आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल भारतको सिक्किम आसपास पानी पार्ने प्रणाली बनेको जनाएको छ । जसको प्रभाव नेपालको पूर्वी भू–भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यद्यपि मनसुनको न्यूनचापीय (पानी पार्ने प्रणाली) रेखा पूर्वमा सरदर स्थानमै छ । पश्चिमतर्फ भने सरदरभन्दा दक्षिणतिर अवस्थित छ ।
आज (आइतबार) दिउँसो देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशलगायत बागमती प्रदेश र गणडकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।