दलित समुदायको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ


सिरहा । सिरहामा दलित सुमदायको घर भत्काइ दिएको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । कल्याणपुर नगरपालिका–८ का रामकिशोर यादव पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ परेको हो । वडाध्यक्षसहित १३ जनाविरूद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी परेको जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी अनन्तराज शर्माले जानकारी दिए ।
उनका अनुसार सोमबारसम्म वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन्। बाँकीको खोजी कार्य भइरहेको छ । दशैंमा दुर्गा पुजाको क्रममा सोही वडाका दलित समुदायसँग विवाद भएको थियो । त्यही बेलामा अनधिकृत जग्गा (ऐलानी) मा बसेका ४-५ वटा घर भत्काइ दिएको एसपी शर्माले बताए ।
‘तीन वटा घर पूर्णरूपमा क्षति पुगेका छन् भने २ वटामा आंशिक छ,’ उनले भने, ‘लुटपाट भएको भन्ने कुरा पनि आएको छ । हामी अनुसन्धान गरिरहेका छौं ।’ यस घटनाबारे पीडित पक्षसँग कुराकानी भइरहेको उनले जानकारी दिए ।