तीन–चार दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ


काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग यथाशक्य छिटो सञ्चालन गर्ने सरकारले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) यथाशक्य सुचारु गरिने बताए ।
भौतिक पूर्वाधार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले ३÷४ दिनभित्रमा उक्त सडक सुचारु हुने बताएका छन्। वीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउनेगरी अवरोध हटाउने र डाईभर्सन बनाउने काम सुरु भएको उनको भनाइ छ ।
‘जुन सडकहरूमा क्षति भएको छ । विशेष गरेर भकुण्डेवेशी–नेपालथोक जाने सडकलाई तत्कालै, काम सुरु गरिसकेका छौं । यसलाई छिटोभन्दा छिटो ३÷४ दिनभित्रमा भनेका छन्,’ मन्त्री घिसिङले भने, ‘सकेसम्म त्यो भन्दा छिटो गर्ने गरेर ईक्युप्मेन्टहरू मोबिलाइज गर्नेगरी अघि बढेका छौं । अहिलेको लागि वैकल्पिक बाटोहरू प्रयोग गर्न अनुरोध गर्छु ।’
अवरुद्ध सडक सुचारु गर्न सबै संयन्त्र परिचालन
हालै देशका विभिन्न स्थानहरूमा देखिएका बाढी र पहिरोका कारण सडकमा क्षति पुगेको छ । बाढीपहिरो र अन्य घटनाले सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक मर्मत तथा पुनः सञ्चालनका लागि आवश्यक उपकरण, जनशक्ति र स्रोत परिचालन गरी काम अघि बढाइरहेको जनाएको छ । विशेष गरी प्रमुख राजमार्गका अवरुद्ध खण्डहरू खुलाउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सडक विभागले यातायात यथाशीघ्र पुनः सुचारु गर्न आवश्यक सबै जनशक्ति, उपकरण र स्रोत परिचालन गरिएको जनाएको हो । प्रमुख राजमार्गका अवरुद्ध खण्डहरूमा दिनरात मर्मत कार्य तीब्र रूपमा जारी रहेको र बाँकी सडकहरू पनि शीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता मन्त्रालयले गरेको छ ।
हिजोदेखि नै मेसिन र जनशक्ति परिचानल गरी काठमाडौंबाट– पश्चिम–मुग्लीन हुदै पोखरा र नारायणघाट तर्फ जाने पृथ्वी राजमार्ग, नारायणघाट–मुग्लिन राजमार्गका अवरोध हटाई सवारी सञ्चालन हुनसक्ने बनाईसकिएको मन्त्रालयले जनाएको छ ।
अवरुद्ध वीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउनेगरी अवरोध हटाउने र डाईभर्सन बनाउने काम सुरु भएको समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र स्थानीय निकायसँग सहकार्य गरी सडक चाँडै सञ्चालनमा ल्याउन प्रयास भइरहेको जनाएको छ ।
सडकको अद्यावधिक जानकारीका लागि सडक विभागको आधिकारिक वेबसाइट वा विभागको कल सेन्टर ९८५१४१६८९३ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घाइते तथा प्रभावित नागरिकप्रति सहानूभूती व्यक्त गर्दै कठिन परिस्थितिमा पनि धैर्य र संयम राख्न अनुरोध गरेको छ ।