तुइनखोलाको पहिरो आज सकिएला पन्छाएर ?


काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइनखोलामा खसेको पहिरो अहिलेसम्म ६० प्रतिशत पन्छाइएको छ । डिभिजन सडक कार्यालय, भरतपुरले बिहीबार दिउँसो सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो ।पहिरो पन्छाउनको लागि नारायणगढ तर्फबाट एक्साभेटर १, लोडर १ र मुग्लिन तर्फबाट लोडर २, एक्साभेटर ३ वटा प्रयोग गरी निरन्तर रुपमा काम भइरहेको कार्यालयले जनाएको छ । यसका अलावा दुवैतर्फ १-१ वटा ब्याक हो लोडर तैनाथ अवस्थामा रहेका छन् ।
काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एक पटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ । पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूलाठूला ढुंगाहरूका कारण कठिनाइ भएको डिभिजन कार्यालयले जनाएको छ ।
पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स–साना तिखा ढुंगाहरूका कारण टायर पञ्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेकोले हेभि इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रे बाट दुइजना अपरेटरहरु पनि थप गरिएको छ ।
कुनै पनि बाधा आइनपरे निरन्तर रुपमा कार्य गर्न सकिएको खण्डमा सम्भवत आज रातिसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन सञ्चालनमा ल्याउने डिभिजन कार्यालयको आंकलन छ । पटक–पटक ठूलो पहिरो खस्दा मुग्लिन–नारायणघाट सडकमा गएको एक सातादेखि गाडी चल्न सकेका छैनन् । तीन दिन लगाएर पहिरो पन्छाएको ठाउँमा गएको मंगलबार झन् ठूलो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध छ । दसैँसहितका चाडपर्वको संघारमा राजधानी काठमाडौँ आवात जावत गर्ने मुख्य सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन् ।