काठमाडौँका नदी करिडोरमा यस्तो छ विपद्–जोखिम न्यूनीकरणको तयारी


काठमाडौँ, १८ असोजः शनिबार साँझ बल्खुुस्थित बागमती नदी किनारका बस्तीमा बाढी पस्न थालिसकेको थियो । सम्भावित जोखिमलाई मध्यनजर गरी त्यहाँबाट मानिसलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गरियो, वरिपरी रहेका पसलका सामान सारियो ।
यस्तै, नदी किनारका सडकमा राखिएका सवारीसाधनलाई पनि त्यहाँबाट सुरक्षित स्थलतर्फ लगियो । फस्न लागेका मोटरसाइकललाई हतार हतार डुबान क्षेत्रबाट निकालिएको दृष्यले काठमाडौँमा बाढीको असर पर्न थालिएको अनुभूति भइसकेको छ । केही सञ्चारकर्मी र यात्रुले डुबानको दृश्यलाई कैद गरिरहेका थिए ।
पानी परिरहेको र थप जोखिम हुन सक्ने भएकाले डुबान भइरहेको बस्तीभित्र कोही पस्ने कुरा भएन । त्यही बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, हरी विकास सचिव गोपालप्रसाद सिग्देलसहितको टोली त्यहाँ पुगेको देखियो । उहाँहरूले मानवीय र भौतिक क्षति हुन नदिन सतर्कता अपनाउन सम्बन्धित निकाय र स्थानीय प्रशासनलाई निर्देशन गर्नुभयो ।
मन्त्री घिसिङसहितको टोलीले आज काठमाडौँभित्रको धोवीखोला करिडोर, मनोहरा, विष्णुमतीर, बागमती करिडोर, चोभार–गल्छीलगायत क्षेत्रमा निरीक्षण गरेको थियो । लतिपुरतर्फका करिडोरमा ललितपुर महानगरपालिका प्रमुख चिररिबाबु महार्जनसहितले पनि निरीक्षण गरेर विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका काममा जुटिरहेको देखियो ।
यहाँ रहेका नौ वटा स्वचालित बाढीमापन केन्द्रमध्ये बागमती खोकना केन्द्रमा तीन दशमलव पाँच मिटरको सतर्कता विन्दु रहेकामा साँझ ६ बजेसम्ममा तीन दशमलव ५८ मिटर पानीको सतह भइसकेको थियो । यस्तै, मनहरा खोला, बालकुमारी केन्द्रमा चार दशमलव चार मिटरसम्म खतरा तह मानिएकामा चार दशमलव ४३ मिटरको तह पुगिसकेको छ र यो बढ्दो क्रममा रहेको छ । यो बढ्दो क्रमले टेकु, बल्खु र सानेपास्थितका क्षेत्रमा खतराको घन्टी बजेको अनुभव गरिएको छ । च्यासलस्थित नेकपा (एमाले)को केन्द्रीय कार्यालय र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा बाढी पस्न थालेको छ ।
गत वर्ष असोजको दोस्रो साता पनि यस्तै गरी दुई दिनसम्म लगातार परेको वर्षाले ठूलो मानवीय र भौतिक क्षति गरेकाले यस वर्ष जल तथा मौसम विज्ञान विभागले हरेक तीन तीन दिनको मौसम पूर्वामानुमान प्रणाली सार्वजनिक गरी सतर्क रहन अनुरोध गर्दै आएको थियो । त्यसले पूर्वतयारीमा जुट्न राज्यका निकाय र जनसमुदायलाई केही सहज भएको छ । विभागको पूर्वानुमान अनुसार नै बागमती, गण्डकी, मधेस र लुम्बिनीका विभिन्न क्षेत्रमा आज बिहानदेखि पानी परिरहेको छ र यो क्रम आगामी तीन दिनसम्म रहने छ । अनुमानका कारण लामो र जोखिमयुक्त मार्गमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । मुलुकभित्रका आन्तरिक उडान सबै बन्द गरिएका छन् ।
रातिको समयमा अझ धेरै पानी पर्ने भएकाले तीनै तहका सरकार, सुरक्षा निकायसमेत परिचालन भई ती क्षेत्रमा मानवबस्तीलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने र सुरक्षाका अन्य उपाय अपनाउने क्रम जारी छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत् बागमती नदी वरिपरिका बासिन्दालाई बाढीले विस्थापन गर्ने ठुलो सम्भावना रहेकाले बाढी नघटुञ्जेलसम्म अस्थायी रूपमा बस्न व्यवस्था उपलब्ध गराउन त्यहाँ वरपरका विद्यालय र कलेजलाई आव्हान गर्नुभएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको आग्रहमा आफूले त्यहाँका विद्यालय र कलेजलाई आवश्यक निर्देशन दिन शिक्षा मन्त्रालयका सम्बन्धित शाखामार्फत निर्देशन दिएको उहाँले जनाउनुभएको छ ।
यस्तै, काठमाडौँ महागरपालिकाको विपद् व्यवस्थापन विभागले जोखिम भएका नदी किनार छेउछाउका बासिन्दालाई नजिकैको सुरक्षित विद्यालयमा स्थानान्तरण गर्न थालिसकेको छ ।
यही असोज २० गतेसम्म कोसीदेखि लुम्बिनी प्रदेशसम्मका काभ्रे, सिन्धुपाल्चोक, रसुवा मकवानपुर, बरा पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लामा मध्यमदेखि अति भारी वषौको पूर्वानुमान छ । त्यसबाट उत्पन्न हुनसक्ने विपद्को सामना गर्न सरकारी संयन्त्रहरू तयारी अवस्थामा देखिएका छन् । वर्षाका कारणले आउन सक्ने जोखिम व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाली सेनाका छ वटा हेलिकप्टर, अन्य निजी हेलिकप्टर, ड्रोन, तीन वटै सुरक्षा निकाय र प्रत्येक स्थानीय तहमा आवश्यक स्वयंमसेवकलाई तयारी अवस्थामा राखेको प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
अविरल वर्षापछि आउन सक्ने सम्भावित जोखिमका लागि सरकारी र गैरसरकारी निकायसँगको समन्वयमा सबै संयन्त्रलाई परिचालन गरिएको सरकारले सार्वजनिक रूपमा जनाइसकेको छ । विभिन्न राजनीतिक दलले पनि विज्ञप्ति जारी गरी विपद्पछिको अवस्था सामना र मानवीय सहयोगका लागि तयारी अवस्थामा रहेका जनाएका छन् ।