हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, दुई बर्षअघि नै हत्या
काठमाडौं । हतियारीधारी समूह हमासले सोमबार बुझाएका चार जनाको शवको पहिचान भएको इजरायली सेनाले जानकारी दिएको छ । तीमध्ये नेपालका विपिन जोशीको शव पनि पहिचान भएको इजरायली सेनाले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।
इजरायली सेनाले विपिनसहित चार जनाकै शव पहिचान भएको जानकारी दिँदै दुई जनाको नाम सार्वजनिक गरेको र थप दुई जनाको नाम परिवारको सहमतिपछि सार्वजनिक गर्ने समाचारमा जनाइएको छ। विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ ।इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावास स्रोतले जनाएको छ ।
‘हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भयो । उनको प्राकृतिक मृत्यु नभइ हत्या नै भएको रिपोर्ट पाएका छौं,’ स्रोतले भन्यो । उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) ले सैनिक अस्पताल लगेर डीएनए गरेको थियो । यसबारे नेपाली इजरायलस्थित दूतावासले औपचारिक रुपमा जानकारी गराएको छैन । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि अहिलेसम्म जानकारी नभएको बताएका छन् ।
परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई यसको औपचारिक जानकारी भएपछि विपिनको डीएनए परीक्षणको रिपोर्टबारे सार्वजनिक गराउने तयारी रहेको स्रोतको भनाइ छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
