`

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

Nepal One HD ८ असोज २०८२ २२:०१
समाज

गुल्मी, ८ असोजः गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । चट्याङका कारण जिल्लामा तीनवटा गोरुसमेत मरेका छन् । आज अचानक मौसममा आएको परिवर्तनसँगै जिल्लामा चट्याङले क्षति पुर्‍याएको हो ।

चट्याङका कारण जिल्लाको इस्मा गाउँपालिका-४ दोहोलीकी ४६ वर्षीया निर्मला खत्री, इस्मा-५ बेसारीकी २५ वर्षीया कालीका खत्री र धुर्कोट गाउँपालिका-७ वाग्ला धरमपानीका ५८ वर्षीय कृष्णप्रसाद पन्थी घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

घाइतेमध्ये खत्रीद्वयको घरमै बसिरहेको अवस्थामा र पन्थीको मकै केलाउने क्रममा घरको आँगनमा चट्याङ परेर लागि गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइतेहरू तीनै जनाको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

चट्याङका कारण मालिका गाउँपालिका-४ खामदेशस्थित सामुदायिक वनमा दुर्गाप्रसाद अर्याल र चिरञ्जीवी अर्यालका तीन वटा गोरुसमेत मरेका अर्खाबाङ् प्रहरी चौकीले जनाएको छ ।

त्यसैगरी मदाने गाउँपालिका-३ सिर्सेनी काफलपाटाका ३६ वर्षीय डोरबहादुर विक सर्पको टोकाइबाट घाइते हुनुभएको छ । बारीमा घाँस काट्ने क्रममा विकलाई आज दिउँसो सर्पले टोकेको हो । उहाँको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सारुले जानकारी दिनुभयो ।

यसैबीच, प्रशासनले वर्षात्को समयमा सर्वसाधारणलाई विपद्बाट हुनसक्ने जोखिमबाट सुरक्षित र सचेत रहन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *