महिला नेतृत्वको सहकारीले बेच्यो ३५० वटा खसी–बोका


नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ ।
यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो । गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाको व्यवस्थापक सुशीला परियारले जानकारी दिइन् ।
‘असोज ६ गतेदेखि खसीबोका सङ्कलन र बिक्री सुरु गरेका थियौँ। हालसम्म ३५० वटा खसीबोका बिक्री गरेका छौँ’, उनले भनिन्, ‘प्रतिकिलो ज्युँदो सरदर रु ५७० सम्म बिक्री गरिएको छ ।’ संस्थामार्फत वर्षभरि नै खसीबोका सङ्कलन तथा बिक्री गरिने भए पनि चाडपर्वलाई लक्ष्य गरी बढी संख्यामा बिक्री भएको हो ।
‘गत वर्षको दसैँमा १५ सय खसीबोका बिक्री गरिएको थियो, त्यसबापत करिब रु दुई करोड ५० लाखको कारोबार भएको थियो’, परियारले भनिन्, ‘यस वर्ष भने पहिलेजति बिक्री भएन । दसैँपछि पनि बजारमा माग हुने हुँदा सोही अनुपातमा कारोबार हुने अनुमान गरेका छौँ ।’
गाउँमा उत्पादित खसीबोका बजारसम्म पुर्याउन सहकारीले ११ वर्षदेखि बजार व्यवस्थापन गरिरहेको छ । कृषकले भनेको समयमा बिक्री गर्न र उत्पादनअनुसार मूल्य नपाउने समस्या भएपछि सहकारीले सङ्कलन केन्द्रको स्थापना गरेर कृषिउपजको बजारीकरण गरिरहेको छ ।
यसरी सहकारीले घरबाट नै खरिद गरेर बजारीकरण गरिँदा आम्दानी र कारोबारमा सहज भएपछि स्थानीय कृषक खुसी भएका छन् । पहिले व्यापारीले भनेअनुसार बिक्री गर्ने बाध्यता रहेकामा केही वर्षदेखि सहकारीमार्फत बिक्री गर्दा बजारको चिन्ता नभएको र बजारमूल्य पनि पाएको कृषक शर्मिला विश्वकर्माले बताइन् ।
‘सहकारीले घरमै आएर खसीबोका जोखेर खरिद गर्ने हुँदा बिचौलियाबाट ठगिने समस्यासमेत हटेको छ’, उनले भनिन् । यहाँ सेयर सदस्य बाहेक अन्य कृषकको पनि खसीबोका खरिद गर्ने गरिएको छ । ठूला व्यापारीदेखि स्थानीयसम्म खसीबोका लिन सहकारीमा आउने गरेका छन्।
हुप्सेकोट गाउँपालिका क्षेत्रमा बाख्रापालक कृषकको संख्या उल्लेख्य रहेकाले यहाँबाट बर्सेनि सयौँ खसीबोका काठमाडौँ, पोखरालगायत सहरमा निर्यात गर्ने गरिएको छ । यहाँका बाख्रापालन गर्ने कतिपय महिलाले विदेश गएका श्रीमान्ले भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।