मेची र बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
काठमाडौं । अविरल वर्षाका कारण प्रमुख दुई राजमार्ग–मेची राजमार्ग र बीपी राजमार्गका विभिन्न खण्डमा सडक भासिँदा, चिरिँदा र पहिरो खसेर सवारी सञ्चालन पूर्णरूपमा अवरुद्ध भएको छ ।
बिहीबारदेखि लगातार भइरहेको वर्षाले इलाम जिल्लाको राजदुवाली सडक खण्डमा सडक भासिएको छ । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार सडकका विभिन्न स्थानमा जमिन दबिँदै, भासिँदै र चिरिँदै गएको छ । त्यसैगरी, तिल्केनी, सिमलगोला र सिलपुर सडक खण्ड पनि पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएका छन् ।
प्रशासनले सवारी साधन सञ्चालनमा अर्को सूचना नआएसम्म पूर्णरूपमा रोक लगाएको जनाएको छ । स्थानीय प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा रोक लगाइएको व्यहोरा सरोकारवाला सबैमा जानकारी गराउँदछौं ।’
यता लगातार वर्षाले बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डका धेरै स्थानमा पहिरो र लेदो खसेका छन् । चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना, माम्ती, नार्के, पिन्थलीबेसी र विरुवाडाँडा क्षेत्रमा पहिरो र लेदोका कारण सवारी आवागमन पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसेको र लगातार वर्षाका कारण जोखिम बढेकाले कार्य रोकिएको छ । उनले भने, ‘पानी परिरहेकाले थप पहिरो खस्ने जोखिम उच्च छ, त्यसैले अहिले सडक खुलाउने प्रयास रोकिएको छ।’
प्रदेशभर पहिरोको जोखिम बढ्दो
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ध्रुबकुमार श्रेष्ठका अनुसार कोशी प्रदेशका अन्य जिल्लाहरूमा पनि अविरल वर्षाका कारण सडक क्षति र पहिरोको जोखिम बढेको छ । खोटाङमा पनि एक स्थानमा सडक अवरुद्ध भएको जानकारी आएको उनले बताए।
सडक खुलाउन समय लाग्ने
जिल्ला प्रशासन र प्रहरी कार्यालयहरूले दुवै राजमार्गमा सडक पुनः सञ्चालन गर्न समय लाग्ने बताएका छन् । स्थानीय निकाय र सडक विभागले पहिरो पन्छाउने तयारी थालेका भए पनि निरन्तर वर्षाका कारण कार्यमा ढिलाइ भएको जनाइएको छ । प्रशासनले नागरिक र सवारी चालकहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
