चुनाव नै निकास हो, विद्रोह विकल्प होइन : जेनजी नेपाल


काठमाडौं । ‘जेनजी नेपाल’ नामले परिचित युवाहरुको समूहले विद्रोहको लहरलाई चुनावी प्रक्रियाबाटै संस्थागत गर्नुपर्ने बताएको छ । समूहकी प्रतिनिधि रक्षा बमले शीतल निवासमा आयोजित छलफलपछि राजनीतिक दलहरुलाई निर्वाचनमा सहभागी हुन खुला अपिल गरेकी छन् । उनले भनिन्, ‘हाम्रो विद्रोहले दलहरुलाई नकारेको होइन, तर अविश्वासले झस्काएको हो । समाधान भनेको आवेग होइन, चुनाव हो ।’
निर्वाचनलाई परिवर्तनको मूल मञ्च मान्दै अपिल
‘अब आवश्यक कुरा विद्रोहको आवेग होइन, न त विद्रोहलाई गिज्याउने शैली हो’ भन्दै उनले राजनीतिक दलहरूमाथि गम्भीर प्रश्न उठाइन्, ‘या त जनताको विश्वास पुनःआर्जन गर्ने साहस देखाउनुहोस् वा इतिहासको परित्यक्त पानामा हराउन तयार रहनुहोस् ।’ उनको भनाइमा नेपाल अहिले नयाँ युगको प्रवेशद्वारमा उभिएको छ । राजनीतिक नेतृत्वको ढिलो निर्णय वा निष्क्रियता सिंगो पुस्ताको ऊर्जा र आकांक्षामा धक्का पुग्ने उनले चेतावनी दिइन् ।
जेनजी र दलहरूको सहमतिको संकेत ?
यो समूहमा प्रदीप ज्ञवाली, युजनराज भण्डारी, मनिष खनाल जस्ता ती अभियन्ताहरू छन्, जसले भदौ २३ को पहिलो दिन आन्दोलन आह्वान गरेका थिए । शीतल निवासमा शनिबारको छलफलमा सहभागी यी अभियन्ताहरुले देशको राजनीतिक समाधान पुनः चुनावी प्रक्रियाबाट खोजिनु पर्नेमा जोड दिएका छन् । ‘पाखा पल्टिने होइन, मार्ग तय गर्ने समय आएको छ’, रक्षा बमको भनाइ थियो ।
‘निर्वाचन राष्ट्रको साझा राजनीतिक जिम्मेवारी’
अपिलमा भनिएको छ, ‘परिवर्तनको म्यान्डेट जनताको हातमा सुम्पिने यो घडीमा सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, जेन–जी साथीहरू, युवा पुस्ता र सम्पूर्ण नेपाली नागरिक निर्वाचनमा लाग्न आवश्यक छ ।’