कहिलेसम्ममा खुल्लान् वीपी राजमार्गसहित अवरुद्ध सडक ?


काठमाडौं । दशैंको बेला तीन दिनसम्म परेको भारी वर्षा कारण विभिन्न मुख्य राजमार्गहरू अवरूद्ध भए । विपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले चौकीडाडा–नेपालथोक सडक खण्ड बगाएर पुरानै हालतमा सडक फर्किएको छ । हालसम्म उक्त सडक खण्ड पूर्ण रूपमा बन्द छ । गत वर्ष असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण रोशी खोलामा आएको भेलबाढीले उक्त राजमार्गको करिब १३ किलोमिटर सडक कटान गरेको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार यही असोज १८ र १९ र २० गतेसम्म परेको वर्षा कारण मात्रै मध्य पहाडी लोकमार्ग र पाँचथर तमोर करिडोर पूर्ण रूपमा हालसम्म अवरूद्ध छ । असोज २१ गते रूकुम (पूर्वी भाग) भुमे गाउँपालिका–४ काँडाबगरस्थित मध्यपहाडी लोकमार्गमा सडकमाथिबाट ढुङ्गा, लेदोसहितको पहिरो झरी पूर्ण रूपमा अवरोध छ ।
यस्तै असोज १८ गते पाँचथर तुम्वेवा गाउँपालिका–२ नावाखोलास्थित तमोर करिडोर सडक खण्डमा पहिरो झरी पूर्ण रूपमा बाटो अवरोध छ । जसकारण दशैँ मनाउन गाउँ गएका यात्रुहरू काठमाडौं आउन पाएका छैनन् भने काठमाडौंबाट गाउँ जाने यात्रूहरू सहज रूपमा जान पाएका छैनन् । विपीराजमार्ग अवरूद्ध हुँदा सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाका मानिसहरू काठमाडौं आउन वैकल्पिक बाटोको रूपमा विपी राजमार्गको खुर्कोट हुँदै रामेछापको मन्थली, तामाकोशी, दोलखाको चरिकोट, अरनिको राजमार्गको खडीचौरबाट काठमाडौं आवतजावत गरेका छन् । तर, १२÷१३ घण्टासम्म यात्रा गर्नुपर्दा यात्रूहरूलाई सकस परेको छ । दुई पांग्रे सवारी साधन भने नेपालथोक काभ्रे तेमाल हुँदै भकुण्डेबेसी आवतजावत गर्ने गरेका छन् । तर,बाटो जीर्ण बन्दा उनीहरूलाई विभिन्न समस्या भोग्न बाध्य छन् ।
भोलिसम्ममा वीपी राजमार्ग खुल्ने
सडक डिभिजन, भक्तपुरले भोलि (शुक्रबार) सम्ममा ट्रयाक खोलेर बीपी राजमार्ग सञ्चालन ल्याउने जनाएको छ । सडक डिभिजन, भक्तपुरका डिभिजन प्रमुख सुमन योगेशले भोलिसम्ममा ट्रयाक खोल्नेगरि काम भइरहेको जानकारी दिए । उनले भने, ‘वीपी राजमार्गको डाइभर्सन बनाउने काम धमाधम भइरहेको छ, भोलिसम्ममा सडक ट्रयाक खोलेर सञ्चालनमा आउँछ ।’
आज बिहानै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित सडक अनुगनमा गएका मन्त्री कुलमान घिसिङले बाढी पहिरोले क्षति चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गरेका छन् । मन्त्री घिसिङले संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउने गरी काम गर्न सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।
कहिले खुल्लान् अन्य राजमार्ग ?
सडक विभागका सहायक प्रवक्ता शुभाञ्जन दाहालले बाढीपहिरो कारण अवरूद्ध भएका सडक खुलाउने काम भइरहेको बताए । उनका अनुसार भोलिसम्ममा तमोर करिडोर सञ्चालनमा आउने छ । ‘जहाँ पहिरो झरी सडक अवरूद्ध भएको छ,त्यहाँ खुलाउन टोली खटिएको छ, भोलिसम्ममा सञ्चालनमा आउँछ,’ उनले भने ।
भुमे गाउँपालिका वडा–४ का वडाअध्यक्ष श्यामप्रसाद बुढाले अझै पूर्ण रूपमा मध्यपहाडी लोकमार्ग सञ्चालनमा आउन नसकेको जानकारी दिए । उनका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत काँडाबगरमा माथिबाट ढुङ्गा, लेदोसहितको पहिरो झर्ने क्रम जारी छ । जसकारण पूर्ण रूपमा सडक खुलाउन सकिएको छैन । ‘हिजोसम्म भारी वर्षा पर्यो, तैपनि पालिकाले सडक खुलाउने काम गरिरहेको छ, सडक सफा गरेर सञ्चालन गर्छौ, फेरि पहिरो झरिहाल्छ, त्यही भएर समस्या परेको छ,’उनले भने ।