नागढुंगामा प्रहरीको माइकिङ : अगाडि नबढ्नु होला, सुरक्षित काठमाडौं फिर्ता हुनुहोला


धादिङ । धादिङको विभिन्न स्थानमा पहिरो गइरहेका कारण प्रहरीले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ गरिरहेको छ । नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेको र तत्काल हटाउन सम्भव नरहेको भन्दै आज विहानैदेखि प्रहरीले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ गरिरहेको हो ।
काठमाडौंको मुख्य नाका नागढुंगा चेकपोष्टमा तैनाथ प्रहरीहरूले माइकिङ गर्दै अगाडि नबढ्न अनुरोध गरिरहेका छन् । ‘धादिङको विभिन्न ठाउँमा पहिरो आएको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको हुँदा सम्पूर्ण चालक-सहचालक महानुभावहरू, तपाईंहरूलाई यहाँबाट पठाउन सकिँदैन ।
त्यसैले सुरक्षित तरिकाले काठमाडौं फिर्ता भई सुरक्षित रहनु हुन अनुरोध गर्दछौँ,’ प्रहरीले माइकिङ गर्दै भनिरहेको छ । यसैबीच पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
धादिङ बेनिघाट रोराङ–१० जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको र चितवनको इच्छाकामना–५ तुइनखोला पुलमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
पहिरो पन्छाने र सवारीसाधन पार गराउने कार्य जारी रहेको र जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न उनले आग्रह गरेका छन् । पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले उच्च जोखिम भने कायम रहेको प्रहरी जनाएको छ ।