`

बिपी राजमार्गमा धमाधम डाइभर्सनको काम, कहिलेबाट गुड्लान् गाडी ?

Nepal One HD २४ असोज २०८२ १२:५९
प्रमुख खबर

काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडक खण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ । आज बिहानसम्मा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इान्जिनियर सुमान योगेशले बताए ।

उनका अनुसार आज दिउँसोसम्म क्षतिग्रस्त राजमार्गको सम्पूर्ण खण्डमा ट्याक खोल्ने योजना छ । यही असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गका १९ स्थानमध्ये १७ स्थानमा डाइभर्सन बनेको छ । अब २ स्थानमा मात्र डाइभर्सन बनाउन बाँकी छ । बीपी राजमार्गको काभ्रे खण्डमा १४ र सिन्धुली खण्डमा ३ स्थानमा डाइभर्सन निर्माण सम्पन्न भएको सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।

उनका अनुसार रोशी खोलाले बीपी राजमार्गको चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेसी, गिम्दीबेसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेसी र पिप्लेका चार स्थानमा डाइभर्सन बनिसकेको छ । अब माम्तीका दुई स्थानमा डाइभर्सन बनाउने काम भइरहेको छ। ‘ट्याक खोलिसकेपछि पुनः एक पटक सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्नेछौँ, शनिबार बिहानदेखि पूर्णरुपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ’, उनले भने । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । मङ्गलबारदेखि औपचारिक रुपमा डाइभर्सन निर्माण थालिएको हो । योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिरहेको बताए ।

उनले भने, ‘सबै ट्रयाक खोलिसकेपछि बनेको सडकका घुम्ती र साँघुरा स्थानमा थप मर्मत गर्नुपर्ने देखिन्छ, आज साँझसम्ममा सडक खोल्ने काम पूरा भइसक्छ ।’ उनका अनुसार अहिले रोशी गाउँपालिकाको माम्ती क्षेत्रमा डाइभर्सन निर्माण भइरहेको छ । बाढी–पहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्‍याएको थियो । सोही क्षेत्रमा गत वर्षको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो राजमार्ग सञ्चालन गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिएका थिए । घिसिङले रातको समयमा काम गरेर भए पनि आज बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिन भनेका थिए । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *