मलाई आफ्नै भाषण सुनें भने ज्योतिषी जस्तो लाग्छ : प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कहिलेकाहीँ ज्योतिषी जस्तो लाग्ने बताएका छन् । प्रेस सेन्टरले आज (शुक्रबार) आयोजना गरेको सम्पादकसँगको छलफलमा अध्यक्ष प्रचण्डले आफूले जे भन्दै आएको हो त्यही पुगेकाले ज्योतिषी जस्तो लाग्ने बताएका हुन् ।
‘तीन पार्टीका तीन नेता उस्तै हुन् भन्ने न्यारेटिभमा हाम्रो चित्त दुखेको छ । मलाई आफ्नै पुरानो भाषण सुनेँ भने ज्योतिषीले बोले जस्तो लाग्छ, जे भन्यो त्यही भएको छ,’ उनले भने । अध्यक्ष प्रचण्डले बेलाबेला ठूलो विद्रोह हुने बताउँदै आएका थिए । जनताको असन्तुष्टि चुलिएकाले जनताले नागरिकले सिंहदरबार, बालुवाटार घेर्ने बताउने गरेका थिए । प्रचण्डको यही भनाइ टिपेर केही दिनअघि ओलीले पनि टिप्पणी गरेका थिए ।
अध्यक्ष ओलीले बिहीबार मात्रै जेनजी अघि सारेर माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायत दल आन्दोलनको पछाडि बसेको समेत आरोप लगाएका थिए । अध्यक्ष प्रचण्डले जेनजीको मागमा आफूहरूको समर्थन रहेको पनि बताए । जेन–जी विद्रोहलाई सम्मान नगर्ने हो भने मुलुक पछाडि पर्ने उनको भनाइ थियो । ‘नैतिक र राजनीतिक दृष्टिले हामी त्यसको सम्मान गर्छौं । यसलाई सम्बोधन गर्न सकिएन भने हामी पछाडि पर्छौं,’ उनले भने । उनले अहिलेको आवश्यकता फागुन २१ गते तोकिएको निर्वाचन सफल गराउनु नै रहेको उनको भनाइ थियो।‘जेनजीले मागकै कारण नेतृत्व छोडेर महाधिवेशनमा जान लागेको हुँ । म निवृत्त जीवन बिताउन्न । तर म पार्टी प्रमुख भइरहनु पर्छ भन्ने छैन । पुरानो नेतृत्वले अब बिना भूमिकामा काम गर्नेछ,’ उनले भने ।