`

गाजामा बन्दी रिहाइमा भाग लिन ट्रम्प इजरायल प्रस्थान, छुट्लान् विपिन ?

Nepal One HD २७ असोज २०८२ ८:३४
प्रमुख खबर

काठमाडौं । हमासले बन्धक बनाएका बन्दीहरुलाई मुक्त गराउने विशेष समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल प्रस्थान गर्दैछन् । गाजाबाट बन्धकहरूलाई मुक्त गर्न हालै भएको युद्धविराम सम्झौता औपचारिक रुपमा कार्यान्वयन गराउने समारोहमा सहभागी हुन उनी इजरायल जान लागेका हुन् ।

गाजामा हमासले नियन्त्रणमा लिएर राखेका सबै बन्धकहरूलाई मुक्त गर्ने अन्तिम समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे तोकिएको छ । इजरायल र हमासबीचको युद्ध सन् २०२३ अक्टोबर ७ मा हमास–नेतृत्वको इजरायलका दक्षिणी भागमा भएको आक्रमणपछि सुरु भएको थियो ।

विपिनको अवस्था अझै अज्ञात

त्यस आक्रमणमा १० नेपालीसहित करिब १,२०० मानिस मारिएका थिए । कञ्चनपुरका विपिन जोशीसहित २५१ जना बन्धक बनाइएका थिए । विपिनको अवस्था अझै थाहा हुन नसकेको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जनाएका छन् ।

त्यसपछि इजरायलले युद्ध घोषणा गर्दै सैन्य कारबाही तीव्र पारेको थियो । इजरायलको आक्रमणको कारण गाजामा ६७ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमा १८ हजार भन्दा बढी बालबालिका रहेको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ट्रम्पको मध्यस्थतामा गत शुक्रबार बिहानदेखि युद्धविराम लागू भएको थियो । यो २० बुँदे शान्ति योजनाको पहिलो चरण अन्तर्गत हमासले बन्धक बनाएका बन्दीहरुलाई रिहाइ गरिने छ । बाँकी कामहरु अरु वार्तामार्फत् तय गर्ने अधिकारीहरुले बताएका छन् ।

पहिलो चरणमा इजरायलका करिब २० जना बन्धकहरू जीवित रहेको विश्वास गरिएको छ, भने हमासले २८ जना मृतक बन्धकहरूको शव पनि फिर्ता गर्ने तयारी गरेको बताइएको छ ।

सम्झौताअनुसार, इजरायलले करिब २५० जना प्यालेस्टिनी कैदी र गाजाका १,७०० बन्दीलाई मुक्त गर्नेछ । इजरायली सरकारका प्रवक्ताले हमासबाट मुक्त भएका जीवित बन्धकहरू इजरायली भूभागमा पुगेपछि मात्र कैदीहरूलाई मुक्त गरिने बताएका छन् । साथै उनले गाजामा सहायता सामग्रीको परिमाण पनि बढाइने बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *