माइतीघरबाट जेनजी अभियन्ता निकोलस भुसाल पक्राउ, सुरक्षा व्यवस्था कडा


काठमाडौं । माइतीघर मण्डलामा आन्दोलन गर्न पुगेका जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन् । जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन।
जेनजी आन्दोलनको एक महिना पूरा हुँदा पनि केही माग सम्बोधन नभएको भन्दै उनको समूहले प्रदर्शन आयोजना गरेको थियो । काठमाडौं जिल्ला प्रशासनले कुनै पनि धर्ना जुलुस र प्रदर्शन नगर्न यसअघि नै सूचना जारी गरेको थियो । सोही बमोजिम माइतीघर मण्डला लगायतका क्षेत्रमा कसैलाई पनि हुल बाँधर उभिन समेत दिइएको छैन । माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अहिले ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ । जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी शर्मा, गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । त्यसपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।
जेन–जीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा प्रहरीलै पठाएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा प्रहरीले पठाउने तयारी गरेको छ । एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिनेदेखि माइतीमा टाँगिएका ब्यानर हटाएर अर्को ब्यानर राख्ने प्रयास भएपछि सुरक्षा चुनौती बढेको थियो । त्यसपछि माइतीघर बानेश्वर क्षेत्रमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।