Tag: बिपी राजमार्ग
बिपी राजमार्गमा धमाधम डाइभर्सनको काम, कहिलेबाट गुड्लान् गाडी ?
काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडक खण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ । आज बिहानसम्मा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इान्जिनियर सुमान योगेशले बताए ।
उनका अनुसार आज दिउँसोसम्म क्षतिग्रस्त राजमार्गको सम्पूर्ण खण्डमा ट्याक खोल्ने योजना छ । यही असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गका १९ स्थानमध्ये १७ स्थानमा डाइभर्सन बनेको छ । अब २ स्थानमा मात्र डाइभर्सन बनाउन बाँकी छ । बीपी राजमार्गको काभ्रे खण्डमा १४ र सिन्धुली खण्डमा ३ स्थानमा डाइभर्सन निर्माण सम्पन्न भएको सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।
उनका अनुसार रोशी खोलाले बीपी राजमार्गको चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेसी, गिम्दीबेसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेसी र पिप्लेका चार स्थानमा डाइभर्सन बनिसकेको छ । अब माम्तीका दुई स्थानमा डाइभर्सन बनाउने काम भइरहेको छ। ‘ट्याक खोलिसकेपछि पुनः एक पटक सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्नेछौँ, शनिबार बिहानदेखि पूर्णरुपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ’, उनले भने । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । मङ्गलबारदेखि औपचारिक रुपमा डाइभर्सन निर्माण थालिएको हो । योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिरहेको बताए ।
उनले भने, ‘सबै ट्रयाक खोलिसकेपछि बनेको सडकका घुम्ती र साँघुरा स्थानमा थप मर्मत गर्नुपर्ने देखिन्छ, आज साँझसम्ममा सडक खोल्ने काम पूरा भइसक्छ ।’ उनका अनुसार अहिले रोशी गाउँपालिकाको माम्ती क्षेत्रमा डाइभर्सन निर्माण भइरहेको छ । बाढी–पहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्याएको थियो । सोही क्षेत्रमा गत वर्षको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो ।
बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो राजमार्ग सञ्चालन गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिएका थिए । घिसिङले रातको समयमा काम गरेर भए पनि आज बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिन भनेका थिए । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।
एक वर्षमै थिलथिलियो बिपी राजमार्ग
बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनर्निर्माण थालियो
काठमाडौं । गत शनिबार र आइतबारको वर्षापछि आएको रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनः बनाउन थालिएको छ । नमोबुद्ध र रोशी गाउँपालिकाको सीमाना चौकीडाँडाबाट बगेको डाइभर्सन बनाउन सुरू भएको हो ।
खोलाको बहाव केही कम भएपछि डाइभर्सन बनाउन सुरू भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । सडक डिभिजन कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा राजमार्गमा बगेको डाइभर्सन पुनर्निर्माण गर्न लागेको हो ।
पानीको बहाव कम हुँदै गएकाले सडक निर्माणको तयारी भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । ‘प्लान बन्दै छ, चौकीडाँडाको एक स्थानबाट भन्दा पनि ३-४ स्थानबाट सडक बनाउन शुरु गर्ने भन्ने छ । सम्भावना भयो भने हाम्रो मेशीनहरु जहाँजहाँ छन त्यहि स्थानहरुमै डाइभर्सन निर्माण सुरु गर्छौं,’ सूचना अधिकारी विन्दू अधिकारीले भनिन् ।
नमोबद्ध नगरपालिका नगर प्रमुख कुन्साङ लामा, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा र सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादको विचमा चाँडो भन्दा चाँडो बीपी राजमार्ग खुलाउन, आवश्यक पर्ने पुलहरु निर्माणको लागि विशेष पहल गर्ने सहमति भएको छ ।
बीपी राजमार्गको रोशीखोला क्षेत्रमा गत वर्ष असोजमा आएको बाढीले बगाएपछि बनाइएको अस्थायी डाइभर्सन यस वर्षको असोज १८ देखि १९ गतेको वर्षा पछि आएको बाढीले पुनः बगाइदिएपछि अहिले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
चाडवाडमा अवरुद्ध हुन नदिन बिपी राजमार्ग पुनःमर्मत गरिँदै
काभ्रेपलाञ्चोक- एक वर्षअघिको बाढीपहिरोले क्षतविक्षत भएपछि अस्थायी रूपमा निर्माण गरिएको बिपी राजमार्ग चाडवाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ ।
राजमार्गको क्षतिग्रस्त सडक पुनः मर्मत गर्नेगरी काम अगाडि बढाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले बाढी पहिरोपश्चात पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी फिलिङ गरी यातायात सञ्चालन गरेको थियो । यसपटकको वर्षामा थप क्षति हुन नदिन सतर्कता अपनाउँदै स्रोत साधन तयारी अवस्थामा राखेर खाल्डाखुल्डी पुरेर यात्रा सहज बनाइने कार्यालयले जनाएको छ ।
यसपालिको क्षति रोक्न काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, कटुञ्जेबेँसी, मङ्गलटार र माम्तीमा ग्याबिन जालीसहित पर्खाल लगाइएको र सडक अवरुद्ध भइहाले पन्छाउन विभिन्न उपकरण तयारी अवस्थामा राखिएका छन् । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले वर्षायाममा बाढीपहिरोका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै तत्काल हटाउन सडक पुनःनिर्माणका लागि आवश्यक उपकरण तयारी अवस्थामा राखिएका बताउनुभयो ।
“दसैँतिहारलगायत चाडवाडमा अवरुद्ध हुन नदिन सजगता अपनाइएको छ, एकदुई दिनभित्र सडकका खाल्डाखुल्डी पुरेर सडक सुधार गर्दै यात्रा सहज बनाउन लागिएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सडकलाई ‘ग्रेडिङ’ गरेर ‘रोलिङ’ गर्न लागिएको हो । विसं २०८१ असोजको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनःनिर्माण गर्नेगरी प्रक्रिया अघि बढाइएको छ । बाढीपहिरोले आठ किलोमिटर सडक पूरै बगाएको थियो । क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो ।
उक्त सडकखण्ड क्षतिग्रस्त भएपछि गत सालको दसैँमा त्यस मार्ग भएर पूर्वतर्फ घर जान चाहनेले वैकल्पिक मार्ग प्रयोग गरेका थिए । “यो मनसुनमा राजमार्ग अवरुद्ध हुन दिइएन, अब दसैँलगायत चाडपर्वमा अवरुद्ध हुन नदिन पुनःमर्मत थाल्दैछौँ, वैकल्पिक सडक गर्नुपर्ने बाध्यता हुन नदिनेगरी मर्मत गर्दैछौँ”, योगेशले भन्नुभयो । उहाँका अनुसार बाढीपहिरो आए निर्माण व्यवसायीले नै खुलाउने सम्झौता भएको छ ।
यसका लागि ठेक्का लागेका व्यवयासी मेसिन लिएर बाढीपहिरो आए सडक खुलाउन तैनाथ रहेको योगेशको भनाइ छ । उक्त राजमार्गमा जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आएकामा यही असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइएको छ । त्यसअघि राजमार्गमा साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म १२ घण्टा राजमार्गमा यात्रुबाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउँदै आएको थियो ।
हाल दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने उक्त राजमार्गमा चाडवार्डका बखत तेब्बर सवारी साधन ओहोरदोहोर गर्छन् । उक्त राजमार्ग दुई वर्षमा पुनःनिर्माणका लागि हाल काभ्रेपलाञ्चोकतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । स्थायी निर्माणको काम भने मनसुन बाहिरिएपछि मात्र सुरु हुने जनाइएको छ ।
क्षतिग्रस्त राजमार्गको पाँच किमी सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले काम गर्ने छ । जाइकाले पिप्लेदेखि बर्खेखोलासम्म तीन दशमलव दुई किमी सडक निर्माण गर्ने छ । त्यसका लागि फाइनल सर्भेको काम सकिएको र ठेक्का सम्झौताको चरणमा रहेको योगेशले बताउनुभयो । बाँकी सिन्धुलीतर्फको एक सडकखण्ड र काभ्रेपलाञ्चोकतर्फको दुई सडकखण्डमा ठेक्का सम्झौताको तयारी भइरहेको उहाँको भनाइ छ ।
उक्त यस राजमार्ग हाल इन्टरमिडियट लेनको छभने अब दुई लेनको निर्माण हुने भएको हो । सरकारले क्षतिग्रस्त बिपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि सडक डिभिजन भक्तपुरलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको खुर्कोट सडकखण्डलाई रु एक अर्ब उपलब्ध गराएको छ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ ।
