`

विदेशमा पढ्ने नेपाली विद्यार्थीको एनओसी र समकक्षता प्रक्रिया सहज बनाइँदै

Nepal One HD ११ कार्तिक २०८३ १४:३२
राजनीति

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच उच्च शिक्षामा सहकार्य विस्तार र साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल भएको छ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलबार भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य तथा साइप्रसमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीका विषयमा कुराकानी भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।

भेटका क्रममा मन्त्री पोखरेलले विदेशमा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) उपलब्ध गराउने प्रक्रियालाई सहज बनाउन मन्त्रालयले काम गरिरहेको जानकारी गराएका थिए। विदेशबाट प्राप्त शैक्षिक उपाधिको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रियालाई सरल बनाउने विषयमा पनि मन्त्रालयले आवश्यक पहल गरिरहेको उनले बताएका थिए।

मन्त्री पोखरेलले यसअघि त्रिभुवन विश्वविद्यालयमार्फत हुँदै आएको शैक्षिक उपाधिको समकक्षता निर्धारणसम्बन्धी काम अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको जानकारी गराएका थिए। यस प्रक्रियालाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधारका कामसमेत अघि बढाइएको उनको सचिवालयले जनाएको छ।

विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले एनओसी प्राप्त गर्नेदेखि अध्ययन पूरा गरेपछि शैक्षिक उपाधिको समकक्षता निर्धारण गराउनेसम्मका प्रक्रियामा सहजता खोजिरहेका बेला भएको यो भेटलाई उच्च शिक्षासम्बन्धी सहकार्य र विद्यार्थीको हितका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *