शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ । विभागले आजसम्म भने देशका सबै प्रमुख नदीहरूमा जलसतह सामान्य र स्थिर रहेको जानकारी गराएको छ ।
विभागका बाढीविद् विनोद पराजुलीले शनिबार दिउँसोसम्म सबै प्रमुख नदीहरूमा अवस्था सामान्य नै रहे पनि त्यसपछि भने केही नदीहरूमा पानीको बहाव बढ्न सुरु हुने जानकारी दिए ।
‘शनिबार राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ’, उनले भने, ‘आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्नेछ ।’
आइतबार रातिदेखि प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै जाने र कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने पराजुलीले जानकारी दिए । उल्लिखित पूर्वानुमानअनुसार बाढी र डुबान हुन सक्ने, पहिरो जान सक्ने क्षेत्रहरूमा उच्च सतर्कता आवश्यक रहेको उहाँको भनाइ छ ।
केही दिन मुख्य राजमार्ग नै प्रयोग गर्न सुझाव
सडक विभागले दसैँमा विभिन्न स्थानमा आवतजावत गर्ने सडक यात्रुहरूलाई केही दिन मुख्य राजमार्गको प्रयोग गर्न सुझाव दिएको छ । मुख्य राजमार्गमा नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सुरक्षाकर्मीको व्यवस्था हुनाका साथै बाटो मर्मतको कार्य पनि चाँडो हुने भएकाले मुख्य राजमार्ग प्रयोग गर्न विभागले सुझाएको हो ।
जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिइरहेको बेलामा विभागले सकेमम्म अनावश्यक रूपमा यात्रा नगर्न, यात्रा गरे पनि रातको समयमा यात्रा बढी जोखिमपूर्ण रहेकाले दिउँसो यात्रा गर्न सुझाएको छ ।
विजया दशमीका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने क्रम जारी रहेसँगै रातको समयमा यात्रा गर्दा पहिरोका कारण बढी धनजनको क्षति हुन सक्ने भएकाले सकेसम्म रातमा यात्रा नगर्न विज्ञहरूले पनि सुझाव दिएका छन् ।
विभागका प्रवक्ता प्रभातकुमार झाले असोज २० गतेसम्म बाढी पहिरो जस्ता मनसुनजन्य विपद्का घटनाहरू बढ्न सक्ने र यसले राजमार्ग अवरुद्ध गरेमा तत्काल बाटो खुलाउने प्रयास गरिने तयारी भइरहेको बताए ।
‘पहिरोका कारण राजमार्ग अवरुद्ध भएको अवस्थामा हामी जतिसक्दो चाँडो बाटो खुलाएर यातायात व्यवस्थालाई सहज त गर्ने प्रयास गर्छौं । तर अस्वाभाविक रूपमा बाढी पहिरो आएर फिल्डमा खटिनै गाह्रो भयो भने तत्कालका लागि केही गर्न सक्दैनौँ’, उनले भने, ‘तसर्थ केही दिन यात्रा नगरौँ । गर्नै परेमा मुख्य राजमार्ग प्रयोग गरौँ ।’