पाँच राजमार्ग पूर्णरूपमा अवरुद्ध, चार एकतर्फी सञ्चालनमा (सूचीसहित)

प्रमुख खबर

काठमाडौं । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी–पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।
त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ पासाङल्हामु राजमार्गस्थित नेपाल–चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ–नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका–४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार नवलपरासी पूर्वस्थित पूव–पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली–मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
पहिरोले अवरुद्ध बनेको बागलुङ–बलेवा–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको छ । वर्षाका कारण सडक भाँसिएपछि अवरुद्ध बनेको उक्त सडक बुधबारदेखि सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो जाँदा करिब १०० मिटर सडक भाँसिएको थियो । गत असारदेखि बन्द भएको सडक खुलाउनका लागि डोजरसहितका उपकरण प्रयोग गरिएको थियो ।
सडक अवरुद्ध हुँदा बागलुङ नगरपालिका–१० गलुवा, भकुण्डे, वडा नं १३ पैयुँपाटा, वडा नं १२ को अमलाचौरसहित दक्षिण बागलुङका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको थियो । बलेवा क्षेत्रबाट २० मिनेटमा सदरमुकाम बागलुङ बजार पुग्न सकिनेमा पहिरोका कारण दुई घण्टाको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । पूर्वाधार विकास कार्यालय बागलुङले गत साता पहिरोको अवस्था बुझेर तत्काल सञ्चालनमा ल्याउन गण्डकी प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहित स्वीकृतिका लागि पठाएको थियो ।
मन्त्रालयबाट स्वीकृत हुन बाँकी रहेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर अनिल बर्देवाले जानकारी दिए । बडादसैँ नजिकिएपछि नागरिकको आवतजावत बढ्ने हुँदा सडक खुलाइएको उनको भनाइ छ ।
सूचना अधिकारी बर्देवाले भने, ‘लामो समयसम्म सडक बन्द हुँदा हजारौँ नागरिकको सास्ती खेप्नुप¥यो । निरन्तर वर्षा र पहिरो झरिरहँदा सडक खुलाउन समस्या भइरहेको थियो, अहिले वर्षा केही कम भएपछि दुई दिनसम्म जनशक्तिसहित विभिन्न उपकरण प्रयोग गरी पहिरो पन्छाएका हौँ । खर्च व्यवस्थापनका लागि पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमान स्वीकृतिका लागि पठाएका छौँ, अझै स्वीकृत भएको छैन ।’
विगत तीन वर्षदेखि यस क्षेत्रमा पहिरो जाँदा पहिरो पन्छाउन रु करोड बढी खर्च भइसकेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । अघिल्लो वर्ष मात्र पूर्वाधार विकास कार्यालय र नगरपालिकाले करिब रु ५० लाख खर्च गरेर पहिरोमाथिको पानीलाई नजिकैको न्वारे खोलामा व्यवस्थापन गरी सडकको माथिल्लो भागमा जाली लगाउने काम गरेको उनले बताए ।
पहिरो व्यवस्थापनका लागि भू–गर्भविद्लको टोलीले अध्ययन गरेर प्रतिवेदन समेत बुझाइसकेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार रकम नहुँदा पहिरो नियन्त्रण गरी सडकको दीर्घकालीन समाधान गर्न समस्या भएको उपप्रमुख खड्काले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा पहिरो व्यवस्थापनका लागि सङ्घीय सरकारबाट रु तीन करोड विनियोजन भएको छ ।
पहिरोका कारण कालीगण्डकी करिडोरसमेत अवरुद्ध हुँदै आएको छ । बर्खाभरि सडक अवरुद्ध हुँदा गाउँमा उत्पादन भएका तरकारी र दूध बजारसम्म पुर्याउन समस्या हुने गरेको स्थानीय किसान कुलराज पौडेलले बताए । ‘दूध र तरकारी बजारसम्म पुर्याउनका लागि यान्त्रिक पुलमार्फत कुश्मा हुँदै बागलुङ ल्याउने गरिएको छ । घुमाउरो सडक प्रयोग गर्दा ढुवानी खर्च बढी तिर्नु परिरहेको छ’, उनले भने ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट