`

धादिङको पहिरो छल्न यी वैकल्पिक सडक प्रयोग गर्न सकिने

Nepal One HD ७ असोज २०८२ १२:०२
प्रमुख खबर

चितवन । जिल्ला प्रशासन कार्यालय धादिङले काठमाडौं–मुग्लिन यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को जवाङखोलामा आज (मंगलबार) बिहान खसेको सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।

प्रशासनका अनुसार, वैकल्पिक मार्गका रूपमा गोरखा, लम्जुङ पोखरातर्फ जाने साना तथा मझौला सवारीसाधनले मलेखु–धादिङबेँसी–आरूघाट मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै आँबुखैरेनी, मध्य पहाडी राजमार्ग हुँदै डुम्रेको सडक प्रयोग गर्न सक्ने छन् ।
‘अन्य स्थानतर्फ जाने ठूला तथा साना सवै सवारी साधनले सुरक्षा निकायसँग समन्वय तथा निर्देशनमा लेन अनुशासन कायम गरी अन्य वैकल्पिक मार्गको प्रयोग गर्नु हुन हार्दिक अनुरोध छ’, प्रशासनले भनेको छ । मंगलबार (आज) बिहान ९ः४५ बजे निकालिएको सूचनाअनुसार, पहिरो पन्छाउन करिब पाँच घण्टा लाग्ने अनुमान गरिएको छ ।

पहिलो विकल्प

यदि काठमाडौंबाट पश्चिमतर्फ जाँदै हुनुहुन्छ भने नौबिसेबाट हेटौंडा निस्किएर जान सकिन्छ । पूर्वतिरबाट काठमाडौं आउनेहरुले पनि यही बाटो प्रयोग गर्न सक्छन् । यो बाटो अलि साँघुरो र धेरै घुम्ति छ ।

दोस्रो विकल्प

दोस्रो विकल्प धादिङको मलेखु (फुर्केखोला) नेरबाट छ । फुर्केखोला भन्ने ठाउँबाट धादिङको सल्यानटार हुँदै गोरखाको आरुघाट हुँदै तनहुँको आँबुखैरेनी निस्किन सकिन्छ । आँबुखैरेनीबाट पोखरा–पाल्पा हुँदै बुटवल निस्किएर पश्चिम जान सकिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । अथवा आँबुखैरेनीबाट फेरि मुग्लिन निस्किएर चितवनको नारायणगढ निस्किन सकिन्छ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानेर पहिरो पन्छाएर बाटो खुलाइसकिएको छ । यद्यपि तुइन खोलानेर पहिरोको जोखिम भने कायमै छ ।

तेस्रो विकल्प
काठमाडौंबाट बाहिरिएर पश्चिमतर्फ जाने वा पश्चिमतर्फबाट काठमाडौं भित्रिनेहरुका लागि नुवाकोट हुँदै यात्रा गर्न सकिने मध्यपहाडी लोकमार्ग तेस्रो विकल्प हुनसक्छ । यो बाटोबाट काठमाडौं, नुवाकोट, सामरी भञ्ज्याङ, गोरखा बजार हुँदै तनहुँको आँबुखैरेनी निस्किन सकिन्छ । तर यो बाटो अलि अप्ठ्यारो भएकाले यात्रा गर्दा फोर ह्वील र ग्राउण्ड क्लियरेन्स राम्रो भएको गाडी चाहिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *