निजी आवास पुनर्निर्माणको जिम्मा प्रदेश सरकारलाई


काठमाडौँ । हालैको बाढी र पहिरोबाट क्षति पुगेका व्यक्तिगत घरहरूको पुनर्निर्माण अब प्रदेश सरकारमार्फत हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले यसबारे जानकारी दिँदै प्रदेश सरकारले प्रमुख जिम्मेवारी लिने स्पष्ट पारेका छन् ।
पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खरेलले भने, ‘सरकारको निर्णयअनुसार व्यक्तिगत आवासको पुनर्निर्माण प्रदेश सरकार मातहत हुनेछ। संघीय सरकार र स्थानीय तहले आवश्यक सहयोग पुर्याउने छन् ।’
पहिलो चरणमा स्थानीय सरकारमार्फत राहत वितरण गर्ने तयारी पनि सरकारले गरिरहेको मन्त्री खरेलले बताएका छन् ।
राजमार्ग पुनः सञ्चालनको पहल
मन्त्री खरेलका अनुसार बाढी पहिरोले अवरुद्ध मेची राजमार्गलाई एक हप्ताभित्र अस्थायी रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । साथै, बीपी राजमार्ग पनि दुई–तीन दिनभित्र सञ्चालन हुने गरी काम अघि बढाइएको छ ।
जनधनको क्षति
मनसुनजन्य विपत्तिबाट हालसम्म ५२ जनाको ज्यान गएको, ५ जना अझै बेपत्ता रहेको र ४८ जना घाइते भएका जानकारी मन्त्री खरेलले दिए । चार हजारभन्दा बढी नागरिकलाई सुरक्षाकर्मीहरूले उद्धार गरिसकेको उनले बताएका छन् ।