प्रेमिकाको पीडा : मेरो छोरीलाई जोगाएर मलाई लगेको भए हुन्थ्यो भगवान् !


इलाम । दुई वर्षपछि साउदी अरबबाट दशैं मनाउन घर फर्किएका खेमकुमार सिंजाली मगरको परिवारका लागि यो वर्षको दशैं जीवनको सबैभन्दा पीडादायी क्षण र ठूलो दशा बनेर आयो ।
२४ वर्षीय खेमकुमार एक महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा उनलाई परिवारसँग बिताउने दिनको उत्साह थियो । इलाम नगरपालिका–५ घोष गाउँस्थित ससुरालीमा पुगेका उनी दशैंको टीकापछि श्रीमती प्रेमिका तामाङ र पाँच वर्षीया छोरी प्रिन्सिकासँग रमाइलो समय बिताइरहेका थिए ।
तर शनिबार राति आएको बिपद्ले सबै कुरा एकाएक बदलिदियो । आइतबार बिहान करिब ४ बजे आएको भीषण पहिरोले उनीहरू बस्दै आएको घर नै पुरिँदा पाँच वर्षीया प्रिन्सिका च्यापिएर ज्यान गुमाइन् । श्रीमती प्रेमिका घाइते अवस्थामा उद्धार भइ अहिले इलाम अस्पतालमा उपचाररत छिन् ।
प्रेमिका तामाङको आँखाबाट आँशु थामिएको छैन । छोरीको अनुहार अन्तिम पटक हेर्न पनि नपाएको पीडामा उनी भन्छिन्, ‘मेरो छोरीलाई जोगाएर मलाई किन लगिनस् भगवान् ?’ खेमकुमारलाई चार दिनपछि साउदी फर्किनु थियो, तर अब उनी असमञ्जसमा छन् । उनी भन्छन्, ‘यो घटनाले सबै सपना चकनाचुर बनायो । शायद अब विदेश नफर्की श्रीमतीको साथमा बसेर यतै केही गर्नुपर्ला ।’ खेमकुमारको घर अब मात्र इँट–पर्खाल होइन, सम्झनाहरूको चिहान बनेको छ ।