तुइनखोलाको पहिरो पन्छाउन कम्तीमा चार घण्टा लाग्ने


काठमाडौं । मुग्लिन–नारायणगढ सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम जारी । यति बेला आवागमन दुईतर्फी बन्द रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
पहिरो झर्ने क्रम जारी नै छ । दुई उपकरणबाट सावधानी अपनाई पहिरो पन्छाउने कार्य थालिएको छ । ‘थप पहिरो नझरे पहिरो पन्छाउन करिब तीन–चार घण्टा समय लाग्ने आंकलन गरिएको छ’, सडक डिभिजनले सोमबार (असोज १३) दिउँसो साढे १ बजे जारी गरेको सूचनामा भनिएको छ, ‘सकभर वैकल्पिक सडक प्रयोग गर्नुहुन अनुरोध गर्दछौँ।’
रोकिएका सवारीसाधनलाई लेन अनुशासनको पालना गरी सावधानीपूर्वक रहन सडक डिभिजनले आग्रह गरेको छ । सोमबार मध्याह्न त्यहाँ पुनः पहिरो खसेको हो । अविरल वर्षा, बाढीपहिरोका कारण देशका विभिन्न ६ ठाउँमा आज पनि राजमार्ग बन्द रहेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले संखुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका ६ ठाउँमा राजमार्ग अवरुद्ध रहेका जानकारी दिए ।
उनका अनुसार अहिले बिहान ९ बजेसम्मको विवरणअनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाएँपालिका–४ बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही जिल्लाको मकालु गाउँपालिका–३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध भएको छ । यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ ।
रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा नेपाल–चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन। आज रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ तातोपानीमा पनि पहिरोले पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छ्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सिन्धुपाल्चोकको सुनकोशी गाउँपािलका–७ एककिलोमा आइतबारदेखि परेको वर्षसँगै आएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता घिमिरेले जानकारी दिए ।
उनका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बाह्रकिलोमा आज खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार परिोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालनमा ल्याइएको छ ।