`

भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार

Nepal One HD २४ असोज २०८२ १५:२३
प्रमुख खबर

ओस्लो । भेनेजुएलाकी विपक्षी कार्यकर्ता मारिया कोरिना मचाडोले शुक्रबार प्रतिष्ठित नोबेल शान्ति पुरस्कार जितेकी छन् । नर्वेजियन नोबेल समितिका अध्यक्ष जोर्गन वाटने फ्राइड्नेसले मचाडोलाई ‘गहिरो रूपमा विभाजित राजनीतिक विपक्षमा साझा आधार फेला पार्ने एकीकृत र साहसी नेतृत्वको प्रतीक’ भएको भन्दै सम्मानित गरे ।

उनले भने, ‘गत वर्ष मिस मचाडोलाई लुकेर बस्न बाध्य पारियो । उहाँको जीवन विरुद्ध गम्भीर खतराहरूका बावजुद, उहाँले देशमा रही लाखौँलाई प्रेरित गर्नुभएको छ । अधिनायकवादीहरूले सत्ता कब्जा गर्दा उठ्ने र प्रतिरोध गर्ने स्वतन्त्रताका साहसी रक्षकहरूलाई चिन्न महत्वपूर्ण हुन्छ ।’

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको सरकारले गत वर्षको राष्ट्रपति चुनाव अघि मचाडोलाई अयोग्य ठहर गर्दै उनको चुनावी उम्मेदवारीलाई रोकेको थियो । उनलाई विस्थापित गरी एडमुन्डो गोन्जालेजलाई उम्मेदवार बनाइएको थियो । यसअघिका निर्वाचनमा व्यापक दमन, मानव अधिकार उल्लङ्घन र गिरफ्तारी जस्ता चुनौतीहरू देखिएका थिए ।

निर्वाचन परिषद्ले गोन्जालेजलाई विजेता घोषणा गरेपछि देशभर विरोध प्रदर्शन भड्कियो । प्रदर्शनमा २० जनाभन्दा बढीको मृत्यु भएको थियो । यी विरोधहरूले भेनेजुएला र अन्य विदेशी राष्ट्रहरूबीच कूटनीतिक सम्बन्धमा तनाव सिर्जना गर्‍यो । मचाडो यस अवधिमा लुकेका थिए र जनवरीदेखि सार्वजनिक रूपमा देखा परेका छैनन् ।

नोबेल समितिले प्रायः शान्तिको स्थायित्व, अन्तर्राष्ट्रिय भ्रातृत्व प्रवर्द्धन र सम्बन्धित संस्थाहरूको शान्त कार्यलाई सम्मान गर्दै पुरस्कार प्रदान गर्दछ । गत वर्षको पुरस्कार जापानी आणविक विस्फोटबाट बचेका निहोन हिडान्क्योलाई दिइएको थियो । उक्त संस्थाले आणविक हतियारको प्रयोगको वरिपरि रोक कायम राख्न दशकौँसम्म काम गरेको छ ।

शान्ति पुरस्कार नर्वेको ओस्लोमा वार्षिक रूपमा प्रदान गरिन्छ । यसैबीच, स्विडेनको स्टकहोममा यस हप्ता चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यका पुरस्कारहरू वितरण भइसकेका छन् भने अर्थशास्त्रको पुरस्कार विजेताको घोषणा सोमबार हुने अपेक्षा गरिएको छ । रासस / एपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *