प्रहरी महानिरीक्षक खापुङबाट बडादशैंको मौलो पूजा


काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बडादसैँका अवसरमा आज नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरेका छन् ।
नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक खापुङले बलि पूजा गर्नुका साथै निसानमा पञ्जा छाप समेत लगाए । साथै प्रहरी महानिरीक्षक खापुङले मौलोपूजाका अवसरमा विशेषकार्य गर्ने प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हबल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ, प्रहरी अतिरिक्त महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहणसमेत गरिएको थियो ।
नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । त्यसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ ।
नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपीठ र इष्ट देवताको प्रतिकका रूपमा निशान झण्डालाई लिइन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रहिआएको छ ।
नेपाल प्रहरीले विक्रम संवत् २०११ मा निशान झण्डा प्राप्त गरेपश्चात हरेक वर्ष बडादशैँ र चैते दशैँमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ । साथै देशभरका विभिन्न प्रहरी कार्यालयमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रहीआएअनुरूप आजै सम्पूर्ण प्रहरी एकाइमा समेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।