`

डाइभर्सनको भरमा चल्दै बीपी राजमार्ग {तस्वीरहरु}

काठमाडौं । गत वर्षको असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर सञ्चालनमा छ । बाढीले सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवत जावत भइरहेको छ । खोलाबाट नै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम त छ नै यात्रुलाई क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समय पनि बढेको छ ।

अझ धुलाम्य सडक खण्डमा उड्ने धुलो नियन्त्रण गर्न पानी हाल्दा सडकमा सवारी चिप्लिने र दुर्घटना हुने सम्भावना पनि बढी छ । यो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि भने करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।

सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडक खण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्ड–खण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

शितलहरले दाउन्नेमा राजमार्ग अवरुद्ध, यात्रुहरुको सडकमै बास {तस्वीरहरु}

काठमाडौं । शितलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ । शितलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने खुर्सानी खोला क्षेत्रको सडक चिप्लो भएको हुँदा सवारी साधन चिप्लिने तथा अड्किने समस्याका कारण राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्गमा केहि दिनदेखिका सवारी साधनहरुको लामो जाम लागेको छ । शितलहरका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुले निकै सास्ती पाएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीका अनुसार बाक्लो हुस्सुसहित शितलहर परेका कारण सवारी सञ्चालनमा निकै कठिनाई भएको छ । नारायणगढ–बुटवल सडक खण्डको पूर्वी खण्डतर्फ दाउन्नेदेखि दुम्कीबास जंगलसम्म करिब पन्ध्र सय सवारी साधनको जाम लागेको सूचना अधिकारी जोशीले बताए ।

नारायणगढ बुटवल सडक खण्ड योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालाका अनुसार सडक निर्माण भइरहेको स्थानमा शितलहरका कारण बाटो हिलो भएर सवारी साधन दाउन्नेको उकालोमा उक्लन समस्या भएको छ । अहिले खुर्सानी खोला क्षेत्रमा ग्राभेल गर्ने काम भइरहेको र मालबाहक सवारी साधनलाई बर्दघाट, भुताहा क्षेत्रमा रोकिराखेको सूचना अधिकारी खनालले बताए । आज आयोजनाले एक सूचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्ने छन् । यस्तै, कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्ने छन् । यस्तै काठमाडौंबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौं जाने सवारी साधनहरु काठमाडौं–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्ने छन् ।

दाउन्ने खण्डमा निर्माण र मर्मतको काम समेत चलिरहेको छ । सो क्षेत्रमा शितलहरका कारण राजमार्ग हिलाम्य हुँदा सवारी साधनहरु सञ्चालनमा कठिनाई उत्पन्न भएको हुँदा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनले वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ । साथै सवारी सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

पूर्व-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध

राैतहट । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज बिहान एलपी ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ । भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्याङ्कर आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते हुनुभएको छ । घाइते चालकको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए ।

हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि र पश्चिमतर्फबाट आएका सावारीसाधन धन्सार पुल नजिक रोकिएको ट्राफिक प्रहरी प्रमुख थापामगरले बताए । ट्याङ्कर बीच सडकमा दुर्घटना हुँदा सडक अवरुद्ध भएको छभने ग्यास लिक भइरहेकाले दुर्घटनाको जोखिम बढिरहेको छ । उक्त ग्यास ट्याङ्कर उठाउनका लागि जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली आउँदै गरेको उहाँले जानकारी दिए ।

हुलाकी राजमार्ग धनुषा खण्ड : पुल निर्माणमा ढिलाइ

काठमाडौं । हुलाकी सडक योजना कार्यालय जनकपुरले ६१ मोटरेवल पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म १८ वटाको ठेक्का व्यवस्थापन गर्न सकेको छैन । हुलाकी सडकका पर्ने २२ निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको छ ।

हाल २१ पुल निर्माणको चरणमा छन् । पुल निर्माणको काम प्रभावकारी हुन नसक्दा स्थानीयले अपेक्षित लाभ हासिल गर्न पाएका छैनन् । सो आयोजनाअन्तर्गतका सडक कालोपत्रको अन्तिम चरणमा पुगेको भए पनि पुल निर्माणले गति लिनसकेको छैन । स्रोतको अभाव तथा अन्य प्राविधिक समस्याका कारण ठेक्का व्यवस्थापन हुन समय लागेको आयोजनाले जनाएको छ ।

निर्माणको क्रममा रहेका पुललाई शिघ्र सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक पहल गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सिरहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन समस्याग्रस्त पुल निर्माणलाई तदारुकता दिन र तीन सिफ्टमा काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले ठेक्का सम्झौता भएको १४ बर्ष पुग्दा समेत पुल मिर्नाण हुन नसकेको, पुन नबन्दा नागरिकले सास्ती खेप्नुपरेको भन्दै समस्या समाधान गर्न निर्देशन दिएका थिए । सोही क्रममा उनले हुलाकी सडकतर्फका सडक तथा पुल निर्माणको प्रगतिका बारेमा चासो राख्दै शीघ्र कार्यान्वयन गर्न आवश्यक निर्देशन दिएका छन् । ठेक्का व्यवस्थापन गर्नुपर्नेलाई तत्काल प्रक्रिया अगाडि बढाउन र निर्मााणका क्रममा रहेका पुललाई शीघ्र निर्माण गर्न मन्त्रालयले आवश्यक तदारुकता देखाएको छ ।

हुलाकी सडक आयोजना, जनकपुर खण्डको कुल चार सय तीन किलोमिटरमध्ये अब ६१ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको छ । सो खण्डका काम धमाधम भइरहेको र कुनै अवरोध नभएका खण्डमा चालु आवको अन्त्यसम्म एउटा चरणमा पुर्‍याउन सकिने आयोजनाले जनाएको छ ।

सो योजना कार्यालयअन्तर्गत पूर्वपश्चिम तथा उत्तरदक्षिण गरी चार सय तीन दशमलव ६८ किलोमिटर सडक रहेको छ । त्यसमा दुई सय ९९ दशमलव ८० किलोमिटर नेपाल सरकारको बजेटबाट निर्माण भएको हो भने एक सय तीन दशमलव ८८ किलोमिटर सडक भारतीय अनुदान रहेको छ । हालसम्म तीन सय ४२ दशमलव ६८ किलोमिटर सडक कालोपत्र भइसकेको योजना प्रमुख कृष्णकुमार महतोले जानकारी दिए ।

सिरहाको बलान कमला सडक (२९ दशमलव ९८ किलोमिटर) कालोपत्र भइसकेको छ । सिरहाको जम्दह लगडी गडियानी (२७ दशमलव ४६ किलोमिटर) सडक भने कालोपत्र हुनसकेको छैन । धनुषाको कदमचौक कपतौल तीनकौरिया (३० दशमलव ५८ किलोमिटर) मध्ये २४ किलोमिटर कालोपत्र भएको छ । धनुषाकै यदुकुहा खजुरी महुवा सडक १० किलोमिटरमध्ये छ किलोमिटर कालोपत्र भएको छ । धनुषा र महोत्तरीको जनकपुर बसबिटी हर्दी पोखरी भिण्डा सङ्ग्रामपुर सडकको २० किलोमिटरमध्ये १८ किलोमिटर कालोपत्र भएको छ ।

सर्लाहीको एमआरएम बाँके सङ्ग्रामपुर सडकको (२२ दशमलव ४८ किलोमिटर) मध्ये २० दशमलव ७७ किलोमिटर कालोपत्र भएको छ । सोही जिललको फुलजोर त्रिभुवननगर २३ दशमलव दुई किलोमिटर पूरै कालोपत्र भएको छ । सर्लाहीकै सितलपुर मलङ्गवा खरैैइयाटोल (पूर्वपश्चिम हुलाकी) सडकको (४० दशमलव ३७ किलोमिटर) मध्ये ३८ किलोमिटर कालोपत्र भएको छ ।

सर्लाहीको नवलपुर–मलङ्गवा सडकको (२६ दशमलव ५९ किलोमिटर) नै कालोपत्र भएको छ । सोही जिल्लाको नयाँरोड–वरहथवा–मधुवनीको ४० दशमलव ५८ किलोमिटर नै कालोपत्र भएको छ । सो जिल्लाको गोडैता–महिनाथपुर–माधोपुर–जयनगर हनैर्या खण्डको १० किलोमिटर नै कालोपत्र हुन बाँकी रहेको छ ।

भारतीय अनुदानतर्फको धनुषा खण्डको वीरेन्द्रबजार–यदुकुहा–महिनाथपुर सडकको (३२ दशमलव ३१ किलोमिटर)मध्ये ३१ किलोमिटर कालोपत्र भएको छ । जनकपुर–यदुकुहा सडकको (१६ दशमलव ६३ किलोमिटर) मध्ये १२ किलोमिटर कालोपत्र भएको छ । माईस्थान–गौशला सम्सी सडकको (२६ दशमलव ९४ किलोमिटर) मध्ये २६ किलोमिटर कालोपत्र भएको आयोजनाले जनाएको छ ।

यस्तै जलेश्वर–हर्दी सडकको २८ किलोमिटर नै कालोपत्र भएको छ । सो आयोजनाका लागि चालु आवको असोज मसान्तसम्म रु सात करोड नौ लाख बराबर खर्च भएको छ । हुलाकी सडक तथा पुल निर्माणका लागि रु ५९ करोड ९० लाख बजेट विनियोजन भएको छ । जग्गा खरिद, सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने संरचनाको क्षतिपूर्तिका लागि रु पाँच करोड बजेट विनियोजन भएकामा रु एक करोड तीन लाख ९० हजार खर्च भएको छ ।

पृथ्वी राजमार्ग आजदेखि दैनिक चार घण्टा बन्द

कास्की । पृथ्वी राजमार्ग आज (शनिबार) देखि यही मंसिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ। मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जनाएको छ । योजना प्रमुख कृष्णबहादुर कुँबरले दैनिक चार घण्टा सडक पूर्ण÷आंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए । अवस्था हेरी प्रत्येक ३० मिनेटमा लाइन लागेका सवारीलाई क्लियर गर्न सकिने कुँवरले बताए ।

योजना प्रमुख कुँबरले भने, ‘पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारी साधनलाई पूर्ण रूपमा बन्द गरी काम गर्नुपर्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित सबैमा आग्रह गरेका छौँ ।’ सवारी चालकलाई तोकिएको समयमा वैकल्पिक सडक हुँदै यात्रा गर्न अनुरोध गरिएको छ ।

मुग्लिन–पोखरा सडक योजनाले दुई पाङ्ग्रे तथा साना सवारी साधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ । यसैगरी ठूला सवारीका लागि लेखनाको पावरहाउसचोकदेखि बागमारा हुँदै बिरौट आउने÷जाने दुई तर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ । देशको पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने प्रमुख सडक पृथ्वीराजमार्ग स्तरोन्नतिका लागि मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत काम भइरहेको छ ।

मुग्लिङ–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी योजनाको काम भइरहेको हो । जामुनेदेखी आँबुखैरेनीसम्मको पूर्वी खण्डमा अधिकाँस काम सकिएपनि पोखरादेखी जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख कुँबरले जानकारी दिए ।

यस खण्डको ३८ दशमलव ८८ किमीमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ। त्यसमध्ये २९ दशमलव ६१ किमी खण्डमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ । यसैगरी यस खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए । रासस

तीन दिनपछि बीपी राजमार्गमा चल्न थाले गाडी

काभ्रेपलाञ्चोक । बाढी–पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।

उनका अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो । यस्तै, रोशी–१२ माम्ती क्षेत्रमा सुक्खा पहिरो खसिरहेकाले शनिबार पनि अवरोध पन्छाउन नसकिएको उनले बताए । यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गको विभिन्न सडकखण्डमा ढुङ्गा खस्ने तथा लेदोसहितको पहिरो खसेर चौकीडाँडा–नेपालथोक सडक पूर्ण रूपमा अवरुद्ध छ ।

 

भासियो कोशी राजमार्ग

धनकुटा । लगातारको वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा कोशी राजमार्ग भासिएको छ । राजमार्गको चारखोले गोलाई क्षेत्रमा कोशी राजमार्ग भासिएको हो । सडक भासिएपछि यातायातमा आंशिक अवरोध आएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको जानकारी अनुसार, शुक्रबार बिहान ११ः०० बजेको समयमा लोकमार्गको करिब १० मिटर खण्ड भासिएको हो ।

सडकको एक भाग पूर्ण रूपमा अवरुद्ध भए पनि, साना सवारी साधनहरू भने जोखिम मोलेर एकतर्फी रूपमा आवतजावत गरिरहेका छन् । सो स्थानमा इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट प्रहरी निरीक्षक महेश भट्टराईको कमाण्डमा ७ जनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यस्तै अविरल वर्षाको कारण धनकुटा–पाँचथर जोड्ने तमोर–कोरिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पाँचथरको तुम्वेवा गाउँपालिका–२ र धनकुटाको चौविसे गाउँपालिका–४ सिमानाबाट बग्ने नावाखोलामा पानीको बहाव बढेर बाढी आएपछि तमोर–कोरिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।

बाढीका कारण सडकको केही भाग बगाएर सडक सम्पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएका छन् । अहिले पाँचथरतर्फ तीनवटा र धनकुटातर्फ चारवटा ट्रक सडकमा रोकिएका छन् । अवरुद्ध सडक पुनः सञ्चालनका लागि डोजर परिचालन गरी मर्मत कार्य सुरु गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । नावा खोलामा पक्की पुल नहुँदा वर्षा हुने बित्तिकै खोलामा पानीको बहाव बढ्ने हुँदा बाढी आएर सडक अवरुद्ध हुने गरेको छ । अहिले पक्की पुल निर्माणधीन अवस्थामा छ । भेडेटार–रवि–राँके सडकखण्ड अन्तर्गत भेडेटार डाँडाबजार खण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको छ । सडकमा पहिरो खस्दा दुवै तर्फका सवारी साधन रोकिएका छन् । अविरल वर्षाले पहिरो पन्छाउने काम हुन सकेको छैन ।

मेची र बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण प्रमुख दुई राजमार्ग–मेची राजमार्ग र बीपी राजमार्गका विभिन्न खण्डमा सडक भासिँदा, चिरिँदा र पहिरो खसेर सवारी सञ्चालन पूर्णरूपमा अवरुद्ध भएको छ ।

बिहीबारदेखि लगातार भइरहेको वर्षाले इलाम जिल्लाको राजदुवाली सडक खण्डमा सडक भासिएको छ । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार सडकका विभिन्न स्थानमा जमिन दबिँदै, भासिँदै र चिरिँदै गएको छ । त्यसैगरी, तिल्केनी, सिमलगोला र सिलपुर सडक खण्ड पनि पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएका छन् ।

प्रशासनले सवारी साधन सञ्चालनमा अर्को सूचना नआएसम्म पूर्णरूपमा रोक लगाएको जनाएको छ । स्थानीय प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा रोक लगाइएको व्यहोरा सरोकारवाला सबैमा जानकारी गराउँदछौं ।’

यता लगातार वर्षाले बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डका धेरै स्थानमा पहिरो र लेदो खसेका छन् । चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना, माम्ती, नार्के, पिन्थलीबेसी र विरुवाडाँडा क्षेत्रमा पहिरो र लेदोका कारण सवारी आवागमन पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसेको र लगातार वर्षाका कारण जोखिम बढेकाले कार्य रोकिएको छ । उनले भने, ‘पानी परिरहेकाले थप पहिरो खस्ने जोखिम उच्च छ, त्यसैले अहिले सडक खुलाउने प्रयास रोकिएको छ।’

प्रदेशभर पहिरोको जोखिम बढ्दो
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ध्रुबकुमार श्रेष्ठका अनुसार कोशी प्रदेशका अन्य जिल्लाहरूमा पनि अविरल वर्षाका कारण सडक क्षति र पहिरोको जोखिम बढेको छ । खोटाङमा पनि एक स्थानमा सडक अवरुद्ध भएको जानकारी आएको उनले बताए।

सडक खुलाउन समय लाग्ने
जिल्ला प्रशासन र प्रहरी कार्यालयहरूले दुवै राजमार्गमा सडक पुनः सञ्चालन गर्न समय लाग्ने बताएका छन् । स्थानीय निकाय र सडक विभागले पहिरो पन्छाउने तयारी थालेका भए पनि निरन्तर वर्षाका कारण कार्यमा ढिलाइ भएको जनाइएको छ । प्रशासनले नागरिक र सवारी चालकहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

बीपी राजमार्ग दुई दिन रातको समयमा बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्ग आज (कात्तिक १३) र भोलि दुई दिन रातको समयमा बन्द गरेको छ । भारी वर्षाको सम्भावना रहेका कारण दुई दिन साँझ ५ बजेदेखि विहान ५ बजेसम्म राजमार्ग बन्द गरिएको प्रशासनले जानकारी गराएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना बमोजिम कात्तिक १३ देखि १५ गतेसम्म सो क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

सिन्धुली जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै प्रशासनले वर्षात् र बाढी पहिरोबाट सवारी साधन र यात्रुहरूलाइ ईसम्भावित जोखिमबाट हुनसक्ने मानवीय र भौतिक क्षति हुन नदिनको लागि सो निर्णय गरिएको जनाएको छ । उक्त अवधिमा बीपी राजमार्गको खुर्कोटबजार, सिन्धुली जिल्लाबाट काठमाडौं तर्फ जाने सवारी साधन आवागमनमा निषेध गरिएको छ । दिउँसोको समयमा भारी वर्षाको अवस्थामा सुरक्षा निकायले जुनसुकै स्थानमा (सुरक्षित रहने गरी) सवारी साधन रोक्न सक्ने प्रशासनको सूचनामा जनाइएको छ । बीपी राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालन गर्दा वर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउन पनि प्रशासनले अनुरोध गरेको छ ।

कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना

जुम्ला । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्ग अन्तर्गतका पाँच रुग्ण अवस्थाका ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले सम्झौताअनुसार काम नभई लामो समयदेखि अलपत्र रहेका उक्त राजमार्गका पाँच वटा ठेक्का तोड्ने क्रममा कानुनी प्रक्रिया अघि बढाएको हो ।

जुम्ला सडक डिभिजन कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र पर्ने कालीकोटका चार र मुगुको नाग्म–गमगडी सडकखण्डको एक गरी पाँचवटा ठेक्का तोड्ने प्रक्रियाअन्तर्गत सार्वजनिक सूचना जारी गरी सम्बन्धित निर्माण व्यवसायीहरूलाई स्पष्टीकरणका लागि मौका दिएको छ ।सम्झौताअनुसार काम गर्न, गराउन पटक–पटक ताकेता गरे पनि काम नभएपछि बाध्य भई ठेक्का रद्द गर्ने क्रममा सूचना जारी गरेको स्पष्ट गर्दै इन्जिनियर सिंहले प्रचलित नियमानुसार ठेक्का प्राप्त गरी काम नगर्ने निर्माण व्यवसायीलाई जमानत जफतसहित अन्य कानुनी कारबाही हुने जानकारी दिए ।

आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रभित्र पाँचवटा ठेक्का सम्झौता भएको, सम्झौताअनुसार काम नभएपछि पटक–पटक ताकेता गरेको र धेरै पटकभन्दा पनि काम नभएपछि ठेक्का तोड्ने प्रक्रियाअघि बढेको इन्जिनियर सिंहको भनाइ छ । यसरी सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्नसक्ने संशोधित कार्यतालिका एवं स्रोतसाधन परिचालनको भरपर्दो योजना तथा कार्य सम्पन्न गर्ने प्रतिबद्धता, ठेक्का नतोड्ने कुनै मनासिव कारण भए सत्यतथ्य प्रमाणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचनामार्फत आह्वान गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिएका छन् ।

तोकिएको समयमा काम सुरु नगरेमा कालोसूचीमा राख्ने, धरौटी तथा पेस्की जमानत जफत गर्ने र बाँकी कामका खर्च सरकारी बाँकीसरह असुलउपर गर्ने प्रावधान रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । यसअघि ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

 

 

कहिलेसम्ममा खुल्लान् वीपी राजमार्गसहित अवरुद्ध सडक ?

काठमाडौं । दशैंको बेला तीन दिनसम्म परेको भारी वर्षा कारण विभिन्न मुख्य राजमार्गहरू अवरूद्ध भए । विपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले चौकीडाडा–नेपालथोक सडक खण्ड बगाएर पुरानै हालतमा सडक फर्किएको छ । हालसम्म उक्त सडक खण्ड पूर्ण रूपमा बन्द छ । गत वर्ष असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण रोशी खोलामा आएको भेलबाढीले उक्त राजमार्गको करिब १३ किलोमिटर सडक कटान गरेको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार यही असोज १८ र १९ र २० गतेसम्म परेको वर्षा कारण मात्रै मध्य पहाडी लोकमार्ग र पाँचथर तमोर करिडोर पूर्ण रूपमा हालसम्म अवरूद्ध छ । असोज २१ गते रूकुम (पूर्वी भाग) भुमे गाउँपालिका–४ काँडाबगरस्थित मध्यपहाडी लोकमार्गमा सडकमाथिबाट ढुङ्गा, लेदोसहितको पहिरो झरी पूर्ण रूपमा अवरोध छ ।

यस्तै असोज १८ गते पाँचथर तुम्वेवा गाउँपालिका–२ नावाखोलास्थित तमोर करिडोर सडक खण्डमा पहिरो झरी पूर्ण रूपमा बाटो अवरोध छ । जसकारण दशैँ मनाउन गाउँ गएका यात्रुहरू काठमाडौं आउन पाएका छैनन् भने काठमाडौंबाट गाउँ जाने यात्रूहरू सहज रूपमा जान पाएका छैनन् । विपीराजमार्ग अवरूद्ध हुँदा सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाका मानिसहरू काठमाडौं आउन वैकल्पिक बाटोको रूपमा विपी राजमार्गको खुर्कोट हुँदै रामेछापको मन्थली, तामाकोशी, दोलखाको चरिकोट, अरनिको राजमार्गको खडीचौरबाट काठमाडौं आवतजावत गरेका छन् । तर, १२÷१३ घण्टासम्म यात्रा गर्नुपर्दा यात्रूहरूलाई सकस परेको छ । दुई पांग्रे सवारी साधन भने नेपालथोक काभ्रे तेमाल हुँदै भकुण्डेबेसी आवतजावत गर्ने गरेका छन् । तर,बाटो जीर्ण बन्दा उनीहरूलाई विभिन्न समस्या भोग्न बाध्य छन् ।

भोलिसम्ममा वीपी राजमार्ग खुल्ने
सडक डिभिजन, भक्तपुरले भोलि (शुक्रबार) सम्ममा ट्रयाक खोलेर बीपी राजमार्ग सञ्चालन ल्याउने जनाएको छ । सडक डिभिजन, भक्तपुरका डिभिजन प्रमुख सुमन योगेशले भोलिसम्ममा ट्रयाक खोल्नेगरि काम भइरहेको जानकारी दिए । उनले भने, ‘वीपी राजमार्गको डाइभर्सन बनाउने काम धमाधम भइरहेको छ, भोलिसम्ममा सडक ट्रयाक खोलेर सञ्चालनमा आउँछ ।’

आज बिहानै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित सडक अनुगनमा गएका मन्त्री कुलमान घिसिङले बाढी पहिरोले क्षति चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गरेका छन् । मन्त्री घिसिङले संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउने गरी काम गर्न सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

कहिले खुल्लान् अन्य राजमार्ग ?
सडक विभागका सहायक प्रवक्ता शुभाञ्जन दाहालले बाढीपहिरो कारण अवरूद्ध भएका सडक खुलाउने काम भइरहेको बताए । उनका अनुसार भोलिसम्ममा तमोर करिडोर सञ्चालनमा आउने छ । ‘जहाँ पहिरो झरी सडक अवरूद्ध भएको छ,त्यहाँ खुलाउन टोली खटिएको छ, भोलिसम्ममा सञ्चालनमा आउँछ,’ उनले भने ।

भुमे गाउँपालिका वडा–४ का वडाअध्यक्ष श्यामप्रसाद बुढाले अझै पूर्ण रूपमा मध्यपहाडी लोकमार्ग सञ्चालनमा आउन नसकेको जानकारी दिए । उनका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत काँडाबगरमा माथिबाट ढुङ्गा, लेदोसहितको पहिरो झर्ने क्रम जारी छ । जसकारण पूर्ण रूपमा सडक खुलाउन सकिएको छैन । ‘हिजोसम्म भारी वर्षा पर्‍यो, तैपनि पालिकाले सडक खुलाउने काम गरिरहेको छ, सडक सफा गरेर सञ्चालन गर्छौ, फेरि पहिरो झरिहाल्छ, त्यही भएर समस्या परेको छ,’उनले भने ।

 

एक वर्षमै थिलथिलियो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक । संघीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडक मार्ग हो बिपी राजमार्ग ।
गत वर्षको बाढी, पहिरोबाट क्षत्विक्षत बनेको राजमार्ग अस्थायी ढङ्गबाट निर्माण गरी यातायात सञ्चालन हुँदै आएकामा यही असोज १८ र १९ गतेको बाढी पहिरोले पुनः थिलथिलो बनेको छ । राजमार्गको मध्यक्षेत्र अर्थात् काभ्रेपलाञ्चोकतर्फको सडक खण्ड भत्किएर क्षत्विक्षत भएपछि हाल यस राजमार्गको सडक सम्पर्कविच्छेद भएको छ ।
वर्षा याममा केही भागमा क्षति पुर्‍याए पनि अघिल्लो साताको अविरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाएको हो । यस वर्ष पनि असोजमै राजमार्गको विभिन्न सडक खण्डमा सडकको नामोनिसानै मेटिनेगरी, पैदल समेत हिँड्न नसक्ने गरी बाढी पहिरोले तहसनहस बनाइ दियो ।
गत साल असोजमा क्षत्विक्षत राजमार्गमा अस्थायी सडक एवं डाइभर्सन बनाई सञ्चालन गरिए पनि स्थायी बनाउने प्रक्रियामै रहेकाबेला राजमार्ग पुनः थिलथिलो बनेको छ । डिभिजन सडक कार्यालय भक्तपुरको प्रारम्भिक अनुगमन निरीक्षणअनुसार बाढीले करिब चार किलोमिटर सडक बगाएको छ ।
पुनःअस्थायी डाइभर्सन बनाउन काम थालिएको कार्यालयको इञ्जिनियर विन्दु अधिकारीले जानकारी दिइन् । उनका अनुसार अहिलेको बाढीले गत सालको बाढी पहिरोपछि बनाइएको डाइभर्सन पूर्ण रुपमा कटान गरेको छ । विसं २०७२ को विनाशकारी भूकम्पले केही सडक खण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडक खण्ड जोखिमकै अवस्थामा रहेका थिए । राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर लामो राजमार्ग बनेको हो ।
विसं २०७२ असार १८ गते औपचारिक रुपमा यो राजमार्ग जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । करिब २६ अर्ब जापानी येन बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग छोटो र सिधा जोड्को छ । यस राजमार्गको निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौं घुम्नुपर्ने झन्झट अन्त्य भएको थियो ।
गत वर्षको असोज १०, ११ र १२ गते परेको अबिरल वर्षाका कारण रोशी खोला बढीले बर्दिबासदेखि धुलिखेलसम्म १० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो । त्यसलाई अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याएको वर्ष दिन नपुग्दै यही असोज १७ र १८ मा वर्षाले पुनःक्षति गराएको हो।
संघीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल रार्जमार्गसँग समेत जोडिएको छ । तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई २०८१ र २०८२ सालको बाढी पहिरोले थप क्षतिग्रस्त बनाएको हो । राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन् । वर्षा भएकाबेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो सडक बन्द हुने अवस्था निम्तिएको छ ।
गत सालको वर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले क्षति पु¥याएको थियो । विशेषगरी नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेंसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ । त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो ।
गत साल राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक तर्फको नार्के बजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडकखण्ड पूर्ण रुपमा बगाएका थियो । गत सालको बर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत बैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको थियो ।
यही असोज १७ गते रातिदेखि निरन्तर परेको वर्षाले उक्त राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डमा धेरै क्षति पु¥याएको कार्यालयले जनाएको छ । इञ्जिनियर अधिकारीका अनुसार बिपी राजमार्गअन्तर्गत यस सडक खण्डको १७ स्थानमा रोशी खोलाले क्षति पुर्‍याएको छ भने राजमागको चौकीडाँडा, बोक्सेकुना, माम्ती, चार सयबेंसी, घुमाउनेलगायतका स्थानमा निकै नै जोखिम रहेको छ ।
यी स्थानमा अब शून्यबाटै फेरि मर्मत सुरु गर्नुपर्ने अधिकारीको भनाइ छ । अस्थायी रुपमा मर्मतगरी सकेसम्म छिट्टै यातायात सञ्चालन गर्ने तयारी भइरहेको पनि उनले बताइन् । हिजो सोमबारदेखि नै काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमा क्षेत्र चौकीडाँडाबाट मर्मत कार्यको थालनी गरिएको छ ।
कार्यालयका अनुसार रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरी ट्र्याक बनाउन सुरु गरिएको हो । नेपालथोकदेखि सिन्धुलीतर्फ बर्खेखोलासम्म करिब ६०० मिटर रोशी खोलाले बगाएको छ । ट्रयाक खुलेपछि काभ्रेपलाञ्चोकको माम्तीसम्म यातायात सञ्चालन हुनेछ । कार्यालयका अनुसार हाल ११० किलोमिटर सडकमा यातायात सञ्चालन रहेको र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको छ ।
कार्यालयले गत साल असोजको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी यस वर्ष प्रक्रिया अघि बढाइएको थियो । त्यतिबेला बाढीपहिरोले आठ किलोमिटर सडक पुरै बगाएको थियो ।
क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको थियो । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार हाललाई अस्थायी सडक बनाएर सञ्चालनमा ल्याउने योजना अघि बढाइएको हो । ‘स्थायी पुनर्निर्माणबारे त्यसपछि के गर्ने भन्ने विषयमा मन्त्रालय र विभागको निर्णयअनुसार अघि बढिनेछ’, योगशेले भने ।
यस राजमार्ग दुई वर्षमा पुनर्निर्माणका लागि हाल काभ्रेपलाञ्चोकतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको थियो । स्थायी निर्माणको काम भने मनसुन बाहिरिएपछि मात्र सुरु हुने जनाइएको थियो । क्षतिग्रस्त राजमार्गको पाँच किमी सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले काम गर्नेछ ।
जाइकाले पिप्लेदेखि बर्खे खोलासम्म ३ दशमलव २ किमी सडक निर्माण गर्नेछ । त्यसका लागि फाइनल सर्भेको काम सकिएको र ठेक्का सम्झौताको चरणमा रहेको योगेशले बताए । बाँकी सिन्धुलीतर्फको एक सडकखण्ड र काभ्रेपलाञ्चोकतर्फको दुई सडकखण्डमा ठेक्का सम्झौताको तयारी भइरहेको उनको भनाइ छ ।
यस्तै, क्षतिग्रस्त राजमार्ग स्थायी पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहज रुपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्र भएको र अर्को रोशी खोलामा बाढी आउँदा बाढीले खोल्न सक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ । कार्यालयले पहिलो चरणमा भकुण्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ ।
यस राजमार्गमा जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा यही असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइएको थियो । त्यसअघि राजमार्गमा साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म १२ घण्टा राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउँदै आइएको थियो । पुनः मनसुन सक्रिय रहने भएपछि असोज १६ गतेदेखि रातको समयमा १२ घण्डा रोक लगाइए पनि असोज १८ र १९ गतेको बाढी पहिरोले यस राजमार्गको सडक सम्पर्कबिच्छेद पारिदिएको छ ।
दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने यस राजमार्गमा चाडबाडका बखत तेब्बर सवारीसाधन ओहोरदोहोर गर्छन् । यस राजमार्ग हाल इन्टरमिडियट लेनको छ भने अब दुई लेनको निर्माण हुने भएको हो । सरकारले क्षतिग्रस्त बिपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि सडक डिभिजन भक्तपुरलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको खुर्कोट सडक खण्डलाई रु एक अर्ब उपलब्ध गराएको थियो।
त्यसो त जाइकाको प्राविधिक अध्ययनले बिपी राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ । तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारीसाधन सञ्चालन गर्दै आइरहेका छन् । बिपी राजमार्गमा टिपरले २५ टनसम्म गिटीबालुवा लिएर निर्वाध रुपमा सञ्चालन हुने गरे पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकका रुपमा यस सडकमा सञ्चालन हुने टिपर पनि रहेका छन् । दैनिक यस सडकमा छ सयभन्दा बढी टिपर क्षमताभन्दा बढी लोड लिएर सञ्चालन भइरहेका छन् । सङ्गठित रुपमा टिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै बिपी राजमार्गको संरचनालाई जोखिममा पार्दै आए छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा साना ठूला गरी दैनिक तीन हजार बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकांश साना सवारीसाधन बिपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन् । यस सडकमा टिपर, मिनीबस, टाटासुमो र माइक्रोबस बढी सञ्चालन हुने गरेका छन् ।
–राजकुमार पराजुली /रासस

देशका मुख्य राजमार्गमा पहिरोको असर : बीपी, कोशी र पासाङल्हामु अवरुद्ध

काठमाडौं । देशभरको मौसममा केही सुधार आए पनि बाढी र पहिरोका कारण विभिन्न प्रमुख राजमार्गहरू अझै अवरुद्ध छन् । काठमाडौं उपत्यकामा अहिले सवारी आवागमन सामान्य भए पनि केही राजमार्ग खण्डमा यात्रु तथा सवारी साधनलाई समस्या भइरहेको छ ।

काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश नाकाहरूमा सवारी सञ्चालन सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । तर, बीपी, कोशी, पासाङल्हामु जस्ता राजमार्गहरूमा पहिरोका कारण सडक अवरुद्ध भएका छन् ।

बीपी राजमार्ग : काभ्रेको तीन स्थानमा पहिरो
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित माम्तीखोला, बुलढुंगा र डालावेसीमा पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ । यातायात सेवा ठप्प छ भने पहिरो पन्छाउने काम जारी रहेको जनाइएको छ ।

कोशी राजमार्ग : संखुवासभामा सवारी ठप्प
संखुवासभाको मकालु गाउँपालिका–३ को एकुवा र भोटखोला गाउँपालिका–४ को बरूण क्षेत्रमा पहिरो खस्दा कोशी राजमार्गमा पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

पासाङल्हामु राजमार्ग : रसुवामा तीन ठाउँमा समस्या
रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानी क्षेत्रमा खसेको पहिरोका कारण पासाङल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल–चीन नाका अझै अवरुद्ध
रसुवागढीस्थित मितेरी पुलमा असार २४ गते आएको बाढीले ठूलो क्षति पुर्‍याएपछि नेपाल–चीन नाका हुँदै सञ्चालन हुने सवारी आवागमन अझै सम्भव भएको छैन । पुल मर्मत तथा पुनर्निर्माण प्रक्रिया जारी रहेको जनाइएको छ । केही राजमार्गमा सामान्य सुधार देखिए पनि पहिरोका कारण प्रमुख राजमार्गहरूमा अझै पनि अवरोध कायम रहेको छ । सम्बन्धित निकायहरू सडक खुलाउने प्रयासमा सक्रिय छन् ।

बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनर्निर्माण थालियो

काठमाडौं । गत शनिबार र आइतबारको वर्षापछि आएको रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनः बनाउन थालिएको छ । नमोबुद्ध र रोशी गाउँपालिकाको सीमाना चौकीडाँडाबाट बगेको डाइभर्सन बनाउन सुरू भएको हो ।

खोलाको बहाव केही कम भएपछि डाइभर्सन बनाउन सुरू भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । सडक डिभिजन कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा राजमार्गमा बगेको डाइभर्सन पुनर्निर्माण गर्न लागेको हो ।

पानीको बहाव कम हुँदै गएकाले सडक निर्माणको तयारी भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । ‘प्लान बन्दै छ, चौकीडाँडाको एक स्थानबाट भन्दा पनि ३-४ स्थानबाट सडक बनाउन शुरु गर्ने भन्ने छ । सम्भावना भयो भने हाम्रो मेशीनहरु जहाँजहाँ छन त्यहि स्थानहरुमै डाइभर्सन निर्माण सुरु गर्छौं,’ सूचना अधिकारी विन्दू अधिकारीले भनिन् ।

नमोबद्ध नगरपालिका नगर प्रमुख कुन्साङ लामा, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा र सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादको विचमा चाँडो भन्दा चाँडो बीपी राजमार्ग खुलाउन, आवश्यक पर्ने पुलहरु निर्माणको लागि विशेष पहल गर्ने सहमति भएको छ ।

बीपी राजमार्गको रोशीखोला क्षेत्रमा गत वर्ष असोजमा आएको बाढीले बगाएपछि बनाइएको अस्थायी डाइभर्सन यस वर्षको असोज १८ देखि १९ गतेको वर्षा पछि आएको बाढीले पुनः बगाइदिएपछि अहिले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग राति ९ बजेदेखि बन्द

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा आज (सोमबार) राति ९ बजेपछि बन्द गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार र शनिबार परेको वर्षाका कारण पहिरोको उच्च जोखिम भएकाले आज राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि सडकमा आवागमन बन्द गरिने भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले चितवनबाट पोखरा र काठमाडौंतर्फ जाने सवारीसाधनलाई राति ९ बजेपछि सडक प्रयोग नगर्न आग्रह गरिएको बताए । यसअघि नै जिल्ला भित्रने सवारीसाधनका लागि समेत ९ बजेभित्र जिल्ला प्रवेश गर्न सूचना जारी गरिसकेको उनले बताए ।

खनालले भने, ‘मौसम यथावत् रहेमा बिहान चाँडै सडक सञ्चालनमा ल्याउन सकिने छ । अन्यथा स्थानीय प्रशासनले निर्धारित गरेको होल्डिङ सेन्टरमा नियमानुसार रहनुपर्ने छ । अत्यावश्यक अवस्थामा आएका सवारीसाधनलाई भने रोकिने छैन ।’

बर्षातका कारण रोकिएका सवारीसाधनलाई आज बिहानदेखि आवश्यकता अनुसार गन्तव्यमा पठाइएका र स्थानीय प्रशासनको समन्वयमा आज मात्रै पाँच वटा सवारीसाधनको व्यवस्था गरी विमानस्थलबाट यात्रुलाई काठमाडौं पठाएको थियो ।

हेटौंडा–भैंसे हुँदै काठमाडौं जाने सडकमा पनि राति बन्द
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा–भैंसे हुँदै काठमाडौं जाने सडकमा बेलुका ६ देखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सबैखाले सवारी चलाउन रोक लगाएको छ ।

आज (सोमबार) सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म उक्त रोकावट लगाइएको हो । आवतजावतमा रोक लगाइएको समय बाहेक अन्य समयमा यात्रा गर्दा उच्च सतर्कता एवं सावधानी अपनाई यात्रा गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।

आज यी १८ ठाउँमा छन् पूर्णरुपमा राजमार्ग अवरुद्ध (सूचीसहित)

काठमाडौं । दुई दिनको अविरल भारी वर्षापछि गएको बाढी–पहिरोको कारण आज (सोमबार) पनि देशका विभिन्न राजमार्गको १८ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छन् । केही सडकमा भने एकतर्फी खुलेको प्रहरीले जनाएको छ ।

संखुवासभास्थित कोशी राजमार्गको भोटखोला–४ बरुणखोला र संखुवासभाकै मकालु–४ एकुवामा आज सडक पूर्णरुपमा अवरुद्ध छ ।
त्यस्तै ओखलढुंगाको मानेभन्जयाङ गाउँपालिका– ६ र ७ को सीमा भएर बग्ने भँडारे खोलामा पनि बाढी आउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध छ । सिद्धिचरण लोकमार्गमै पर्ने उदयपुरको कटारी नगरपालिका – १४ को दलदले र कटारीकै विभिन्न ठाउँमा पनि सडक पूर्णरुपमा अवरुद्ध छ ।

त्यस्तै धनकुटाको बाख्रिाबास र साँगुरीगढीका पनि विभिन्न ठाउँमा वर्षाको कारण मध्यपहाडी र कोशी लोकमार्ग अवरुद्ध भएका प्रहरीले जनाएको छ । यस्तै इलामको इलाम नगरपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोको कारण मेची राजमार्ग अवरुद्ध छ ।

रसुवाको नेपाल चीन जोड्ने नाका, पासाङल्यामु सडक, सिन्धुपाल्चोकको भोटेकोसीस्थित अरनिको राजमार्ग, काभ्रेको रोसीस्थित बीपी राजमार्ग, मकवानपुरको बकैया–११ घट्टेपाखास्थित कान्ति लोकपथ, मकवानपुरकै भिमफेदी गाउँपालिका–८ बगुवास्थित कान्ति लोकपथ, मकवानपुरकै इन्द्रसरोवर–३ स्थित कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौँ सडक पनि आज पूर्णरुपमा अवरुद्ध छ ।

सिन्धुलीको मरिण गाउँपालिका–२ सिन्दुरेस्थित मदन भण्डारी लोकमार्गमा भने एकतर्फी गाडी चलेका छन् । सिन्धुलीकै फिक्कल गाउँपालिका–६ नागस्थानस्थित मध्यपहाडी लोकमार्ग र सुनकोशी–१ नेपालथोकस्थित बीपी राजमार्ग पनि आज पूर्णरुपमा अवरुद्ध छ ।

हेर्नुस् आज राजमार्गको अवस्था

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा चल्न थाले गाडी

चितवन । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट गाडीहरु पूर्ववत रुपमा सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।

जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ सेन्टर) मा रोकिएका लामो तथा छोटो दूरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् ।नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको जोखिम भने कायमै रहेको भन्दै प्रहरीले सावधानीपूर्वक सुरक्षित यात्रा गर्न चालक र यात्रुलाई अनुरोध गरेको छ ।

तीन–चार दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ

काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग यथाशक्य छिटो सञ्चालन गर्ने सरकारले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) यथाशक्य सुचारु गरिने बताए ।

भौतिक पूर्वाधार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले ३÷४ दिनभित्रमा उक्त सडक सुचारु हुने बताएका छन्। वीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउनेगरी अवरोध हटाउने र डाईभर्सन बनाउने काम सुरु भएको उनको भनाइ छ ।

‘जुन सडकहरूमा क्षति भएको छ । विशेष गरेर भकुण्डेवेशी–नेपालथोक जाने सडकलाई तत्कालै, काम सुरु गरिसकेका छौं । यसलाई छिटोभन्दा छिटो ३÷४ दिनभित्रमा भनेका छन्,’ मन्त्री घिसिङले भने, ‘सकेसम्म त्यो भन्दा छिटो गर्ने गरेर ईक्युप्मेन्टहरू मोबिलाइज गर्नेगरी अघि बढेका छौं । अहिलेको लागि वैकल्पिक बाटोहरू प्रयोग गर्न अनुरोध गर्छु ।’

अवरुद्ध सडक सुचारु गर्न सबै संयन्त्र परिचालन
हालै देशका विभिन्न स्थानहरूमा देखिएका बाढी र पहिरोका कारण सडकमा क्षति पुगेको छ । बाढीपहिरो र अन्य घटनाले सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक मर्मत तथा पुनः सञ्चालनका लागि आवश्यक उपकरण, जनशक्ति र स्रोत परिचालन गरी काम अघि बढाइरहेको जनाएको छ । विशेष गरी प्रमुख राजमार्गका अवरुद्ध खण्डहरू खुलाउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सडक विभागले यातायात यथाशीघ्र पुनः सुचारु गर्न आवश्यक सबै जनशक्ति, उपकरण र स्रोत परिचालन गरिएको जनाएको हो । प्रमुख राजमार्गका अवरुद्ध खण्डहरूमा दिनरात मर्मत कार्य तीब्र रूपमा जारी रहेको र बाँकी सडकहरू पनि शीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता मन्त्रालयले गरेको छ ।

हिजोदेखि नै मेसिन र जनशक्ति परिचानल गरी काठमाडौंबाट– पश्चिम–मुग्लीन हुदै पोखरा र नारायणघाट तर्फ जाने पृथ्वी राजमार्ग, नारायणघाट–मुग्लिन राजमार्गका अवरोध हटाई सवारी सञ्चालन हुनसक्ने बनाईसकिएको मन्त्रालयले जनाएको छ ।

अवरुद्ध वीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउनेगरी अवरोध हटाउने र डाईभर्सन बनाउने काम सुरु भएको समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र स्थानीय निकायसँग सहकार्य गरी सडक चाँडै सञ्चालनमा ल्याउन प्रयास भइरहेको जनाएको छ ।

सडकको अद्यावधिक जानकारीका लागि सडक विभागको आधिकारिक वेबसाइट वा विभागको कल सेन्टर ९८५१४१६८९३ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घाइते तथा प्रभावित नागरिकप्रति सहानूभूती व्यक्त गर्दै कठिन परिस्थितिमा पनि धैर्य र संयम राख्न अनुरोध गरेको छ ।

 

पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडक खण्ड भासियो

काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडकखण्डको डम्पिङ साइड नजिकै सडक भासिएको छ । मर्मत सकिन लागेको सडक भासिएको हो ।

यसअघि पनि यहाँ सडक भासिएको थियो । भासिएको सडक मर्मत गरिनसक्दै लगातारको झरीपछि आज शनिबार फेरि भासिएको छ । पहिरो भासिएसँगै यहाँनिर सवारी एकतर्फी सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।

चितवन भएर जाने राजमार्गमा सवारी चलाउन रोक
चितवन भएर जाने राजमार्गमा सवारी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनमा बसेको सुरक्षा, होटल व्यवसायी संघ (हान) र सरोकारवालाको बीचमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा रोक लगाउने निर्णय भएको हो । बाहिरी जिल्लाबाट चितवन आइपुगेर अलपत्र परेका यात्रुलाई चितवनका होटलमा नियमित शुल्कमा ७५ प्रतिशत छुट दिएर भरतपुर, नारायणगढ र सौराहाका होटलमा बस्ने व्यवस्था मिलाइएको पनि जानकारी गराइएको छ । जसका लागि ९८५५०१४१८० मा सम्पर्क गर्न प्रशासनले भनेको छ ।

पृथ्वी राजमार्ग खुल्यो

चितवन । पहिरोेले अवरुद्ध भएको पृथ्वी राजमार्ग आज अपराह्नदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो ।

चितवनको इच्छाकामना–३ फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडक सञ्चालन भएसँगै बाटोमा रोकिएका सवारीसाधन प्रस्थान गरेका छन् ।

मदनभण्डारी राजमार्गमा चार पक्की पुल निर्माण

गुल्मी ।  गुल्मीमा मदन भण्डारी राजमार्ग योजना कार्यालयअन्तर्गत पश्चिमी क्षेत्रमा चार पक्की पुल निर्माणसँगै त्यस क्षेत्रका नागरिकलाई यतिबेला ठूलो खुसी मिलेको छ । यस पटकदेखि चाडबाडको समयमा खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता लामो समयको प्रतीक्षापछि सधैँका लागि टरेको छ ।
जिल्लाको इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिका क्षेत्रभित्र रहेका खोलामा चारवटा पक्की पुल निर्माण भएसँगै त्यस क्षेत्रमा नागरिक निकै खुसी बनेका छन् । दसैँ, तिहार जस्ता चाडबाडको समयमा घरमा आउँदा सधैँ खोला तर्नुुपर्ने चिन्ताले पिरोलिरहने त्यस क्षेत्रका नागरिकले पुल बनेपछि सहज तरिकाबाट यात्रा गर्न पाएका छन् ।
उक्त क्षेत्रमा लामो समयको प्रयासपछि आर्थिक वर्ष २०८१/८२ मा एकै पटक चार पक्की पुल निर्माणसम्पन्न भएर सञ्चालनमा आएका हुन् । सञ्चालनमा आएका पक्की पुलमा फूलबारी खोला, घमिर खोला, हुलाके खोला र धनार्जी खोला गरी चारवटा रहेका छन । निर्माणसम्पन्न गरिएका पुलमा फूलबारी खोलाको पुल रु तीन करोड ३२ लाख ६८ हजार र घमिर खोला पुल रु तीन करोड १३ लाख ८४ हजारमा निर्माण सम्पन्न गरिएको हो । उक्त पुल निर्माणको काम पन्थ निर्माण सेवाद्वारा गरिएको थियो ।
त्यसैगरी सुनिल समिर निर्माण सेवाद्वारा हुलाके खोला पुल रु पाँच करोड ७९ लाख ५३ हजार र धनार्जी खोला पुल रु सात करोड ४८ हजार लागतमा निर्माणसम्पन्न भएकोे मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए ।
मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडक खण्डमा खोलामा पक्की पुल नहुँदा वर्षातको समयमा त्यस क्षेत्रका नागरिकले ठूलो समस्या भोग्दै आउनुपरेको स्थानीय कृष्णप्रसाद अर्यालले बताए ।
पुल नहुँदा वर्षौंदेखि खोलाको बीचबाट सवारीसाधन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । वर्षातको समयमा बाढी आउँदा कतिपय सवारीसाधन खोला तर्ने क्रममा बीचैमा अड्किने र कतिपय समयमा बाढीले बगाउने जस्ता समस्या झेल्नुपर्ने अवस्था थियो । त्यसकारण यात्रुलाई वर्षौंदेखि आवत–जावत गर्न सास्ती व्यहोर्दैै आउनु परेको थियो ।
पुल निर्माण नहुँदा उक्त क्षेत्रका राजनीतिक दल र नेतृत्वले समेत नागरिकबाट पटक पटक ठूलै आलोचना खेप्नुपरेको थियो । अहिले चारवटा पक्की पुल एकैचोटि निर्माणसम्पन्न भएर सहज रुपमा सवारीसाधन सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिक निकै खुसी बनेको इस्मा–१ गुरुवाका स्थानीय दधिराम पन्थीले बताए ।
उक्त पक्की पुल निर्माण भएपछि जिल्लाको पश्चिमी क्षेत्रका चार स्थानीय तहसँगै बागलुङ र प्यूठानसम्मका नागरिकलाई समेत सहज बनेको मालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले बताए । ‘पुल नहुँदा नागरिकले लामो समयदेखि पटकपटक समस्या र दुर्घटनाको जोखिम व्यहोर्दै आउनुपर्ने बाध्यता जस्तै बनेको थियो, अब खोलामा पक्की पुल बनेपछि विगतका समस्या समाधान गरिदियो, कालोपत्र सडकसँगै पुल निर्माण भएपछि यस क्षेत्रमा विकासले पनि नयाँ आयाम थप्ने भएको छ’, गिरीले भने ।
तम्घास–सिमलटारी खण्डमा सडक र पुल निर्माण भएपछि छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्दल, फुलबारी, सिमलटारीलगायतका स्थानमा व्यापारिक चहलपहल बढ्न थालेको इस्मा–६ का अगुवा कृषक कृष्णप्रसाद घिमिरेले बताए । जिल्लाको आधाजसो जनसंख्या ओगटेको पश्चिमी क्षेत्रमा पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकमा सहज यात्रासँगै थप खुसी पनि थपिएकोे छ ।

बिपी राजमार्गमा सवारी साधन ‘होल्ड’

काभ्रेपलाञ्चोक । शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बिपी राजमार्गका विभिन्न स्थानमा लेदासहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोेकेको छ ।

यात्री र सवारी साधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट अगाडि जाने अनुमति नदिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुनिल धाँजुले जानकारी दिए ।

यसैबीच, पहिरोका कारण बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन भएको छ । धुलिखेल–खावाखण्डअन्तर्गत तिरतिरे धारामा पहिरो खसेकाले राजमार्गमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन गरिएको छ ।

अरनिको राजमार्गसहित सिन्धुपाल्चोकका मुख्य र सहायक मार्ग तीन दिन राति बन्द

सिन्धुपाल्चोक । जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान जारी गरेपछि सम्भावित बाढी–पहिरोको जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा रातका समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयले अवस्था हेरेर अन्य समयमा पनि राजमार्ग आकस्मिक बन्द गर्न सक्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आज बसेको बैठकले यही असोज १७ देखि २० गतेसम्म साँझ ७ देखि बिहान ५ बजेसम्म अरनिको राजमार्गसहित जिल्लाभित्रका सबै मुख्य तथा सहायक सडकमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । दमकल, एम्बुलेन्स जस्ता अत्यावश्यक सेवामा प्रयोग हुने साधन भने सुरक्षित भएर चल्न पाउने छन् ।

नदी किनाराका बस्तीका बासिन्दालाई सुरक्षित रहन अपिल गर्दै सुरक्षा परिचालनको तयारी पूरा भएको प्रशासनले जनाएको छ । बैठकले स्थानीय तह, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ, स्वास्थ्य संस्था र स्वयंसेवकलाई विपद् व्यवस्थापनमा पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

तीन जिल्ला प्रशासनको आग्रह : अत्यावश्यक बाहेक पृथ्वी राजमार्गको यात्रा नगर्नू

तनहुँ । पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तनहुँ, चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयले संयुक्त सूचना जारी गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यही असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेकाले संयमित भएर यात्रा गर्न ती कार्यालयले संयुक्त रुपमा अनुरोध गरेका हुन् ।

विभागका अनुसार भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको र उक्त पूर्वानुमान बमोजिन वर्षा भएमा सडक आवागमन थप जोखिमयुक्त हुनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै संयुक्त रुपमा सूचना जारी गरी सार्वजनिक अपिल गरिएको छ ।

भारी वर्षा हुने पूर्वानुमान गरिएको समय (आगामी २० गते) सम्म अत्यावश्यकबाहेक यात्रा नगर्नुहुन, यात्रा गर्नुपर्दा दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्ने गरी गर्नु हुन तथा रातको समयमा यात्रा नगर्नू हुन अनुरोध गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायबाट आवश्यक जानकारी लिएर मात्र गर्न अनुरोध गरिएको छ ।

समय सीमाभित्र अत्यावश्यकबाहेक मालवाहक ठूला सवारीसाधन नचलाउन हुन पनि सूचनामा अनुरोध गरिएको छ । पूर्वानुमान बमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गमा आवागमन बन्द गर्नुपर्ने अवस्था समेत आउन सक्ने भएकाले त्यस्तो अवस्थातर्फ सचेत एवं सतर्क रही आवश्यक सहयोग गरिदिनु हुन सम्पूर्ण यात्रु महानुभाव एवं संघ–संस्थामा अपिल गरिएको प्रजिअ अधिकारीले बताए ।

सडकको अवस्थालगायत विषयमा गुनासो एवं थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी शरणकुमार विक ९८५६०६२२५५, जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश दाहाल ९८५१२२९८६० र जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी ।

बीपी राजमार्गमा आजदेखि रातको समयमा गाडी चलाउन रोक

काठमाडौं । व्यापक वर्षाको सम्भावना देखिएपछि बीपी राजमार्गमा आज असोज १६ देखि २० गतेसम्म रातको समय अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

काभ्रे जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गरी असोज १६ गते बिहीबारदेखि २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेबेंसी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारीसाधन आवागमन निषेध गरिएको जानकारी दिएको हो ।

यस्तै रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारीसाधनहरू रोक्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुस् सूचना

राजमार्गका यात्रु प्रतीक्षालय रङ्ग्याउँदै झलारीका युवा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका युवा दसैँका अवसरमा यात्रु प्रतीक्षालय रङरोगन गर्ने कार्यमा जुटेका छन् । उनीहरू स्थानीय व्यवसायीबाट रङ र आर्थिक सहयोग जुटाइ प्रतीक्षालयमा रङरोगन गर्न री चिटिक्क पार्ने कार्यमा जुटेका हु्न ।

वर्षौंदेखि रङरोगन नभएका र जीर्ण अवस्थाका प्रतीक्षालयमा रङ लगाउने र मर्मत गर्ने कार्य भएको युवा समाजसेवी जेनल विष्टले बताए । ‘साझा प्रयास र सहकार्यले मात्रै समृद्ध समाज निर्माण सम्भव हुन्छ । त्यसैले दसैँका बेला साथीभाइसँग रमाइलो गर्नेभन्दा समाजका लागि सिर्जनशील कार्य गरेर देखाउने छलफलपश्चात् यस कार्यमा जुटेका हौँ’, उनले भने ।

वन समिति र झलारीको नयाँ यात्रु प्रतीक्षालय रङरोगनको कार्य गरिएको र यस कार्यलाई दसैँपछि पनि निरन्तरता दिने योजना रहेको विष्टले बताए । उनले नगरपालिकाको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा रहेका सबै प्रतीक्षालय रङरोगन र मर्मत गर्ने योजना सुनाए ।

यस अभियानमा व्यवसायी र स्थानीय वन समितिले पनि साथ दिएका छन् । युवाहरुले प्रतीक्षालय मात्र नभई बजार, धार्मिक तथा विद्यालयलगायत क्षेत्रमा पनि सरसफाइ गर्ने कार्यमा सहभागिता जनाउँदै आएका छन् । शुक्लाफाँटा नगरपालिकाका पूर्वनगर प्रमुख दिलबहादुर ऐरले युवाहरूले दसैँमा समाजका लागि अनुकरणीय कार्य गरेको बताए ।

दशैंको टीकाको अघिल्लो दिन पनि काममै कुलमान, बीपी राजमार्ग निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले नवमीको दिन आज (बुधबार) बीपी राजमार्गको सवारी आवतजावत व्यवस्थापन र बाढीले क्षतिग्रस्त सडक पुनर्निर्माण कार्यको समीक्षा गर्न निरीक्षणका लागि पुगेका छन् ।

निरीक्षणमा मन्त्री घिसिङसँगै सडक विभागका महानिर्देशक र सम्बन्धित आयोजनाका अधिकारीहरू पनि सहभागी भएका छन् । मन्त्री घिसिङले चाडपर्वको भीडभाडलाई मध्यनजर गर्दै यात्रुहरूलाई सहज आवतजावतको व्यवस्था गर्न अस्थायी व्यवस्थापन चुस्त बनाइराख्न तथा स्थायी पुनर्निर्माणमा छिटो काम अघि बढाउन निर्देशन दिए ।

जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको बीपी राजमार्ग १६० किलोमिटर लामो छ जसमा गत वर्षको बाढीले ३०.५ किलोमिटर सडक भाग क्षतिग्रस्त भएको थियो । हाल इन्टरमिडियट लेनमा भइरहेको पुनर्निर्माणमा क्षतिग्रस्त खण्डलाई दुई लेनको सडकमा रूपान्तरण गरिनेछ ।

मन्त्री घिसिङले भने, ‘बाढीले क्षतिग्रस्त सडक खण्डको पुनर्निर्माणका लागि आवश्यक ठेक्का सम्झौता भइसकेको छ र जापान सरकारको सहयोगमा बाँकी सडक पुनर्निर्माणको तयारी भइरहेको छ । दशैँपछि तीव्र गतिमा काम सुरु गरिनेछ ।’ उनले आगामी भारी वर्षाको पूर्वानुमान समेत उल्लेख गर्दै सबै चालकलाई सतर्कता अपनाउन र यात्रुहरूलाई पनि हतार नगरी सुरक्षित यात्रा गर्न आग्रह गरे ।

‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन’

भरतपुर । बडादशैंको नवौं दिन आज नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ । दशैं सुरु भएसँगै पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको नारायणगढ मुग्लिन सडकमा आज भने निर्वाद रूपमा सवारीसाधन सञ्चालनमा छन् ।

हिजोअस्तीको तुलनामा सवारीसाधनको चाप कम रहेको र कुनै अवरोध नरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । उनका अनुसार दशैं अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४सै घण्टा खटिएको र यात्रुलाई कुनै पनि समस्या हुन नदिने गरी काम गरिरहेका छन् ।

मङ्गलबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै ८ः४० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको थियो । गएरातिसम्म सवारीसाधनको चाप रहे पनि हाल निकै कम रहेको प्रहरीले जनाएको छ। तुइन खोलामा पटक–पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

राजमार्ग अवरोधले बढ्यो खसी–बोकाको भाउ

काठमाडौं । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको मुग्लिन क्षेत्र र बिपी राजगमार्गसहित अन्य मार्गमा यातायात सहज नहुँदा गत वर्षको तुलनामा यो वर्ष खसीबोकाको भाउ केही बढी भए पनि किनबेचमा असर परेको छैन ।

मुलुकका धेरैतिर पहिरोका कारण बाटोको समस्या र यात्रुवाहक बसमा ढुवानी गर्न नपाइने व्यवस्थाका कारण बेग्लै ट्रकमा हालेर ल्याउँदा खसी बोकाको भाउ गत वर्षभन्दा केही बढेको व्यवसायीले बताएका छन् ।

यो वर्ष गत वर्षको तुलनामा प्रतिकिलो करिब रु २५ का दरले भाउ बढेको व्यवसायीहरु बताउँछन् । गत वर्ष जिउँदो खसी प्रतिकिलो रु सात सयदेखि रु सात सय २५ सम्ममा बिक्री भएकामा यो वर्ष रु सात सय ५० मा बिक्री भएको पाइएको छ । किसानले मूल्यवृद्धिको लाभ पाएका छन् । किसानका गोठबाट व्यापारीले प्रतिकिलो रु ६१० ले बेचेका छन् ।

काठमाडौँको टुकुचाका साथै कलंकी, दहचोक, कालिमाटी, लोकन्थली, सल्लाघारी, चाबहिललगायत क्षेत्रका तोकिएका स्थानमा दसैँका लागि खसीबोका किनबेच गरिन्छ । आज नवरात्रीको सातौँ दिन फूलपातीका अवसरमा यी क्षेत्रमा धमाधम खसी किन्ने र मोलतोल गर्नेको भिड देखिन्छ।

‘अहिले बसको डिकीमा खसी बोकालाई हाल्न दिइँदैन । ट्रकमा हालेर ल्याउँदा केही महँगो परेको छ । यसको लाभ किसानले पनि पाएका छन्। दसैमा काठमाडौँको बजारलाई चाहिले जति खसी बोकोको व्यवस्थापन हामीले मिलाउन कोसिस गरिरहेका छौँ ।’ काठमाडौँका टुकुचास्थित पशुचौपाया खरिद–विक्री संघका अध्यक्ष सन्तोषबहादुर खत्रीले भने, ‘लगातारको वर्षा र ठाउँ ठाउँमा पहिरो र अवरोधका कारण हामीलाई असुविधा भने परिरहेको छ ।’

काठमाडौँमा दसैँका अवसरमा वर्षेनी सिन्धुली, रामेछाप, ओखलढुङगा, खोटाङ, उदयपुर, इलाम, रोल्पा, रुकुमबाट खसी बोका ल्याइने गरेका छन् । भेडा च्याङ्ग्रा भने गोरखा, मनाङ, मुस्ताङलगायत जिल्लाबाट ल्याइन्छ । दसैँलाई लक्षित गरी टुकुचा खसी बजारमा हालसम्म करिब नौ हजारको संख्यामा खसीबोका ल्याइसकिएको छ ।

टुकुचा बजारमा खरिदबिक्रीका लागि अहिले एक हजार बढी खसीबोका राखिएका छन् । यस वर्ष जीउँदो च्याङ्ग्रा भने प्रतिकिलो एक हजार २५० मा बिक्री भइरहेको छ । बाटो अवरुद्ध भएकाकारण व्यापारी र किसानले विगतको जस्तो सजिलोसँग खसीबोका ल्याउन सकेका छैनन् ।
मासुका लागि खोटाङ, सिन्धुली, उदयपुरको खसी राम्रो मानिन्छ । अहिले बजारमा ९० किलोसम्मको खसी आएको ‘रेकर्ड’ छ । मासुका लागि तराईको तुलनामा पहाडको खसी राम्रो मानिन्छ ।

अझ लेकमा चरेको खसी बढी गुणस्तर हुने गर्छ । विगतको जस्तो धेरै मोटो खसीबोका खोज्ने उपभोक्ताको संख्या कम छ । अहिले दाना नखुवाएका चरनका खसी बोका उपभोक्ताको रोजाइमा पर्दै आएका छन् । टुकुचा बजारमा खसीको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको, स्वथ्य खसीलाई हरियो, बिरामी खसीलाई रातो रङ दिइएको छ ।

पाँच राजमार्ग पूर्णरूपमा अवरुद्ध, चार एकतर्फी सञ्चालनमा (सूचीसहित)

काठमाडौं । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी–पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।
त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ पासाङल्हामु राजमार्गस्थित नेपाल–चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ–नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका–४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार नवलपरासी पूर्वस्थित पूव–पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली–मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
पहिरोले अवरुद्ध बनेको बागलुङ–बलेवा–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको छ । वर्षाका कारण सडक भाँसिएपछि अवरुद्ध बनेको उक्त सडक बुधबारदेखि सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो जाँदा करिब १०० मिटर सडक भाँसिएको थियो । गत असारदेखि बन्द भएको सडक खुलाउनका लागि डोजरसहितका उपकरण प्रयोग गरिएको थियो ।
सडक अवरुद्ध हुँदा बागलुङ नगरपालिका–१० गलुवा, भकुण्डे, वडा नं १३ पैयुँपाटा, वडा नं १२ को अमलाचौरसहित दक्षिण बागलुङका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको थियो । बलेवा क्षेत्रबाट २० मिनेटमा सदरमुकाम बागलुङ बजार पुग्न सकिनेमा पहिरोका कारण दुई घण्टाको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । पूर्वाधार विकास कार्यालय बागलुङले गत साता पहिरोको अवस्था बुझेर तत्काल सञ्चालनमा ल्याउन गण्डकी प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहित स्वीकृतिका लागि पठाएको थियो ।
मन्त्रालयबाट स्वीकृत हुन बाँकी रहेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर अनिल बर्देवाले जानकारी दिए । बडादसैँ नजिकिएपछि नागरिकको आवतजावत बढ्ने हुँदा सडक खुलाइएको उनको भनाइ छ ।
सूचना अधिकारी बर्देवाले भने, ‘लामो समयसम्म सडक बन्द हुँदा हजारौँ नागरिकको सास्ती खेप्नुप¥यो । निरन्तर वर्षा र पहिरो झरिरहँदा सडक खुलाउन समस्या भइरहेको थियो, अहिले वर्षा केही कम भएपछि दुई दिनसम्म जनशक्तिसहित विभिन्न उपकरण प्रयोग गरी पहिरो पन्छाएका हौँ । खर्च व्यवस्थापनका लागि पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमान स्वीकृतिका लागि पठाएका छौँ, अझै स्वीकृत भएको छैन ।’
विगत तीन वर्षदेखि यस क्षेत्रमा पहिरो जाँदा पहिरो पन्छाउन रु करोड बढी खर्च भइसकेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । अघिल्लो वर्ष मात्र पूर्वाधार विकास कार्यालय र नगरपालिकाले करिब रु ५० लाख खर्च गरेर पहिरोमाथिको पानीलाई नजिकैको न्वारे खोलामा व्यवस्थापन गरी सडकको माथिल्लो भागमा जाली लगाउने काम गरेको उनले बताए ।
पहिरो व्यवस्थापनका लागि भू–गर्भविद्लको टोलीले अध्ययन गरेर प्रतिवेदन समेत बुझाइसकेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार रकम नहुँदा पहिरो नियन्त्रण गरी सडकको दीर्घकालीन समाधान गर्न समस्या भएको उपप्रमुख खड्काले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा पहिरो व्यवस्थापनका लागि सङ्घीय सरकारबाट रु तीन करोड विनियोजन भएको छ ।
पहिरोका कारण कालीगण्डकी करिडोरसमेत अवरुद्ध हुँदै आएको छ । बर्खाभरि सडक अवरुद्ध हुँदा गाउँमा उत्पादन भएका तरकारी र दूध बजारसम्म पुर्‍याउन समस्या हुने गरेको स्थानीय किसान कुलराज पौडेलले बताए । ‘दूध र तरकारी बजारसम्म पुर्‍याउनका लागि यान्त्रिक पुलमार्फत कुश्मा हुँदै बागलुङ ल्याउने गरिएको छ । घुमाउरो सडक प्रयोग गर्दा ढुवानी खर्च बढी तिर्नु परिरहेको छ’, उनले भने ।

बीपी राजमार्ग आजदेखि २४सै घण्टा खुला

काठमाडौं । यो वर्षको मनसुन सुरु भएपछि जोखिमका कारण रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बीपी राजमार्ग आजदेखि २४सै घण्टा खुला गरिएको छ ।

मनसुन बाहिरिने क्रममा रहेको र दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजना बमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।

कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचनाअनुसार गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो । मनसुनमा बाढी–पहिरोको जोखिमका कारण बीपी राजमार्गअन्तर्गत प्रथान बिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलबाट सिन्धुलीको सीमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो ।

यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो ।

मनसुनको समयमा बीपी राजमार्गमा यात्रा गर्नु उच्च जोखिम देखिएकाले राति निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । गत वर्ष असोजको बाढी–पहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो ।

बाढी–पहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा क्षति पु¥याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीको उक्त राजमार्गबाट दैनिक हजारौं सवारीसाधन आवतजावत गर्छन् ।

कर्णाली राजमार्ग अवरुद्ध, स्याउ बाटोमै कुहिने चिन्ता

कर्णाली । कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बिक्री गर्न समस्या भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ । राजमार्ग अवरुद्ध हुँदा आवतजावत गर्न समस्या भएको हो ।

जुम्लाबाट स्याउ बोकेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँलगायत देशका विभिन्न ठाउँका लागि गुडेका मालवाहक ट्रक राजमार्गमै थन्किएका छन् । यसले यात्री र स्याउ व्यापारीले तीनदेखि सास्ती खेपिरहेका छन् । गन्तव्यमा पुर्याइसक्ने बेलामा बाटोमै अलपत्र पर्दा व्यापारीलाई स्याउ कुहिने चिन्ता छ । राजमार्ग खुलाउन पहल हुन नसकेको यात्री बालाराम नेपालीले बताए ।

जुम्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले पहिराका कारण स्याउ बोकेका २३ ट्रक बाटोमै रोकिएका बताए । उनका अनुसार रु १३ करोड बराबरको एक सय ८४ मेट्रिक टन स्याउ कुहिने डर छ । किसानले बाटो खुलाउन सरोकारवालालाई अनुरोध गर्दैआएका छन् ।

जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र चौधरीले सडकमा खसेका ढुङ्गा फुटाउन नसकिएको बताए । ‘ढुङ्गा फुटाउन नेपाली सेनाको टोली मान्मबाट त्यसतर्फ जाँदैछ’, उनले भने । वर्षा भइरहेका कारण सडक खुलाउन बाधा पुगेको उनले बताए । कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरीसहितको टोली पहिरो खसेको स्थानमा गएको जानकारी दिए ।

दशैंमा बिपी राजमार्ग अवरुद्ध हुन नदिन के छ तयारी ?

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । हालको मनसुनमा समेत अवरुद्ध हुन नदिइएको उक्त राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ । करिब एक वर्षअघिको बाढी–पहिरोले क्षतिविक्षत बनाएपछि अस्थायी निर्माण गरी राजमार्ग सञ्चालन भइरहेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।

कार्यालयले बाढी–पहिरोपश्चात पहिलाकोभन्दा केही फिट उचाइमा अस्थायी फिलिङ गरी यातायात सञ्चालनार्थ निर्माण गरिएको सडक हालको वर्षामा क्षति हुन नदिन सतर्कता अपनाउँदै ‘इक्युपमेन्ट’ र संरचना निर्माण गरेको जनाएको छ ।बाढीले क्षति गर्नसक्ने काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, कटुञ्जेबेँसी, मङ्गलटार र माम्तीमा हुनसक्ने क्षति रोक्न ग्यावियन जालीको पर्खाल लगाइएको र सडक अवरुद्ध भइहाले पन्छाउन ठूला बोल्डर तयारी अवस्थामा राखिएको थियो ।

कार्यालयले वर्षायाममा बाढी–पहिरोका कारण हुनसक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउन सडक पुनर्निर्माणका लागि ठेक्का लागेको सडकखण्डमा निर्माण व्यवसायीको १५–१५ वटा उपकरणका साथै डिभिजनले डोजर, टिपर, लोडरलगायत सात उपकरण तयारी अवस्थामा राखिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर योगेशले बताए ।

विसं २०८१ असोजको बाढी–पहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी प्रक्रिया अघि बढाएको छ । बाढी–पहिरोले आठ किलोमिटर सडक पूरै बगाएको थियो । क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो ।

उक्त सडकखण्ड क्षतिग्रस्त भएपछि गत सालको दसैँमा त्यसमार्ग भएर पूर्वतर्फ घर जान चाहनेहरूले वैकल्पिक मार्ग प्रयोग गरे । ‘यो मनसुनमा राजमार्ग अवरुद्ध हुन दिइएन, अब दसैँलगायत चाडपर्वमा अवरुद्ध हुन नदिन पुनः मर्मत थाल्दैछौं’, योगेशले भने । उनका अनुसार बाढी–पहिरो आए निर्माण व्यवसायीले खुलाउनेछन् । यसका लागि ठेक्का लागेका व्यवयासी मेसिन लिएर बाढीपहिरो आए सडक खुलाउन तैनाथ रहेको योगशेको भनाइ छ । चाडवाडलाई मध्यनजर गर्दै खाल्डाखुल्डी पुर्दै सडक सुधार गर्ने योजना रहेको जनाइएको छ ।

उक्त राजमार्गमा भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिको आइतबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । कार्यालयले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङबाट सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जनाएको छ ।

हाल दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने उक्त राजमार्गमा चाडवाडका बखत तेब्बर सवारीसाधन ओहोरदोहोर गर्छन् । उक्त राजमार्ग दुई वर्षमा पुनर्निर्माणका लागि हाल काभ्रेपलाञ्चोकतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । स्थायी निर्माणको काम भने मनसुन बाहिरिएपछि मात्र सुरु हुने जनाइएको छ ।

क्षतिग्रस्त राजमार्गको पाँच किमी सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले काम गर्नेछ । जाइकाले पिप्लेबाट बर्खे खोलासम्म तीन दशमलव दुई किमी सडक निर्माण गर्नेछ । त्यसका लागि फाइनल सर्भेको काम सकिएको छ । ठेक्का सम्झौता नहुन्जेल यस खण्डको मर्मतसम्भारको काम कार्यालयअन्तर्गत नै हुने योगेशले बताए । यस राजमार्ग हाल इन्टरमिडियट लेनको छ भने अब दुई लेनको निर्माण हुने भएको हो ।

सरकारले क्षतिग्रस्त बिपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि भक्तपुर सडक डिभिजनलाई सात अर्ब ५० करोड र सिन्धुलीको खुर्कोट सडकखण्डलाई एक अर्ब उपलब्ध गराएको छ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ साल असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।