`

मन्त्री घिसिङले गरे क्षतिग्रस्त बीपी राजमार्ग अवलोकन {तस्वीरहरु}

Nepal One HD २३ असोज २०८२ ११:०४
प्रमुख खबर

रामेछाप । यही भदौ १८ गतेको रोशी खोलाको बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अनुगमन गरेका छन् । बिहीबार बिहान मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित मन्त्री घिसिङ बीपी राजमार्गको अनुगमनमा गएका हुन् । उनले चौकीडाँडा खण्डको अनुगमन गर्दै बाढी पहिरोले बगाएको सडकको अस्थायी ट्रयाक चाँडै तयार गर्न निर्देशन दिएका छन् ।

बाढीले बीपी राजमार्गको करिब चार किलोमिटर सडक बगाएको छ । सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालन गर्न लागिएको हो । मन्त्री घिसिङले शुक्रबार साँझसम्म सडकको अस्थायी ट्रयाक तयार गर्न निर्देशन दिएका छन् । संघीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्ग चाडपर्वको बेला बन्द हुँदा यात्रीले सास्ती पाउँदै आएका छन् । बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिए ।

आफूले बाढीले क्षति पु¥याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत अनुगमन गरेको बताउँदै न्यौपानेले चौकिडाँडा र नेपालथोकका ठुला डाइभर्सन बनिसकेका र बाँकी क्षति पुगेको ठाउँमा पनि निर्माण कार्य जारी रहेको बताए । सम्भवतः भोलि साँझसम्म, नभए पनि पर्सि बिहानसम्म एकतर्फी सवारी सञ्चालन हुने उनले बताए । बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ठाउँ ठाउँमा सडक बगाएको छ । बगाएको सडकमा दुवै तर्फबाट निर्माणको काम भइरहेको छ । रोशीखोलाको पानीलाई सडक बगाएको ठाउँबाट डाइभर्ट गरी खोलाले बगाएको ठाउँ पुरेर सडक बनाउने काम भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *