पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक कति बेलासम्ममा खुल्ला ?


काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिन नजिकै तुइन खोला छेउमा शुक्रबार साँझदेखि खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको सडक अहिले बिहानदेखि पन्छाउने काम सुरु भएको छ ।
शनिबार बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिएको सडक विभागका प्रवक्ता प्रभातकुमार झाले बताएका छन् । उनका अनुसार निरन्तर काम जारी रहेमा कम्तीमा ४ घण्टाभित्र सडक सुचारु हुने अनुमान गरिएको छ ।
पहिरोका कारण गत रातिदेखि सयौं सवारीसाधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । सुरक्षालाई ध्यानमा राख्दै यथाशीघ्र सडक सञ्चालन गर्ने तयारी भइरहेको उनले बताएका छन् ।
पहिरो हटाउन असम्भव भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यो सडक खण्ड हुँदै आउजाउ गर्ने यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । अहिले पनि डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ । पहिरो झरिरहेकोले डोजर रोकिँदै काम गर्दै गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।