकै परिवारका ६ को मृत्यु, चार जना घाइते

इलाम । लगातारको बर्षासँगै गएकाे पहिरोले घर पुर्दा इलाम नगरपालिका–६ घोषस्थित नवबुद्ध आदर्श टोलमा एकै परिवारका ६ जनाको ज्यान गएको छ । आइतबार बिहान पहिरो जाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको हो ।

भारी वर्षाका कारण गएको पहिरोले स्थानीय डम्बर तामाङको घर पुरिँदा ठूलो जनधन क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। मृतकहरूमा ४० वर्षीय अनु तामाङ, २१ वर्षका प्रशान्त तामाङ, २१ वर्षका बिराज तामाङ, १२ वर्षका समीर राई, ७–८ वर्षकी प्रिन्सिका मगर र करिब ३–४ वर्षका एक बालक रहेको इलाम नगरपालिका–६ का वडा अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए ।

मृतक नाबालकको उद्धार गरी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । घटनामा चार जना घाइते भएका छन् । दशैं भएको कारण पाहुना लाग्न आएका ६–७ जनाले भागेर ज्यान बचाएका छन् । जसमा वृद्ध दम्पती पनि छन् । उनीहरू करिब ८० वर्ष नाघेका छन् । वडा अध्यक्ष श्रेष्ठका अनुसार डम्बर तामाङको घर पूर्ण रूपमा पुरिएको छ ।

इलाममा पहिरोले पुर्दा दुईको मृत्यु, कम्तिमा १० जना बेपत्ता

इलाम । इलाममा पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको छ । कम्तिमा १० जना बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् । यद्यपि यो संख्या प्रहरीबाट पुष्टि हुन बाँकी छ ।

इलाम प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिकालगायतका स्थानमा घर पुरिएको प्रारम्भिक विवरण आएको छ । तर कठिन भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलामको इलाम नगरपालिका–६ घोषमा पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा दुई बालबालिकाको मृत्यु भएको हो । घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ । दुई जना घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको स्थानीय युवा रेवज तामाङले जानकारी दिएका छन् ।

यस्तै माईजोगमाई गाउँपालिका–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना पहिरोमा बेपत्ता छन् । त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् । माङ्सेबुङमा पनि पहिरोमा ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लामा बाढी पहिरोले क्षति पुर्‍याए पनि संख्या एकिन हुन बाँकी रहेको बताइन् । पानी पर्न रोकिएकाले बिहानैदेखि खोज तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिइन् ।

 

तुइनखोलामा पहिरो, सडक दुईतर्फी बन्द

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकअन्तर्गत तुइनखोलामा दुईतर्फी सडक आवागमन बन्द भएको छ । पहिरो खसेपछि अपराह्न ४ बजेदेखि बाटो बन्द भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार ढुंगा झरिरहेको छ । अहिले पहिरो पन्छाउने काम पनि भइरहेको छ । कार्यालयले अत्यावश्यक बाहेक सडक यात्रा नगर्न सुझाएको छ । डोजरले एकतर्फी सडक सञ्चालनको लागि पहिरो हटाइरहेको छ ।

अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन् । सरकारले भोलि र पर्सी सार्वजनिक बिदा समेत दिइसकेको छ । मनसुन अझै दुई दिन सक्रिय हुने बताइएको छ ।

फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग ठप्प

चितवन । इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १ः४५ बजे मुग्लिङ–नागढुङ्गा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ ।

पहिरो पन्छाउने काम सुरु गरिएको उनले बताए । नारायणगढ–मुग्लिन सडक खण्डमा भने अहिलसम्म अवरोध नभएको उनले जानकारी दिए। निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

बाढी–पहिरोबारे जानकारी लिन मन्त्री घिसिङले बोलाए वैठक

काठमाडौं । अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुन थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले विभागीय प्रमुखहरूको बैठक बोलाएका छन् ।

मन्त्री घिसिङको सचिवालयका अनुसार मौसम र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आज बिहान ११ बजे बस्ने गरी विभागीय प्रमुखहरूको बैठक बोलाएका हुन् ।

बैठकमा सडक सुरक्षा र सम्भावित विपद्बाट बच्न सकिने उपायबारे छलफल र निर्देशन हुने मन्त्री घिसिङको सचिवालयले जनाएको छ । अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नागढुंगामा प्रहरीको माइकिङ : अगाडि नबढ्नु होला, सुरक्षित काठमाडौं फिर्ता हुनुहोला

धादिङ । धादिङको विभिन्न स्थानमा पहिरो गइरहेका कारण प्रहरीले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ गरिरहेको छ । नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेको र तत्काल हटाउन सम्भव नरहेको भन्दै आज विहानैदेखि प्रहरीले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ गरिरहेको हो ।

काठमाडौंको मुख्य नाका नागढुंगा चेकपोष्टमा तैनाथ प्रहरीहरूले माइकिङ गर्दै अगाडि नबढ्न अनुरोध गरिरहेका छन् । ‘धादिङको विभिन्न ठाउँमा पहिरो आएको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको हुँदा सम्पूर्ण चालक-सहचालक महानुभावहरू, तपाईंहरूलाई यहाँबाट पठाउन सकिँदैन ।

त्यसैले सुरक्षित तरिकाले काठमाडौं फिर्ता भई सुरक्षित रहनु हुन अनुरोध गर्दछौँ,’ प्रहरीले माइकिङ गर्दै भनिरहेको छ । यसैबीच पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

धादिङ बेनिघाट रोराङ–१० जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको र चितवनको इच्छाकामना–५ तुइनखोला पुलमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
पहिरो पन्छाने र सवारीसाधन पार गराउने कार्य जारी रहेको र जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न उनले आग्रह गरेका छन् । पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले उच्च जोखिम भने कायम रहेको प्रहरी जनाएको छ ।

बाढी–पहिरोको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कार्यालयले आज (शुक्रबार) जारी गरेको विज्ञप्तिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने भएकाले कतिपय स्थानमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको उल्लेख छ । यसले गर्दा नदीनाला र खोलानालाको सतह आकस्मिक रूपमा बढ्ने र बाढी–पहिरो, डुबान, कटान तथा भूक्षयको सम्भावना रहेको चेतावनी दिइएको छ ।

विशेष गरी मधेश प्रदेशको तराई, नारायणी, बागमती, कोशी र कर्णाली नदी क्षेत्र, साथै काठमाडौं उपत्यका र पूर्वी तराईका जिल्लामा उच्च जोखिम रहेको उल्लेख छ । बागमती प्रदेशका काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, चितवन तथा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङमा जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही र आसपासका जिल्लामा जोखिम रहेको पनि उल्लेख छ ।

कार्यालयले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपांगता भएका व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ । साथै, स्थानीय तह, विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी, स्वयंसेवक तथा सरोकारवाला निकायलाई पूर्वतयारी र राहत–उद्धारका लागि तयार रहन निर्देशन दिइएको छ ।

जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमान अनुसार यही असोज १७ गतेदेखि २० कतिपय स्थानमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुन सक्ने तथा नदीहरूमा उल्लेख्य रूपमा पानीको सतह बढ्न गई खतरा तहको आसपासमा पुग्ने सम्भावना देखिएको छ ।

हेर्नुस् सूचना

पाँच ठाउँमा पूर्णरुपमा सडक अवरुद्ध

काठमाडौं । बाढी–पहिरो र वर्षाका कारण कोशी र बागमती प्रदेशका पाँच ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ७ बजे सार्वजनिक गरेको विवरण अनुसार अविरल वर्षाले संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ मा नेपाल–चीन नाका जोड्ने पुलनेर सडक पूर्णरुप्मा अवरुद्ध भएको छ । यसैगरी गोसाइँकुण्ड गाउँपालिका २ मै पासाङ ल्हामु सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ ।

नेपाल–चीन सीमा क्षेत्रमा गत असार २४ गतेदेखि नै बाढीले सडक अवरुद्ध भएको हो भने पासाङ ल्हामु सडकखण्डमा भने यही असोज १६ गते पहिरो गएर यातायात अवरुद्ध भएको हो । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ चारकिलो भन्ने स्थानमा पहिरो झरेर अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

हेर्नुस् प्रहरीको सूचना

 

तुइनखोलाको पहिरो पन्छाउन कम्तीमा चार घण्टा लाग्ने

काठमाडौं । मुग्लिन–नारायणगढ सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम जारी । यति बेला आवागमन दुईतर्फी बन्द रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

पहिरो झर्ने क्रम जारी नै छ । दुई उपकरणबाट सावधानी अपनाई पहिरो पन्छाउने कार्य थालिएको छ । ‘थप पहिरो नझरे पहिरो पन्छाउन करिब तीन–चार घण्टा समय लाग्ने आंकलन गरिएको छ’, सडक डिभिजनले सोमबार (असोज १३) दिउँसो साढे १ बजे जारी गरेको सूचनामा भनिएको छ, ‘सकभर वैकल्पिक सडक प्रयोग गर्नुहुन अनुरोध गर्दछौँ।’

रोकिएका सवारीसाधनलाई लेन अनुशासनको पालना गरी सावधानीपूर्वक रहन सडक डिभिजनले आग्रह गरेको छ । सोमबार मध्याह्न त्यहाँ पुनः पहिरो खसेको हो । अविरल वर्षा, बाढीपहिरोका कारण देशका विभिन्न ६ ठाउँमा आज पनि राजमार्ग बन्द रहेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले संखुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका ६ ठाउँमा राजमार्ग अवरुद्ध रहेका जानकारी दिए ।

उनका अनुसार अहिले बिहान ९ बजेसम्मको विवरणअनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाएँपालिका–४ बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही जिल्लाको मकालु गाउँपालिका–३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध भएको छ । यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ ।

रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा नेपाल–चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन। आज रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ तातोपानीमा पनि पहिरोले पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छ्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सिन्धुपाल्चोकको सुनकोशी गाउँपािलका–७ एककिलोमा आइतबारदेखि परेको वर्षसँगै आएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता घिमिरेले जानकारी दिए ।

उनका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बाह्रकिलोमा आज खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार परिोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालनमा ल्याइएको छ ।

तुइनखोलामा फेरि पहिरो, सडक दुईतर्फी अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरो खसेपछि आज मध्यान्ह १२ बजेदेखि सो स्थानमा दुईतर्फी आवागमन बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

अहिले पनि पहिरो झने क्रम जारी रहेकाले सो क्रम रोकिएपछि मात्रै पहिरो हटाउने काम सुचारु हुने कार्यालयले जनाएको छ । डिभिजनबाट उपकरणहरू तैनाथ अवस्थामा रहेको पनि कार्यालयले जनाएको छ ।

अघिल्लो साता पनि यही ठाउँमा आएको पहिरो ४५ घण्टा लगाएर पन्छाइएको थियो । यो सडकखण्ड हुँदै दशैं मनाउन घर जानेहरू यसपटक तुइनखोलाको पहिरोका कारण समस्यामा परेका छन् । पश्चिमतर्फ हिँडेका सवारी साधनहरू अहिले मुग्लिन सडकअण्डमा लामबद्ध हुन थालेका छन् ।

तुइनखोलाको पहिरो आज सकिएला पन्छाएर ?

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइनखोलामा खसेको पहिरो अहिलेसम्म ६० प्रतिशत पन्छाइएको छ । डिभिजन सडक कार्यालय, भरतपुरले बिहीबार दिउँसो सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो ।पहिरो पन्छाउनको लागि नारायणगढ तर्फबाट एक्साभेटर १, लोडर १ र मुग्लिन तर्फबाट लोडर २, एक्साभेटर ३ वटा प्रयोग गरी निरन्तर रुपमा काम भइरहेको कार्यालयले जनाएको छ । यसका अलावा दुवैतर्फ १-१ वटा ब्याक हो लोडर तैनाथ अवस्थामा रहेका छन् ।

काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एक पटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ । पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूलाठूला ढुंगाहरूका कारण कठिनाइ भएको डिभिजन कार्यालयले जनाएको छ ।

पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स–साना तिखा ढुंगाहरूका कारण टायर पञ्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेकोले हेभि इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रे बाट दुइजना अपरेटरहरु पनि थप गरिएको छ ।

कुनै पनि बाधा आइनपरे निरन्तर रुपमा कार्य गर्न सकिएको खण्डमा सम्भवत आज रातिसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन सञ्चालनमा ल्याउने डिभिजन कार्यालयको आंकलन छ । पटक–पटक ठूलो पहिरो खस्दा मुग्लिन–नारायणघाट सडकमा गएको एक सातादेखि गाडी चल्न सकेका छैनन् । तीन दिन लगाएर पहिरो पन्छाएको ठाउँमा गएको मंगलबार झन् ठूलो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध छ । दसैँसहितका चाडपर्वको संघारमा राजधानी काठमाडौँ आवात जावत गर्ने मुख्य सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन् ।

ज्वाङखोलामा पहिरो पृथ्वी राजमार्ग फेरि अवरुद्ध

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वी राजमार्गमा यातायात अवरुद्ध भएको छ । सडकमा ठूलो परिमाणमा माटो र ढुङ्गा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको हो । आज बिहान करिब १० बजेबाट पहिरो झर्न सुरु भएको हो ।

हाल सडकमा यातायात सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । दसैँ सुरु भएसँगै घर फर्किने यात्रुको चाप बढिरहेको अवस्थामा राजमार्ग बन्द हुँदा हजारौँ सवारी साधन बाटैमा रोकिएका छन् । रोकिएका सवारी साधनलाई सम्भावित जोखिम कम हुने सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

अवरुद्ध स्थान नजिकै मात्र नभई अन्य ठाउँमा पनि पहिरोको उच्च जोखिम रहेको भन्दै यात्रुलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा यसअघि (सोमबार राति) सुक्खा पहिरो खस्दा १७ घण्टा पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो । बुधबार बेलुका झरेको पहिरो आज बिहान पन्छाएर सडक सञ्चालन गराइएको थियो ।

नौबिसे–मुग्लिन सडक खण्डको पहिरो पन्छाइयो, मुग्लिन–नारायणगढ खण्डको हटाइँदै

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाइएको छ । तर, राति खसेको पहिरोले रोकिएका सवारी साधनहरुको अहिले अत्यधिक चाप छ । त्यसैले सवारी साधनहरुको लामो लाइन छ ।

गए राति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि राजधानी काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प भएको थियो । तर डोजरहरु प्रयोग गरेर राति नै पहिरो हटाई सकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर झरेको पहिरो भने हटाउने क्रम जारी छ । बुधबार साँझ पानी परेकाले पहिरो पन्छाउने काम केहीबेर रोकिएको थियो । आज बिहानैबाट पहिरो पन्छाउने काम थालिएको छ । सबै पहिरो हटाएर बाटो खुलाउन कम्तिमा दुई दिन लाग्न सक्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

तुइनखोलामा १६० मिटर बढी ढाक्ने गरी पहिरो : पोखरा–काठमाडौँ यातायात समेत प्रभावित

गण्डकी । मुग्लिन–नारायणगढ खण्डको तुइनखोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा– काठमाडौँ सडक खण्डमा पनि पर्ने गरेको छ । उक्त पहिरोका कारण मुग्लिन खण्डमा सवारीसाधनको अत्याधिक चाप बढ्न थालेसँगै त्यसको प्रभाव पोखरा–काठमाडौँ आवतजावत चल्ने सवारीसाधनमा परेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।

उक्त पहिरोका कारण सडकमा सवारीसाधनको जाम हुन थालेपछि यात्रुहरूलाई समयमा नै गन्तव्यमा पु¥याउन नसकिएको उनले बताए । लगातार पहिरो जान थालेपछि मुग्लिन–नारायणगढ सडक खण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

उनले भने, ‘मुग्लिन–नारायणगढ खण्डमा सडक यातायात प्रभावित भएसँगै नेपालका पश्चिमी क्षेत्रमा जाने सवारीसाधन पोखरा हुँदै जान थालेका कारण पनि सवारीसाधनको चाप अत्याधिक छ ।’ पोखरा–काठमाडौँ खण्डमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत नियमित ४०० को संख्याका यात्रुवाहक सवारीसाधनले सेवा दिइरहेको उनले जानकारी दिए । दशैँको टीकाको दिन नजिकिँदै गर्दा ठूलो संख्यामा सर्वसाधारण आवतजावत गर्ने भए पनि सडक अवरुद्ध हुँदा आवतजावतमा कठिनाइ भएको उनले बताए ।

सडकका दुवैतर्फबाट २-२ वटा गरी ४ वटा उपकरणले बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले बताए । उनका अनुसार अपरान्ह ३ बजेसम्ममा सडकको दुवैतर्फ गरी करिब ६० मिटर मात्रै पहिरो पन्छाइएको छ । मंगलबार अपरान्ह खसेको भयंकर पहिरोले झण्डै १६० मिटर सडक क्षेत्र पुरिएको छ भने २० मिटर अग्लो पहाड नै बनेको उनले बताए ।

धादिङको पहिरो छल्न यी वैकल्पिक सडक प्रयोग गर्न सकिने

चितवन । जिल्ला प्रशासन कार्यालय धादिङले काठमाडौं–मुग्लिन यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को जवाङखोलामा आज (मंगलबार) बिहान खसेको सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।

प्रशासनका अनुसार, वैकल्पिक मार्गका रूपमा गोरखा, लम्जुङ पोखरातर्फ जाने साना तथा मझौला सवारीसाधनले मलेखु–धादिङबेँसी–आरूघाट मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै आँबुखैरेनी, मध्य पहाडी राजमार्ग हुँदै डुम्रेको सडक प्रयोग गर्न सक्ने छन् ।
‘अन्य स्थानतर्फ जाने ठूला तथा साना सवै सवारी साधनले सुरक्षा निकायसँग समन्वय तथा निर्देशनमा लेन अनुशासन कायम गरी अन्य वैकल्पिक मार्गको प्रयोग गर्नु हुन हार्दिक अनुरोध छ’, प्रशासनले भनेको छ । मंगलबार (आज) बिहान ९ः४५ बजे निकालिएको सूचनाअनुसार, पहिरो पन्छाउन करिब पाँच घण्टा लाग्ने अनुमान गरिएको छ ।

पहिलो विकल्प

यदि काठमाडौंबाट पश्चिमतर्फ जाँदै हुनुहुन्छ भने नौबिसेबाट हेटौंडा निस्किएर जान सकिन्छ । पूर्वतिरबाट काठमाडौं आउनेहरुले पनि यही बाटो प्रयोग गर्न सक्छन् । यो बाटो अलि साँघुरो र धेरै घुम्ति छ ।

दोस्रो विकल्प

दोस्रो विकल्प धादिङको मलेखु (फुर्केखोला) नेरबाट छ । फुर्केखोला भन्ने ठाउँबाट धादिङको सल्यानटार हुँदै गोरखाको आरुघाट हुँदै तनहुँको आँबुखैरेनी निस्किन सकिन्छ । आँबुखैरेनीबाट पोखरा–पाल्पा हुँदै बुटवल निस्किएर पश्चिम जान सकिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । अथवा आँबुखैरेनीबाट फेरि मुग्लिन निस्किएर चितवनको नारायणगढ निस्किन सकिन्छ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानेर पहिरो पन्छाएर बाटो खुलाइसकिएको छ । यद्यपि तुइन खोलानेर पहिरोको जोखिम भने कायमै छ ।

तेस्रो विकल्प
काठमाडौंबाट बाहिरिएर पश्चिमतर्फ जाने वा पश्चिमतर्फबाट काठमाडौं भित्रिनेहरुका लागि नुवाकोट हुँदै यात्रा गर्न सकिने मध्यपहाडी लोकमार्ग तेस्रो विकल्प हुनसक्छ । यो बाटोबाट काठमाडौं, नुवाकोट, सामरी भञ्ज्याङ, गोरखा बजार हुँदै तनहुँको आँबुखैरेनी निस्किन सकिन्छ । तर यो बाटो अलि अप्ठ्यारो भएकाले यात्रा गर्दा फोर ह्वील र ग्राउण्ड क्लियरेन्स राम्रो भएको गाडी चाहिन्छ ।

जवाङखोलामा पहिरो : मुग्लिन–काठमाडौं सडक बन्द

चितवन । पृथ्वी राजमार्गको जवाङखोला नजिकै ठूलो पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरुपमा अवरुद्ध भएको छ । पृथ्वी राजमार्गको धादिङ जिल्लातर्फ वेनिघाट रोराङ गाउँपालिका–१० नम्बरमा पर्ने जवाङखोलामा गए रातिदेखि नै पहिरो खस्न सुरु भएको थियो ।

रातिको पहिरो ८० प्रतिशत फालेर सकिएपछि बिहान साढे ५ बजे माथिबाट पहाडै खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालले जानकारी दिएका छन् ।

उनले पहिरो पन्छाउन कम्तीमा पाँच घण्टा लाग्ने जानकारी दिए । एसपी रिजालका अनुसार पहिरो पन्छाउन तीन वटा मेशिनले काम गरिरहेको छ । तर, माथिबाट पहाड नै चिरा परेको कारण अझै पनि ठूलो पहिरो खस्ने सम्भावना छ ।

यता नारायणगढ मुग्लिङ सडक खण्डको तुइनखोलामा पनि अहिले सडक अवरुद्ध रहेको छ । बिहान खसेको पहिरोले बन्द भएको सडक खुलाउन करिब एक घण्टा लाग्ने डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए । रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु र गाडीका स्टाफहरु बाटोमा अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न प्रहरीले आग्रह गरेको छ ।

यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर खसेको पहिरोले ४५ घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए । त्यतिबेला सडकमा परेको गाडीको चाप सामान्य नहुँदै धादिङको जवाङ खोलामा पनि पहिरो झरेपछि यात्रुहरु झन् समस्यामा परेका छन् । दशैं मनाउन गाउँ फर्किरहेकाहरुको यात्रा कष्टकर बनेको छ ।

मुग्लिन–नारायणगढको पहिरो पन्छाउने काम कति बेला सकिएला ?

चितवन । शुक्रबार बेलुकीदेखि अवरुद्ध मुग्लिन–नारायणगढको पहिरो पन्छाउने क्रम अन्तिम चरणमा पुगेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला पुल नजिकै निरन्तर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ ।

सडक डिभिजन कार्यालयका अनुसार पहिरोका कारण वारपार नदेखिएको स्थान अहिले पन्छाउँदै जाँदा वारपार देख्न सकिने भएको छ । दुवैतर्फबाट पहिरो फाल्दै आइरहेको र आइतबार दिउँसोसम्म सडक आवागमन सञ्चालनमा ल्याउनका लागि निरन्तर प्रयास भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

बाटो अवरुद्ध भएर अलपत्र परेका यात्रुलाई चितवन जिल्ला सुरक्षा समिति तथा स्थानीय व्यवसायीको सहयोगमा खाजा र पानी वितरण गरिएको छ । खाजा र पानी वितरणका लागि नेपाल प्रहरी र अन्य सुरक्षा निकायका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए ।

 

देशभरका सात राजमार्ग आज पनि छन् पूर्णरूपमा अवरुद्ध

काठमाडौं । वर्षा र बाढी–पहिरोको कारण आज (आइतबार) पनि देशभरका विभिन्न सात राजमार्ग पूर्णरूपमा अवरुद्ध छन् । त्यसैगरी अरु सात राजमार्गमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ । आज पनि कोशी राजमार्गको भोटखोलामा सडक पूर्णरूपमा अवरुद्ध छ । यो सडक लामो समयदेखि अवरुद्ध अवस्थामा छ । त्यस्तै कोशी राजमार्गकै मकालु गाउँपालिका–३ को एकुवामा पनि सडक अवरुद्ध छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल र चीन जोड्ने मितेरी पुलमा पनि सडक अवरुद्ध छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पनि पहिरो खसेर सडक अवरुद्ध छ । यहाँ पनि लामो समयदेखि सडक अवरुद्ध हुँदै आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक पनि अवरुद्ध छ । यहाँ शुक्रबार साँझदेखि नै पहिरोले सडक अवरुद्ध छ । पहिरो ठूलो भएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

आज पनि बिहानैदेखि तीन वटा लोडर र दुईवटा एकाभेटर प्रयोग गरे पहिरो हटाउने काम जारी रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरोको कारण मुग्लिन क्षेत्रमा बिगत तीन दिनदेखि सयौँ सवारी साधन रोकिएका छन् । काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग नै अवरुद्ध हुँदा दसैँको मुखमा यात्रुले ठूलो मर्का बेहोरिरहेका छन् । त्यस्तै पहिरोले म्याग्दीको बेनी दरबाङ र जाजरकोटको जारकोट डोल्पा सडक पनि अवरुद्ध छ । त्यस्तै रसुवाको उत्तरगया, बाग्लुङको कालीगण्डकी, नवलपरासीको दाउन्नेस्थित पूर्वपश्चिम राजमार्ग, रुकुमपूर्वको मध्यपहाडी राजमार्ग र पाल्पाको पाल्पा गुल्मी सडकमा पनि बाढी पहिरो जाँदा एकतर्फी मात्रै गाडी चलेका छन् ।

मुग्लिन–नारायणगढ सडकको पहिरो विहानैदेखि पन्छाउन सुरु

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज (आइतबार) बिहानैदेखि पुनः थालिएको छ । अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढतर्फबाट मेशिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यद्यपि ढुङ्गा झर्ने क्रम अझैसम्म पनि रोकिएको छैन । थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने डिभिजन कार्यालय भरतपुरले जनाएको छ । चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइनखोलानेर शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ ।

मुग्लिन नजिकै पर्ने तुइनखोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । अस्ती खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको हो । लगातार पहिरो खसेका कारण सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक खुल्न नसक्दा अस्ती बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र छन् ।

कोही गाडीमै र कोही सडकमै सुतेका छन् । धेरै यात्रु भोकै बस्न बाध्य छन् । पहिरो ठूलो भएकाले खुल्न समय लाग्ने बताइएको छ । सडक डिभिजन कार्यालय भरतपुरले सकेसम्म वैकल्पिक बाटोको प्रयोग गर्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार मुग्लिन सडकको विकल्पमा नौबिसे–दामन–हेटौंडा र कालिगण्डकी करिडोरको मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ ।

आज यी सात सडक छन् अवरुद्ध (सूचीसहित)

काठमाडौँ । आज (शनिबार) देशभरका विभिन्न सात सडक पहिरोका कारण अवरुद्ध बनेका छन् । नेपाल प्रहरीले विभिन्न स्थानमा सडक अवरुद्ध भएको जानकारी दिएको छ । प्रहरीका अनुसार आज सात स्थानमा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ भने सात स्थानमा एकतर्फी रहेको छ ।

प्रहरीका अनुसार संखुवासभामा भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ मा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ । यस्तै उदयपुरको कटारी–८ मा सिद्धिचरण राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध बनेको छ भने रसुवाको गोसाइँकुण्ड–२ मा नेपाल–चीन नाका जोड्ने पुल पूर्णरुपमा अवरुद्ध छ ।

यस्तै यस्तै सिन्धुपाल्चोकको दुई स्थान र चितवनको एक स्थानमा समेत क्रमशः अरनिको र नारायणगढ–मुग्लिङ सडक खण्ड पूर्णरुपमा ठप्प रहेको प्रहरीले जनाएको छ ।

हेर्नुस् जानकारी

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक कति बेलासम्ममा खुल्ला ?

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिन नजिकै तुइन खोला छेउमा शुक्रबार साँझदेखि खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको सडक अहिले बिहानदेखि पन्छाउने काम सुरु भएको छ ।

शनिबार बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिएको सडक विभागका प्रवक्ता प्रभातकुमार झाले बताएका छन् । उनका अनुसार निरन्तर काम जारी रहेमा कम्तीमा ४ घण्टाभित्र सडक सुचारु हुने अनुमान गरिएको छ ।

पहिरोका कारण गत रातिदेखि सयौं सवारीसाधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । सुरक्षालाई ध्यानमा राख्दै यथाशीघ्र सडक सञ्चालन गर्ने तयारी भइरहेको उनले बताएका छन् ।

पहिरो हटाउन असम्भव भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यो सडक खण्ड हुँदै आउजाउ गर्ने यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । अहिले पनि डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ । पहिरो झरिरहेकोले डोजर रोकिँदै काम गर्दै गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

 

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, पर्यटक अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुमेर फर्किने र जाने पर्यटक अलपत्र परेका हुन् । सोमबार साँझ पहिरोले अवरुद्ध बनेको सडक अहिलेसम्म खुलाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रमुख आनन्द बस्नेतले जानकारी दिए । पहिरो धेरै ठूलो हुँदा सडक खुलाउन समय लाग्ने उनको भनाइ छ ।

योबाहेक अरु वैकल्पिक सडक नहुँदा स्थानीयलाई समेत आवतजावतमा समस्या भएको बस्नेतले बताए । साँझ नै सडक खुलाउने प्रयास गरे पनि वर्षाका कारण नसकिएको उनको भनाइ छ । बिहानैदेखि सडक खुलाउन उपकरण प्रयोग गरेको उनले बताए । ‘पहिरो धेरै ठूलो गएको हुँदा सडक खुलाउन समस्या भएको छ, बिहानदेखि नै मेसिन प्रयोग गरिएको छ, अझै समय लाग्ने देखिन्छ, सडक अवरुद्ध हुँदा सबैभन्दा बढी पर्यटक समस्यामा परेका छन्’, उनले भने, ‘आवतजावत गर्नका लागि अरु वैकल्पिक सडक नहुँदा गाह्रो भयो ।’ मौसम र सडकको अवस्था बुझेर मात्र ढोरपाटन घुम्न आउन पर्यटक प्रहरीले आग्रह गरेको छ ।

धादिङ–मलेखु सडकमा रोकिएन भासिने र पहिरो जाने क्रम
धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि उच्च जोखिममा परेको छ । कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह नजिकै पर्ने दारेगौँडामा सडक पहिराले जोखिममा परेको हो । स्थानीयका अनुसार सडक पक्की भएको वर्षदेखि सडकको अवस्था जोखिमपूर्ण छ । सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने कालु पाण्डे मार्ग २०५८ सालमा कालोपत्र भएको हो । सडक भासिने र पहिरो जाने क्रम रोकिएको छैन ।

विसं २०५६ बाट सुरु भएर २०५८ सालमा कालोपत्र सकिँदादेखि हालसम्म निरन्तर यही सडक प्रयोग गर्दै आएका स्थानीयवासी भरत ढुङ्गाना भन्छन्, ‘पछिल्ला वर्षहरूमा सडक तलतिर दबिने र माथिबाट पहिराले धकेल्ने क्रम झन् बढेको छ।’ सदरमुकाम धादिङबेँसी जोड्ने मुख्य सडक यही हो । नीलकण्ठ –८ दारेगौँडामा सडक भासिन थालेको झण्डै २४ वर्ष भयो । हुन त गत आर्थिक वर्षमा नुवाकोट सडक डिभिजन कार्यालयले मर्मतको ठेक्का लगाएको थियो । मर्मत सुरु भएको पनि थियो । तर भौगोलिक अवस्था अध्ययन नगरी हचुवाका भरमा काम गरिँदा काम सक्नै नपाई पहिरोले क्षति पुर्‍यायो । त्यसैको परिणाम अहिले झन् समस्या उत्पन्न भएको ढुङ्गानाले बताए ।

हरेक समय सडकको बीच भागबाट नै चिरा परेर भासिँदै जाने र बर्सेनि टालटुल गरेर त्यसैमाथि कालोपत्र हालिदै आएको सडकमा अहिले त नजिक पुग्दा पनि डरलाग्दो बनेको छ । सडकको छेउबाट कुनासम्म नै दबिएको छ । आधा भागमा त मान्छे गएर उभिनसक्ने अवस्था पनि छैन । कुनापट्टिबाट ढेप्पिएर जसोतसो गाडी वारपार भइरहेको छ । ठूला गाडीले आधा टायर पहिरोमा झुण्ड्याएरै पहिरो छिचोल्नु पर्ने बाध्यता छ ।

अन्यत्र जिल्लाबाट सदरमुकाम धादिङबेँसी जोड्ने मुख्य सडकको दारेगौँडा पार गर्दा यात्रु र सवारी चालकलाई हम्मेहम्मे हुने गर्दछ । चालक डम्बरबहादुर श्रेष्ठले भने, ‘पहिरोको बीचतिर पुग्दा त ज्यानै सिरिङ्ग हुन्छ, लोड लिएर आएको बेला गाडीसहित खसियो भने बाँचुम्ला भन्ने आश छैन ।’ पहिरोको लम्बाइ करिब एक सय मिटर मात्र छ । सडक मर्मतमा ध्यान नदिँदा हरेक वर्ष जोखिम बढ्दै गएको हो । भासिएको स्थानमा अन्य ठाउँमा भन्दा पहिलादेखि नै सडक साँघुरो पनि छ। सडकको तल्लोपट्टि थोपल खोला छ । खोलाकिनारदेखि नै सुरु भएको पहिरोले सडक तानिरहेको छ । माथिबाट पनि पहिरो खस्ने क्रम दिनहुँ बढ्दो छ ।

सडक भासिएर जोखिम बनेको सबैलाई थाहा छ । सडक विभाग, स्थानीय सरकारका जिम्मेवार व्यक्ति दैनिक यही सडक हुँदै सदरमुकाम आवतजावत गर्छन् । तर सम्भावित जोखिम र दुर्घटनाबारे चासो देखाएको पाइँदैन । जानकारहरूका अनुसार पहिरो रोक्न खोला किनारदेखि नै पर्खाल उठाएर मर्मत गर्नुपर्छ । मर्मतका नाममा पहिलो पटक यस वर्ष केही भागमा ग्यावियन जाली लगाइयो । त्यो ग्यावियन जालीपछि सडकसँगै भासिएको छ । जग नै बलियो नभएको सडकको टुप्पामा अलिकति जाली लगाएर सडक विभागले झारा टार्ने काम मात्र गरेको स्थानीयको गुनासो छ ।

कालु पाण्डे मार्गका तत्कालीन सुपरभाइजर अर्जुन सापकोटाले ‘स्वायल टेष्ट’ गरेर दीर्घकालीन समाधानको बाटो खोजिरहेको बताए । तर गत आर्थिक वर्ष बजेट हालेर पनि दीर्घकालीन बाटो पहिल्याउन नसक्दा जोखिम झनै बढेको छ । भएका वैकल्पिक सडकको सामान्य मर्मत गरी प्रयोगमा ल्याउन र त्यस स्थानमा हुनसक्ने सम्भावित दुर्घटना रोक्नतर्फ सम्बन्धित निकायलाई स्थानीयले ध्यानाकर्षण गराएका छन् ।

यस्तो छ वैकल्पिक बाटो

वैकल्पिक बाटोका रूपमा ससाहको देउराली चौताराबाट इँटाभट्टा, मैदी भञ्ज्याङ हुँदै तल्लो ज्यामिरेको प्रतीक्षालय निस्कन मिल्छ । तर कच्ची सडक हिलो र खाल्डाखुल्डी मर्मत नगरिँदा सवारीसाधनले यो बाटो पनि प्रयोगमा ल्याउन सकेका छैनन् ।

फोरह्वील र अग्ला सवारी जान सक्ने भए पनि सबै खालका सवारीसाधन पार गर्न सक्ने अवस्था नहुँदा वैकल्पिक बाटो प्रयोगविहीन छ । ससाह खोला र खेत आसपासका करिब पाँच सय मिटर दूरीमा सडक अप्ठ्यारो छ । अप्ठ्यारो भागमा ग्राभेल गरेर वैकल्पिक बाटो प्रयोगमा ल्याउन सकिए सम्भावित दुर्घटना रोक्न सकिनेछ । दारेगौँडाको पहिरो नजिकै चौतारोबाट पनि मैदीभन्ज्याङ हुँदै तल्लो ज्यामिरे निस्कने बाटो पनि छ ।