`

रातभरको प्रयासपछि राहत : आजदेखि खुल्दै बीपी राजमार्ग

Nepal One HD २४ असोज २०८२ ७:४३
समाचार

काठमाडौं । लगातारको झरी र भेलबाढीले बन्द रहेको बीपी राजमार्ग आज (शुक्रबार) दिउँसो ४ बजेसम्म सञ्चालनमा आउने भएको छ ।सडक विभागको तर्फबाट रातभर डोजर चलाएर डाइभर्सन पुनर्निर्माण गरेपछि राजमार्ग सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको हो ।

गत असोज १७ र १८ गतेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले राजमार्गको ५.३ किलोमिटरमध्ये ३.४ किलोमिटर डाइभर्सन बगाएको थियो । सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादले भने, ‘हिजो रातभर नसुती काम गर्‍यौ । माथिल्लो माम्तीमा ४०–५० टिपर माटो भरिसकेपछि त्यो पूर्ण हुँदैछ । तल्लो माम्तीमा खोला डाइभर्सनको काम भइरहेकाले आज दिउँसोसम्ममा राजमार्ग सञ्चालनमा ल्याउनेछौं ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार स्थलगत अवलोकन गरी काम छिटो गर्न निर्देशन दिएका थिए । त्यसयता काममा तीव्रता आएको इन्जिनियर दुर्गाले जनाए । पछिल्लो समय बिपी राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरू वैकल्पिक मार्गमार्फत् रामेछापको मन्थली, दोलखाको चरिकोट हुँदै खाडीचौरबाट अरनिको राजमार्ग प्रयोग गरी काठमाडौं आउजाउ गरिरहेका छन् । तर ती सडकहरू साँघुरा र कतिपय स्थानमा एकतर्फी हुँदा यात्रुहरू सास्तीमा परेका छन् ।

गत वर्ष पनि यस्तै बाढीले राजमार्गको करिब २४ किलोमिटर भाग क्षतिग्रस्त बनाएपछि हिउँदमा अस्थायी डाइभर्सनमार्फत सञ्चालनमा ल्याइएको थियो । यसपालि मनसुन सुरु हुनु अगावै सुधार गरिए पनि असोजको वर्षाले फेरि क्षति पुर्‍याएको हो । बीपी राजमार्ग विसं २०७२ मा जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १.१ अर्ब लागतमा निर्माण गरिएको हो । निर्माण कार्य आर्थिक वर्ष २०५३/५४ मा सुरु भई २०७२ असार १८ गते सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *