`

सरकारले सुरक्षाकर्मी घटाएपछि प्रचण्डलाई पूर्व लडाकुको सुरक्षा

Nepal One HD २४ असोज २०८२ १३:५७
प्रमुख खबर

काठमाडौँ । सरकारले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी कटौती गरेपछि पूर्व लडाकुले सुरक्षा दिन थालेका छन् । वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सुरक्षामा पूर्व लडाकु ब्याकग्राउण्डका वाईसीएलको टोली खटिएका हुन् ।

उनले भने, ‘पछिल्लो परिस्थितिमा उहाँलाई सुरक्षा थ्रेट हुनसक्ने भएकाले हामीले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली खटाएका छौँ ।’ स्रोतका अनुसार प्रचण्डको सुरक्षामा पूर्व लडाकु समेत छन् । उनीहरूलाई तीन तहको सुरक्षा घेरामा परिचालन गरिएको छ । सबैभन्दा भित्री घेरामा विशेष तालिमप्राप्त पूर्व लडाकुहरू छन् ।

बाहिरी घेरामा वाईसीएलको फिल्डमा खटिने गरेको टोली छ । अर्को टोली गोप्य सूचना संकलनको उद्देश्यसहित परिचालन गरिएको छ । यो टोलीले ‘इन्टेलिजेन्स’ को जस्तो भूमिका निर्वाह गर्नेछ । प्रचण्डको यात्रामा स्कर्टिङ गर्नुपरेमा पनि केन्द्र र सम्बन्धित जिल्लाको वाईसीएलको विशेष टिम खटिने गरी व्यवस्था मिलाइएको छ । १० वर्षसम्म सरकारविरुद्ध सशस्त्र संघर्ष गरेको माओवादी शान्ति प्रक्रियामा आएपछि सशस्त्र लडाइँ लडेकाहरूलाई समेत समेटेर योङ कम्युनिस्ट लिग (वाईसीएल) को रूपमा युवा संगठन बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *