जवाङखोलामा पहिरो : मुग्लिन–काठमाडौं सडक बन्द


चितवन । पृथ्वी राजमार्गको जवाङखोला नजिकै ठूलो पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरुपमा अवरुद्ध भएको छ । पृथ्वी राजमार्गको धादिङ जिल्लातर्फ वेनिघाट रोराङ गाउँपालिका–१० नम्बरमा पर्ने जवाङखोलामा गए रातिदेखि नै पहिरो खस्न सुरु भएको थियो ।
रातिको पहिरो ८० प्रतिशत फालेर सकिएपछि बिहान साढे ५ बजे माथिबाट पहाडै खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालले जानकारी दिएका छन् ।
उनले पहिरो पन्छाउन कम्तीमा पाँच घण्टा लाग्ने जानकारी दिए । एसपी रिजालका अनुसार पहिरो पन्छाउन तीन वटा मेशिनले काम गरिरहेको छ । तर, माथिबाट पहाड नै चिरा परेको कारण अझै पनि ठूलो पहिरो खस्ने सम्भावना छ ।
यता नारायणगढ मुग्लिङ सडक खण्डको तुइनखोलामा पनि अहिले सडक अवरुद्ध रहेको छ । बिहान खसेको पहिरोले बन्द भएको सडक खुलाउन करिब एक घण्टा लाग्ने डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए । रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु र गाडीका स्टाफहरु बाटोमा अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न प्रहरीले आग्रह गरेको छ ।
यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर खसेको पहिरोले ४५ घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए । त्यतिबेला सडकमा परेको गाडीको चाप सामान्य नहुँदै धादिङको जवाङ खोलामा पनि पहिरो झरेपछि यात्रुहरु झन् समस्यामा परेका छन् । दशैं मनाउन गाउँ फर्किरहेकाहरुको यात्रा कष्टकर बनेको छ ।