जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छ : सीपी मैनाली


काठमाडौं । नेकपा (माले) का महासचिव सीपी मैनालीले राजसंस्था र प्रजातान्त्रिक शक्तिहरु मिलेर गए मात्रै देश बच्न सक्ने टिप्पणी गरेका छन् । बीपी कांग्रेसले काठमाडौँमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नु पर्छ भन्ने २०३३ सालको बीपीको बुझाइ अहिले पनि ज्वलन्त रहेको बताए । २०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरिए पनि विदेशीहरुको दबाबले गर्दा संविधान सभाद्वारा नै राजसंस्था हटाइएको बताए ।
‘अहिले जुन उहाँले विचार राख्नु भयो, अब बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ, प्रजातान्त्रिक शक्तिहरु मिलेर गएमात्रै देश बच्नसक्छ नत्र बच्न सक्दैन भन्ने बीपीको सोचाई अहिले आएर ज्वलन्त बनेको छ,’ मैनालीले भने, ‘जाज्वल्यमान बनेको छ । बीपीको २०३३ सालका विचारहरु राम्रा छन् । ९० वर्षको राजनीतिक दलको अनुभवले साँचो कुरा के रहेछ भन्ने कुरा देखिएको छ । २०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरियो । तर पछि विदेशीहरुको दबाबले गर्दा संविधान सभाद्वारा नै २०६५ सालको जेठ १५ गते राजसंस्था हटाइयो । देशलाई यो ठाउँमा ल्याउने हामी राजनीतिक दलहरू नै हौं । शान्ति क्षेत्रको प्रश्तावलाई हामी दलहरुले नै हो खारेज गरेको । हामी राजनीतिक दलहरुले नै हो खुकुलो नागरिकताको नीति लिएको ।’