`

पितृकार्यकै बेला छोरा विपिन अस्ताएको खबर सुनेपछि…

महेन्द्रनगर । महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपिन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो । गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपिनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो । सोमबार दिनभरजसो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा विपिनबारे मिश्रित समाचारहरु आइरहेका बेला विपिनका बुबा महानन्द भने भीमदत्त नगरपालिका–१ स्थित दाजुको घरमा पितृकार्य (श्राद्ध) मा व्यस्त थिए ।

तीन दाजु-भाइमा महानन्द कान्छा हुन् । ‘उहाँ कान्छाबुबाको श्राद्धका लागि पितृकार्यमा जुटेकै बेला विपिन अस्ताएको खबर सुनेपछि सन्नाटा छायो’, जोशी परिवारका एक सदस्यले भने, ‘कान्छाबुबाको श्राद्धकै दिन दुई वर्षदेखि पर्खिरहेको छोरा सधैँका लागि नआउने खबरले परिवार स्तब्ध भएको छ ।’

सोमबार बिहान विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग भिडियो ‘कन्फेरेन्स’ मा विपिन नरहेको विषयमा छलफल भए पनि विपिनका दाजु किशोर जोशीले भाइ फर्किन सक्ने आशा जीवितै रहेको बताइरहेका थिए । तर विपिन जीवित नरहेको खबरले परिवार मात्रै नभई सिङ्गो गाउँ स्तब्ध छ । भीमदत्त नगरपालिका–३ का वडा सदस्य मीना ठगुन्नाले विपीनका विषयमा उनका परिवारलाई आधिकारिक जानकारी प्राप्त नभएको जानकारी दिइन् ।

‘विपिन जीवित नरहेको विषय सार्वजनिक हुँदा हमासले शव इजरायललाई दिने प्रक्रिया अघि बढाएको भनिए पनि उनको परिवार शवको पुष्टि नहुँदासम्म आधिकारिक मान्न तयार छैन’, वडा सदस्य ठगुन्नाले भने, ‘हिजोदेखिको विपिनको खबरले सबैतिर सन्नाटा छाएको छ ।’ उनले विपिनका परिवारजन एक–दुई दिनभित्र काठमाडौँ जाने तयारी रहेको जानकारी दिइन् । विपिनका आमा पद्म र बहिनी पुष्पा रिहाइका लागि दबाब दिन अमेरिका पुगेका थिए । उनीहरु अझै स्वदेश फर्किसकेका छैनन् ।

हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, दुई बर्षअघि नै हत्या

काठमाडौं । हतियारीधारी समूह हमासले सोमबार बुझाएका चार जनाको शवको पहिचान भएको इजरायली सेनाले जानकारी दिएको छ । तीमध्ये नेपालका विपिन जोशीको शव पनि पहिचान भएको इजरायली सेनाले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

इजरायली सेनाले विपिनसहित चार जनाकै शव पहिचान भएको जानकारी दिँदै दुई जनाको नाम सार्वजनिक गरेको र थप दुई जनाको नाम परिवारको सहमतिपछि सार्वजनिक गर्ने समाचारमा जनाइएको छ। विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ ।इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावास स्रोतले जनाएको छ ।

‘हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भयो । उनको प्राकृतिक मृत्यु नभइ हत्या नै भएको रिपोर्ट पाएका छौं,’ स्रोतले भन्यो । उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) ले सैनिक अस्पताल लगेर डीएनए गरेको थियो । यसबारे नेपाली इजरायलस्थित दूतावासले औपचारिक रुपमा जानकारी गराएको छैन । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि अहिलेसम्म जानकारी नभएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई यसको औपचारिक जानकारी भएपछि विपिनको डीएनए परीक्षणको रिपोर्टबारे सार्वजनिक गराउने तयारी रहेको स्रोतको भनाइ छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।

 

इजरायल सरकारले नै विपिनको शव नेपाल पठाइ दिने, अस्पतालमा ‘डिएनए’ परीक्षण हुँदै

काठमाडौं । हमासको अपहरणपछि मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत धनप्रसाद पण्डितले हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षण गरेपछि मात्र पुष्टि हुने बताए । रिपोर्ट आउन करिब ४ घण्टा लाग्ने भनिएको छ । त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया सुरु हुने उनले जानकारी दिएका छन् । इजरायल सरकारले नै कफिनमा बन्द गरेर शव नेपाल पठाइदिने छ । त्यसका लागि अझै केही दिन लाग्ने अनुमान गरिएको उनले बताएका छन् ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए । त्यसपछि उनको अवस्था अज्ञात थियो । इजरायल र हमासबीच युद्धविराम भएपछि मंगलबार बिहान मात्रै इजरायली सेनाका अधिकारीले विपिनको मृत्यु भएको पुष्टि भएको औपचारिक जानकारी दिएका थिए । बन्दीहरु मुक्त गर्ने क्रममा हमासले विपिनको शव मंगलबार हस्तान्तरण गरेको हो ।

विपिनका आफन्त भन्छन्–हामी अझै आशामा छौं

महेन्द्रनगर । विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ । उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले जानकारी गराएको बताए ।

‘आज छुट्ने लिष्टमा विपिनको नाम छैन फेरि पनि हामी निरन्तर अपडेट गर्छौँ भनेर इसरायलबाट भनिएको छ’, जोशीले भने, ‘अहिले छुट्नेमा विपिनको नाम नरहे पनि हामी उहाँ छुट्नेमा पूर्ण आशावादी छौँ, अहिले नै उहाँ छैनन् भन्न मिल्दैन ।’ जोशीका अनुसार इजरायली प्रतिनिधि, संयुक्त राज्य अमेरिकाबाट विपिनका आमा र बहिनी, इजरायलस्थित नेपाली राजदूत र आफूसहितको भिडियो कन्फरेन्स आज बिहान भएको बताए ।

विपिनको नाम जीवित बन्दको सूचीमा नरहेको समाचारहरू प्रकाशित भइरहेका बेला विपिनको परिवारजनले भने अर्को चरणमा छुट्नेमा आशा रहेको जनाएको छ । दुई वर्षको अवधिमा भएका युद्धविराम र बन्दी साटासाट क्रममा हमासले २०० भन्दा बढी बन्धक यसअघि नै छाडेको थियो । विपिनको सकुशल रिहाइका लागि उहाँको परिवार र नेपाल सरकार लामो समयदेखि प्रयासरत छन् । विपिनका आमा र बहिनी उहाँको खोजी कार्यमा पहलकदमी गरिदिन गुहार माग्न अमेरिका पुगेका छन् भने बुवा महानन्द जोशी महेन्द्रनगरमा छोरा विपिनको व्यग्र प्रतीक्षामा छन् ।

हमासले छाड्यो सात बन्धक, विपिनको स्थिति अज्ञात

काठमाडौं । प्यालेस्टिनी समूह हमासले बन्धकहरु रिहा गर्न थालेको छ । हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकमध्ये पहिलो चरणमा सात बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रस समक्ष हस्तान्तरण गरेको इजरायली अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । उनीहरुलाई हमास लडाकुहरुले उत्तरी गाजाबाट रिहा गरेका हुन्।

यससँगै बन्धकको रिहाइका लागि तेल अभिभको होस्टेज स्क्वायरमा पर्खिरहेका हजारौं नागरिकले खुशीयाली मनाउन थालेका छन् । अन्तर्राष्ट्रिय रेडक्रसले हमास र इजरायलबीचको सहमतिअनुसार बन्धकहरुलाई विभिन्न चरणमा रिहाइ गरिने जनाएको छ । दुई वर्षभन्दा लामो संघर्षपछि हुने यो रिहाइलाई शान्ति र आशाको संकेतका रूपमा हेरिएको छ ।

इजरायली अधिकारीका अनुसार बन्धकहरूलाई तीन चरणमा रिहा गरिनेछ । यीमध्ये धेरैजसो बन्धकहरू इजरायली नागरिक हुन्, तर केही विदेशी नागरिक पनि छन् । हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने सूचीमा छैनन् । सीएनएन लगायत अन्तर्राष्ट्रिय संचार संस्थाले प्रकाशित गरेका समाचारमा विपिनसहित दुई जनाको अवस्था अज्ञात रहेको उल्लेख गरेका छन् । इजरायलस्थित नेपाली अधिकारीहरूले पनि विपिन जोशीको अवस्थाबारे अझै अनिश्चितता रहेको जनाएका छन् ।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजै इजरायल पुग्दैछन् । उनले बन्धकका परिवारसँग भेट गर्ने, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग छलफल गर्ने र त्यसपछि गाजा संकटका विषयमा इजिप्टमा हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । हमासद्वारा बन्धकहरूको रिहाइ शान्ति प्रक्रियाको निर्णायक कदमको रूपमा हेरिएको छ । तर विपिन जोशीसहितका अन्य बेपत्ता व्यक्तिहरूको अवस्था अझै अनिश्चित रहँदा, परिवार र आफन्तहरू अझै पनि प्रतीक्षामा छन् ।
यी मान्यताहरू कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम छ । गत साल एआईको थियो ।’ आफूले भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने उनको भनाइ छ ।

 

हमासद्वारा रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक, छैन विपिन जोशीको नाम

काठमाडौं । हमासले आज (सोमबार) रिहा गर्न लागेका २० बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको नाम छैन ।
बीबीसीका अनुसार सर्वजनिक गरिएका सूचीमा रहेका नाम यस प्रकार छन् :

बार कुपरस्टाइन, एव्यातार डेविड, योसेफ–चाइम ओहाना, सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट , म्याक्सिम हेरकिन, निमरोड कोहेन, माटान झाङाउकर, डेभिड कुनीओ, एइतान होर्न, माटान एन्ग्रेस्ट, एइतान मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरान, अलोन ओहेल, गाइ गिल्बोआ–डलाल, रोम ब्रास्लाब्स्की एरिएल कोनियो ।

कसरी हुन्छ बन्दी आदान–प्रदान हुन्छ ?
इजरायल–हमास युद्धविराम सम्झौताको एक भागको रूपमा कुल ४८ जना बन्धकहरूलाई आजबाट रिहा गरिने अपेक्षा गरिएको छ । ७ अक्टोबर २०२३ मा पक्राउ परेकाहरूमध्ये २० जनालाई जीवित, २५ जना मृत र अन्य दुई जनाको अवस्था अझै अज्ञात रहेको सीएनएनले रिपोर्ट गरेको छ ।

गाजामा बन्धक रहेकामध्ये अधिकांश इजरायली नागरिकहरू छन् । चार विदेशी नागरिकमध्ये दुई थाइल्याण्डका, एक तान्जानियाका र एक नेपालका विपिन जोशी हुन् । जोशीको अवस्था अज्ञात रहेको सीएनएनको समाचारमा उल्लेख छ । इजरायली सरकारले उनको लागि गम्भीर चिन्ता व्यक्त गरेको समाचारमा उल्लेख छ ।

जीवित रहेको विश्वास गरिएका बाँकी सबै बन्धकहरू पुरुष हुन् । मृतक बन्धकहरूमध्ये एक, इनबार हेमन, महिला हुन् । हमास र अन्य लडाकू समूहहरूले अक्टोबर ७, २०२३ को आतंकवादी हमलाको क्रममा इजरायलबाट २५१ जनालाई अपहरण गरेका थिए ।

इजरायली सरकारले आज बन्धकहरूको रिहाइ कसरी हुने अपेक्षा गरिएको छ भन्ने योजना बनाएको समाचारमा उल्लेख छ । यो बन्धक र कैदीहरूको लागि पहिलो आदानप्रदान होइन । अघिल्ला आदानप्रदानहरूमा, हमासले अपहरण गरिएका व्यक्तिहरूलाई हस्तान्तरण गर्नुअघि समारोहहरू आयोजना गर्ने गरिएको थियो ।

इजरायलको प्रधानमन्त्री कार्यालयका प्रवक्ता शोश बेद्रोसियनका अनुसार तर यस पटक, हमासको प्रचार प्रदर्शन गरिने छैन र प्यालेस्टिनी लडाकू समूहद्वारा कुनै बिरामी प्रदर्शन गरिने छैन । यसको सट्टा, गाजामा राखिएका २० जीवित बन्धकहरूलाई रेडक्रसमा रिहा गरिनेछ र ६ देखि ८ सवारी साधनहरूमा ढुवानी गरिनेछ । इजरायली सरकारका अनुसार, तीन फरक अस्पतालमा उपचारको लागि पठाउनुअघि बन्धकहरूलाई तिनीहरूका परिवारहरूसँग पुनर्मिलन गरिनेछ ।

 

गाजामा बन्दी रिहाइमा भाग लिन ट्रम्प इजरायल प्रस्थान, छुट्लान् विपिन ?

काठमाडौं । हमासले बन्धक बनाएका बन्दीहरुलाई मुक्त गराउने विशेष समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल प्रस्थान गर्दैछन् । गाजाबाट बन्धकहरूलाई मुक्त गर्न हालै भएको युद्धविराम सम्झौता औपचारिक रुपमा कार्यान्वयन गराउने समारोहमा सहभागी हुन उनी इजरायल जान लागेका हुन् ।

गाजामा हमासले नियन्त्रणमा लिएर राखेका सबै बन्धकहरूलाई मुक्त गर्ने अन्तिम समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे तोकिएको छ । इजरायल र हमासबीचको युद्ध सन् २०२३ अक्टोबर ७ मा हमास–नेतृत्वको इजरायलका दक्षिणी भागमा भएको आक्रमणपछि सुरु भएको थियो ।

विपिनको अवस्था अझै अज्ञात

त्यस आक्रमणमा १० नेपालीसहित करिब १,२०० मानिस मारिएका थिए । कञ्चनपुरका विपिन जोशीसहित २५१ जना बन्धक बनाइएका थिए । विपिनको अवस्था अझै थाहा हुन नसकेको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जनाएका छन् ।

त्यसपछि इजरायलले युद्ध घोषणा गर्दै सैन्य कारबाही तीव्र पारेको थियो । इजरायलको आक्रमणको कारण गाजामा ६७ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमा १८ हजार भन्दा बढी बालबालिका रहेको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ट्रम्पको मध्यस्थतामा गत शुक्रबार बिहानदेखि युद्धविराम लागू भएको थियो । यो २० बुँदे शान्ति योजनाको पहिलो चरण अन्तर्गत हमासले बन्धक बनाएका बन्दीहरुलाई रिहाइ गरिने छ । बाँकी कामहरु अरु वार्तामार्फत् तय गर्ने अधिकारीहरुले बताएका छन् ।

पहिलो चरणमा इजरायलका करिब २० जना बन्धकहरू जीवित रहेको विश्वास गरिएको छ, भने हमासले २८ जना मृतक बन्धकहरूको शव पनि फिर्ता गर्ने तयारी गरेको बताइएको छ ।

सम्झौताअनुसार, इजरायलले करिब २५० जना प्यालेस्टिनी कैदी र गाजाका १,७०० बन्दीलाई मुक्त गर्नेछ । इजरायली सरकारका प्रवक्ताले हमासबाट मुक्त भएका जीवित बन्धकहरू इजरायली भूभागमा पुगेपछि मात्र कैदीहरूलाई मुक्त गरिने बताएका छन् । साथै उनले गाजामा सहायता सामग्रीको परिमाण पनि बढाइने बताएका छन् ।

 

हमासले गाजामा किन गर्‍यो ठूलो संख्यामा लडाकु परिचालन ?

काठमाडौं । इजरायलको सेनाले खाली गरेको गाजाका क्षेत्रहरूमा हमासले ठूलो संख्यामा आफ्नो सुरक्षा बलका सदस्यलाई परिचालन गरेको छ । ती क्षेत्रमा आफ्नो पकड जमाउन हमासले सात हजारको संख्यामा आफ्ना सदस्य तैनाथ गरेको बीबीसीको खबरमा उल्लेख छ ।
प्यालेस्टिनी समूहले पनि पाँच जना नयाँ गभर्नर नियुक्त गरेका छन् । ती सबै सैन्य पृष्ठभूमिका छन् ।

फोन र म्यासेजमार्फत् परिचालनको आदेश दिइएको खबरमा उल्लेख छ । हमासका सशस्त्र इकाईहरू विभिन्न जिल्लाभर परिचालन गरिएका छन् । यस्तै हमासले पाँच नयाँ गभर्नरहरू पनि नियुक्त गरेको छ । जसमध्ये केहीले पहिले हमासको सशस्त्र शाखामा ब्रिगेडहरूको नेतृत्व गरेका थिए ।

रिपोर्टका अनुसार, हमासले फोन कल र टेक्स्ट सन्देशहरू मार्फत् यो आदेश जारी गरेको थियो । सन्देशमा भनिएको छ,’ कि यसको लक्ष्य गाजालाई अपराधी र इजरायलका सहयोगीहरूबाट मुक्त गर्नु हो ।’ लडाकुहरूलाई २४ घण्टा भित्र रिपोर्ट गर्न भनिएको थियो ।
गाजाबाट प्राप्त रिपोर्टहरूका अनुसार, हमासका सशस्त्र एकाइहरू पहिले नै धेरै क्षेत्रहरूमा तैनाथ भइसकेका छन् ।

केहीले सामान्य पोशाकमा र अरूले गाजा प्रहरीको नीलो पोशाक लगाएका छन् । दुघमाश जनजातिका बन्दुकधारीहरूले हमासको विशेष टोलीका दुई सदस्यलाई गोली हानी हत्या गरेपछि गाजा शहरको साब्रा क्षेत्रमा तनाव तीव्र गतिमा बढेको थियो । उनीहरूको शव सडकमा छाडिएको थियो ।

जसले गर्दा आक्रोश फैलियो र हमासबाट ठूलो बदलाको डर बढेको बताइएको छ । त्यसपछि हमासका सदस्यहरूले एउटा ठूलो क्षेत्रलाई घेरे जहाँ मेसिन गन र विस्फोटक पदार्थले सशस्त्र लगभग ३०० कुख्यात बन्दुकधारीहरू लुकेको भनिएको थियो । यसैबीच, इजिप्टको राष्ट्रपति कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य २० नेताहरू सोमबार इजिप्टमा गाजा युद्धमा हुने शिखर सम्मेलनमा भेट्ने बताएको छ ।

प्रधानमन्त्री कार्कीलाई भेटेपछि विपिनकी बहिनी र आमा : आमाको पीडा बुझ्नु होला नि !

काठमाडौं । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटका छन् । आइतबार सिंहदरबार पुगेर बिपिनका आमा र बहिनीले रिहाईका लागि निरन्तर पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटपछि बिपिनका आमा पद्मा जोशीले यसअघिको सरकारले पहल गर्ने आश्वासन दिदा पनि केहि नजिता नआएकाले अबको सरकारप्रति आशा राखेको बताइन् ।

त्यस्तै विपिनका बहिनी पुष्पा जोशीले अहिले प्रधानमन्त्री पदमा आमा नै रहेकाले आमाको पीडा बुझ्ने बताइन् । भेटमा प्रधानमन्त्रीले विपिन जोशीको रिहाइका लागि पहल गर्ने बताएको पुष्पाले जानकारी दिइन् । विपिन जोशी नेपालको नागरिक भएकाले नेपालमा सकुशल फिर्ता ल्याउन कुनै एकले मात्रै नभइ सवै मिलेर पहल गर्नुपर्ने उनले बताइन् । जवाफमा प्रधानमनत्री कार्कीले विपिनको रिहाइको लागि कुनै कसर बाँकी नछोड्ने प्रतिबद्धता दिएको उनले जानकारी दिइन्।

उनले हमाससँग नजिक रहेका राष्ट्रहरुसँग कुरा गरेर विपिनको रिहाईको लागि हरसम्भव प्रयास गर्ने वचन दिएको उनको भनाइ छ । प्रधानमन्त्री कार्कीको पहलमा दाइ घर फर्किनेमा आफू विश्वस्त रहेको बहिनी पुष्पाले बताएकी छन् । जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजराइल पुगेका थिए । यसअघि शनिबार हमासको सशस्त्र समूह कासम ब्रिगेडले विपिन जोशीसहित ४८ इजरायली बन्धकहरुको तस्वीर सार्वजनिक गरेको थियो ।

हमासद्वारा ‘विदाइ तस्वीर’ भन्दै ४८ बन्दीको फोटो सार्वजनिक, नेपालका विपिन पनि

काठमाडौं । इजरायलले गाजा शहरमा आक्रमण तीब्र बनाउँदै लगिरहेका बेला लडाकु समूह हमासले ‘बिदाइ तस्वीर’ भन्दै ४८ जना बन्दीहरुको तस्वीर सार्वजनिक गरेको छ ।

हमासको सशस्त्र सैन्य शाखा ‘इजुद्दिन अल–कस्साम ब्रिगेड्स’ ले शनिबार आफ्नो टेलिग्राम च्यानलमार्फत गाजामा रहेका ४८ बन्दीहरूको तस्वीर राखेको हो । जसमा नेपालका विपिन जोशीको तस्वीर पनि समावेश छ । ती तस्वीरमा जीवित र मृत दुवैलाई समावेश गरिएको छ ।कसको मृत्यु भएको हो र को–को जीवित छन् भन्ने चाहिँ खुलेको छैन । नेपालका विपिन अहिलेसम्म जीवितै रहेको आशा गरिएको छ ।

हमासले जारी गरेको विज्ञप्तीमा इजरायलको निरन्तर स्थलगत र हवाई आक्रमणका कारण बन्दीहरूको जीवन संकटमा परेको दाबी गरिएको छ । सार्वजनिक तस्वीरमा जीवित र मृत दुवै बन्दीहरूलाई ‘रोन अराड’ शीर्षकमा देखाइएको थियो । यो नाम १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका एक अधिकारीसँग जोडिएको मानिन्छ ।

इजरायली अधिकारीहरूले अझै करिब २० बन्दी जिउँदै गाजामा रहेको विश्वास व्यक्त गरेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जीवितहरूको संख्या अझै कम हुन सक्ने बताएका छन् । शनिबार हामासले दिएको उक्त धम्कीपछि हजारौँ इजरायलीहरू पुनः तेल अभिभ र अन्य सहरका सडकमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले तत्काल युद्ध अन्त्य गरेर बन्दीहरूको सुरक्षित फिर्तीको माग गरेका छन् ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ देखि इजरायलसँगको युद्ध सुरु भएपछि कम्तीमा ६५,२०८ जना मारिएका छन् । जसमा एक लाख ६६,२७१ जना घाइते भएका छन् । मार्च १८ मा इजरायलले हामाससँगको युद्धविराम तोडेयता मात्र १२ हजार ६५३ जना मारिएका छन् । ५४ हजार २३० जना घाइते भएका छन्।

गाजा सहरमा पछिल्लो दिन मात्रै दर्जनौँ मानिस मारिएका छन्, घरहरू ध्वस्त पारिएका छन्, हजारौँ मानिस भाग्न बाध्य भएका छन् । इजरायलले सम्पूर्ण क्षेत्रलाई युद्ध क्षेत्र घोषित गरेको छ ।