कमल सिंह ऐरीको चामत्कारिक बलिङमा चितवनको सनसनीपूर्ण जित
काठमाडौं । कमल सिंह ऐरीको उत्कृष्ट बलिङमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। चितवनले विराटनगरलाई ८ रनले हराएको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा समेटियो। एक समय जितको नजिक देखिएको विराटनगरले अन्तिम ओभरमा सम्हालिन नसक्दा हार बेहोर्नुपर्यो।
विराटनगरका लागि ओपनर इमरान शेखले सर्वाधिक ३९ रन बनाए। आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ३३ रन जोडे भने लोकेश बमले २६ रनको योगदान दिए। तर, यी ब्याट्सम्यानको प्रदर्शनले टोलीलाई जित दिलाउन सकेन।
चितवनका कमल सिंह ऐरीले निर्णायक बलिङ गर्दै चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए। रिजन ढकालले दुई विकेट हात पारे। त्यस्तै, रञ्जित कुमार, ड्यान माउस्ली, टम टेलर र मौसम ढकालले समान एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो।
चितवनका ओपनर डेविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा उक्त रन जोड्दै प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेका थिए। कप्तान रवि बोपाराले ३२ तथा डीआर माउस्लीले २९ रन बनाए।
विराटनगरका लागि चरित असलंका, एन्जेलो म्याथ्युज र आन्द्रे रसेलले समान एक–एक विकेट लिए। कप्तान सन्दीप लामिछानेले चार ओभरमा २३ रन खर्चिए पनि विकेट लिन सकेनन्।
मलानको अर्धशतक र ऐरीको निर्णायक बलिङसँगै चितवनले प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
