`

बंगालको खाडीमा शक्तिशाली ‘मोन्था’ चक्रवात सक्रिय, कस्तो पर्ला नेपालमा प्रभाव ?

काठमाडौं । बंगालको खाडीमा विकसित ‘मोन्था’ नामको चक्रवातले आज (मंगलबार) भारतमा शक्तिशाली आँधी सिर्जना गर्ने भारतीय मौसम विभागले जनाएको छ । मोन्था हाल बंगालको खाडीमा सक्रिय रहेको भारतीय मौसम विभागले जनाएको छ । यो चक्रवात आज आन्ध्र प्रदेशको तट पार गर्ने अनुमान गरिएको छ ।

जसका लागि आन्ध्र प्रदेश र ओडिशाका केही भागहरूमा चक्रवातको चेतावनी जारी गरिएको छ । भारतीय मौसम विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चक्रवात साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनमको बीचमा तट पार गर्ने सम्भावना छ ।’ विज्ञप्तिअनुसार, त्यतिबेला हावाको गति ९०–१०० किलोमिटर प्रतिघण्टा पुग्न सक्छ ।

यसैबीच मोन्था चक्रवातको असर नेपालमा पनि पर्ने सम्भावना रहेको यहाँका मौसमविद्ले बताएका छन् । यस विषयमा आज बुलेटिन जारी गर्ने तयारी भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले बताए । ‘मोन्था चक्रवातले खासगरी नेपालको पूर्वी क्षेत्रमा वर्षा र हावाहुरी हुने सम्भावना छ’, उनले भने, ‘यस विषयमा विस्तृत जानकारी दिन हामी बुलेटिन तयार पार्दैछौं । केही समयपछि जारी गर्दैछौं ।’ भारतीय मौसम विभागले चक्रवात ‘मोन्था’ को प्रभावका कारण मंगलबार (आज) देखि बिहीबारसम्म महाराष्ट्रको विदर्भ क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार त्यो समयमा हावाको गति ९०–१०० किलोमीटर प्रति घण्टासम्म पुग्न सक्ने छ । मौसम विभागले सोमवार ‘मोन्था’ को प्रभावबाट महाराष्ट्रको विदर्भ क्षेत्रमा २८ देखि ३० अक्टोबारको बीच मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको बताएको थियो । ‘मोन्था’ को प्रभाव नेपालमा पनि देखिनेछ । मौसमविद्हरूका अनुसार भारतमा सक्रिय भएको केही दिनमै यो नेपालमा प्रवेश गर्नेछ । बंगालको खाडीमा विकसित भएको यो प्रणाली पूर्वी नेपालमा प्रवेश गर्नेछ । बिहीबार यो पूर्वी नेपालमा सक्रिय हुने पूर्वानुमान छ ।

यसको प्रभाव कोशी प्रदेशका साथै मधेश हुँदै मध्य नेपालसम्म पर्नेछ । चक्रवातलाई ध्यानमा राख्दै भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले आन्ध्र प्रदेश, ओडिसा, तमिलनाडु, पुडुचेरी र अन्डमान र निकोबार टापुका पार्टी एकाइलाई राहत र सहायताका लागि तयार रहन निर्देशन दिएका छन् ।

लगातारको झरीबाट प्रभावित जनजीवन सहज हुँदै

धनुषा । तीन दिनको लगातारको अविरल वर्षाका कारण प्रभावित जनजीवन सहज हुँदै गएको छ । मौसम सुधार भएसँगै सर्वसाधारणले राहत महसुस गरेका हुन् । यहाँ आइतबार रातिदेखि वर्षा रोकिएको र आज बिहानदेखि घाम लागेको छ ।

‘निरन्तर वर्षा भइरहँदा बाहिरी कामकाज छाडेर घरमै बस्न बाध्य थियौँ’, क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका तरकारी व्यवसायी जीवछ साहले भने, ‘बल्ल घाम लागेपछि राहत महसुस भएको छ ।’

निरन्तरको वर्षाका कारण ग्राहकको अभावमा २० हजार बराबरको फलफूल, सागसब्जी सडेको साहले दुःखेसो सुनाए । वर्षा रोकिएर घाम लागेपछि अहिले बजारमा चहलपहल समेत बढेको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ की गृहणी ज्योति गुप्ताले घाम लागेपछि बिस्कुन एवं लुगाफाटा सुकाउन सहज भएको बताए ।

मान्यजनकहाँ दसैँको टीका, जमरा ग्रहण गर्न जानु परे पनि लगातार झरी परिरहँदा सबै घरमै थुनिएका थिए । दसैँ मनाएर राजधानी काठमाडौँलगायत स्थानमा फर्किन समस्या भएको थियो । आज भने यात्रुहरू बस बिसौनीहरूमा गाडीको प्रतीक्षामा बसेका देखिएका छन् ।मौसमविद्हरूले अब मौसम सफा हुँदै जाने र तापक्रम पनि क्रमशः घट्दै गई प्रचण्ड गर्मीबाट उन्मुक्ति मिल्ने बताएका छन् । लामो झरीले कामकाज गर्न नपाएका यहाँका बासिन्दा काममा निस्कन थालेका छन् ।

‘हेर्नोस् न, झरीले केही गर्न दिएको थिएन, सबै काम असरल्ल थियो’, क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयाकी किसान अनितादेवी यादवले भनिन्, ‘बल्ल कति दिनपछि राम्ररी घाम देख्न पाइयो, अब भने खेत गोडमेल, वस्तुभाउको चरण गर्न पाइने आश जाग्यो ।’

मौसममा सुधार देखिएसँगै अब धान, तरकारी गोडमेल गर्न अनुकूल हुने यहाँका किसानहरू बताउँछन् । मौसममा आएको सुधारले तरकारीबारी गोडमेल गर्न सकिने रमदैयाका किसान उमेश यादवको भनाइ छ । पशुपालक किसानले गोठमै बाँधिएका घरपालुवा पशुवस्तु (गाई, भैँसी, बाख्रापाठा) फुकाउन, डुलाउन पाएका छन् । चरन क्षेत्र पानीले डुबाएको भए पनि पशुवस्तुलाई डुलाउन पाइएको पशुपालक किसानको भनाइ छ ।

दुई–तीन दिनपछि पारिलो घाम लागेपछि लुगा धुने व्यवसायका धोबीलाई पनि राहत भएको छ । ‘धेरै दिनदेखि ग्राहकले धुन दिएका लुगा पानी परिरहेर घरमै थुप्रिएको थियो’, क्षीरेश्वरनाथ नगरपालिका–५ का अमिन साफी धोबीले भने, ‘अब भने काम गर्न पाइने भइयो ।’

नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए

काठमाडौं । खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमाडौंतर्फ नै फर्काएको छ ।

धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

आज बिहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको उनले बताए ।

शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ । विभागले आजसम्म भने देशका सबै प्रमुख नदीहरूमा जलसतह सामान्य र स्थिर रहेको जानकारी गराएको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले शनिबार दिउँसोसम्म सबै प्रमुख नदीहरूमा अवस्था सामान्य नै रहे पनि त्यसपछि भने केही नदीहरूमा पानीको बहाव बढ्न सुरु हुने जानकारी दिए ।

‘शनिबार राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ’, उनले भने, ‘आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्नेछ ।’

आइतबार रातिदेखि प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै जाने र कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने पराजुलीले जानकारी दिए । उल्लिखित पूर्वानुमानअनुसार बाढी र डुबान हुन सक्ने, पहिरो जान सक्ने क्षेत्रहरूमा उच्च सतर्कता आवश्यक रहेको उहाँको भनाइ छ ।

केही दिन मुख्य राजमार्ग नै प्रयोग गर्न सुझाव
सडक विभागले दसैँमा विभिन्न स्थानमा आवतजावत गर्ने सडक यात्रुहरूलाई केही दिन मुख्य राजमार्गको प्रयोग गर्न सुझाव दिएको छ । मुख्य राजमार्गमा नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सुरक्षाकर्मीको व्यवस्था हुनाका साथै बाटो मर्मतको कार्य पनि चाँडो हुने भएकाले मुख्य राजमार्ग प्रयोग गर्न विभागले सुझाएको हो ।

जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिइरहेको बेलामा विभागले सकेमम्म अनावश्यक रूपमा यात्रा नगर्न, यात्रा गरे पनि रातको समयमा यात्रा बढी जोखिमपूर्ण रहेकाले दिउँसो यात्रा गर्न सुझाएको छ ।

विजया दशमीका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने क्रम जारी रहेसँगै रातको समयमा यात्रा गर्दा पहिरोका कारण बढी धनजनको क्षति हुन सक्ने भएकाले सकेसम्म रातमा यात्रा नगर्न विज्ञहरूले पनि सुझाव दिएका छन् ।

विभागका प्रवक्ता प्रभातकुमार झाले असोज २० गतेसम्म बाढी पहिरो जस्ता मनसुनजन्य विपद्का घटनाहरू बढ्न सक्ने र यसले राजमार्ग अवरुद्ध गरेमा तत्काल बाटो खुलाउने प्रयास गरिने तयारी भइरहेको बताए ।

‘पहिरोका कारण राजमार्ग अवरुद्ध भएको अवस्थामा हामी जतिसक्दो चाँडो बाटो खुलाएर यातायात व्यवस्थालाई सहज त गर्ने प्रयास गर्छौं । तर अस्वाभाविक रूपमा बाढी पहिरो आएर फिल्डमा खटिनै गाह्रो भयो भने तत्कालका लागि केही गर्न सक्दैनौँ’, उनले भने, ‘तसर्थ केही दिन यात्रा नगरौँ । गर्नै परेमा मुख्य राजमार्ग प्रयोग गरौँ ।’

काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलको ‘पट्रोलिङ’ र ‘माइकिङ’

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा र कतिपय स्थानमा अतिभारी वर्षा हुन सक्ने प्रक्षेपण गरेसँगै सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझदेखि नै काठमाडौँका जोखिमयुक्त स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरेको छ ।

सम्भावित मनसुनजन्य विपदलाई मध्यनजर गर्दै चोभार, बल्खु, बालाजु, माछापोखरी र बनस्थलीलगायत स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरी बलले खोला किनार तथा डुबान हुन सक्ने सम्भावित ठाउँको पहिचान गरी त्यस इलाकाका बासिन्दालाई सुरक्षित रहन र तत्काल उद्धार आवश्यक परेमा १११४ मा तत्काल फोन गर्न समेत आग्रह गरेको हो ।

यसैबीच, सशस्त्र प्रहरीले सम्भावित जोखिम न्यूनीकरण र विपद् प्रतिकार्यका लागि देशभरका युनिटलाई आवश्यक श्रोत साधनसहित तयारी अवस्थामा राखेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटलाई विपद् पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको सहप्रवक्ता थापाले जानकारी दिए ।

विपद्को अवस्थालाई मध्यजनर राख्दै सशस्त्र प्रहरीका गोताखोर, विपद् उद्धार तालिम प्राप्त जनशक्ति, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, एम्बुलेन्सलगायत उपकरण तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

विपद् पूर्व तयारी र प्रतिकार्यबारे गृहमन्त्रीको चासो
यसैबीच, आजै गृहमन्त्री ओमप्रकाश अर्यालले सशस्त्र प्रहरी बलको उपत्यकास्थित इकाईको विपद् प्रतिकार्य पूर्व तयारी एवं परिचालनसम्बन्धी जानकारी लिनुभएको छ । सो अवसरमा कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल तथा उपत्यका स्थित युनिटका कमाण्डरहरुले विपद पूर्व तयारीबारे गृहमन्त्रीलाई जानकारी गराएको सहप्रवक्ता थापाले जानकारी दिए ।

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आज साँझको मौसमी बुलेटिन जारी गर्दै आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जानकारी दिएको छ ।

अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु शनिबार बिहानदेखि थप सक्रिय रहने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मौसमविद् प्रतिमा मानन्धरले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिँदै शनिबार र आइतबार मुुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा सोमबारदेखि भने मौसम क्रमिक रुपमा सुधार हुने जानकारी दिइन् ।  ‘हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ’, उनले भनिन् ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग र मधेस प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति भने कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका अधिकांश स्थानमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार दिउँसो भने देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने माहाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशकालगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराईका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ ।

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । आज (सोमबार) देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले बिहान ६ बजे २४ घण्टे बुलेटिन जारी गर्दै मौसम पूर्वानुमानबारे जानकारी गराएको छ ।

आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ । देशका पहाड भूभागका केही स्थान र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाड भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका पहाड भेगमा साधारणतया बदली र बाँकी ठाउँमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका पहाड भू–भागका केही स्थान र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल भारतको सिक्किम आसपास पानी पार्ने प्रणाली बनेको जनाएको छ । जसको प्रभाव नेपालको पूर्वी भू–भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यद्यपि मनसुनको न्यूनचापीय (पानी पार्ने प्रणाली) रेखा पूर्वमा सरदर स्थानमै छ । पश्चिमतर्फ भने सरदरभन्दा दक्षिणतिर अवस्थित छ ।
आज (आइतबार) दिउँसो देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशलगायत बागमती प्रदेश र गणडकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

गुल्मीको गर्जुराबाट देखिएको गज्जबको सूर्योदय

गुल्मीको पर्यटकीयस्थल रेसुङ्गाको गर्जुरा क्षेत्रबाट देखिएको सूर्योदयको दृश्य । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । तस्वीर : जनार्दन घिमिरे / रासस