`

हमासद्वारा ‘विदाइ तस्वीर’ भन्दै ४८ बन्दीको फोटो सार्वजनिक, नेपालका विपिन पनि

Nepal One HD ४ असोज २०८२ २०:५४
अर्थ समाचार

काठमाडौं । इजरायलले गाजा शहरमा आक्रमण तीब्र बनाउँदै लगिरहेका बेला लडाकु समूह हमासले ‘बिदाइ तस्वीर’ भन्दै ४८ जना बन्दीहरुको तस्वीर सार्वजनिक गरेको छ ।

हमासको सशस्त्र सैन्य शाखा ‘इजुद्दिन अल–कस्साम ब्रिगेड्स’ ले शनिबार आफ्नो टेलिग्राम च्यानलमार्फत गाजामा रहेका ४८ बन्दीहरूको तस्वीर राखेको हो । जसमा नेपालका विपिन जोशीको तस्वीर पनि समावेश छ । ती तस्वीरमा जीवित र मृत दुवैलाई समावेश गरिएको छ ।कसको मृत्यु भएको हो र को–को जीवित छन् भन्ने चाहिँ खुलेको छैन । नेपालका विपिन अहिलेसम्म जीवितै रहेको आशा गरिएको छ ।

हमासले जारी गरेको विज्ञप्तीमा इजरायलको निरन्तर स्थलगत र हवाई आक्रमणका कारण बन्दीहरूको जीवन संकटमा परेको दाबी गरिएको छ । सार्वजनिक तस्वीरमा जीवित र मृत दुवै बन्दीहरूलाई ‘रोन अराड’ शीर्षकमा देखाइएको थियो । यो नाम १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका एक अधिकारीसँग जोडिएको मानिन्छ ।

इजरायली अधिकारीहरूले अझै करिब २० बन्दी जिउँदै गाजामा रहेको विश्वास व्यक्त गरेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जीवितहरूको संख्या अझै कम हुन सक्ने बताएका छन् । शनिबार हामासले दिएको उक्त धम्कीपछि हजारौँ इजरायलीहरू पुनः तेल अभिभ र अन्य सहरका सडकमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले तत्काल युद्ध अन्त्य गरेर बन्दीहरूको सुरक्षित फिर्तीको माग गरेका छन् ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ देखि इजरायलसँगको युद्ध सुरु भएपछि कम्तीमा ६५,२०८ जना मारिएका छन् । जसमा एक लाख ६६,२७१ जना घाइते भएका छन् । मार्च १८ मा इजरायलले हामाससँगको युद्धविराम तोडेयता मात्र १२ हजार ६५३ जना मारिएका छन् । ५४ हजार २३० जना घाइते भएका छन्।

गाजा सहरमा पछिल्लो दिन मात्रै दर्जनौँ मानिस मारिएका छन्, घरहरू ध्वस्त पारिएका छन्, हजारौँ मानिस भाग्न बाध्य भएका छन् । इजरायलले सम्पूर्ण क्षेत्रलाई युद्ध क्षेत्र घोषित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *