आविष्कार केन्द्रका लागि आफैँले बजेट छुट्याउनु अनैतिक हुन्छ: शिक्षामन्त्री पुन


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रद्वारा सञ्चालित वीरगन्ज कृषि औजार कारखानाका लागि बजेट आवश्यक रहेको बताएका छन्।
पुनले आफूले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रद्वारा सञ्चालित वीरगन्ज कृषि औजार कारखानामा बनेको धान काट्ने मेसिनलाई पुरानो हाते ट्रयाक्टरमा जोडेर धान काटिरहेको भिडिओ सामाजिक सञ्जालमा राख्दै सरकारसँग बजेटको माग राखेका हुन्।
आफू मन्त्री बने पनि आविष्कार केन्द्रले त्यो कारखाना सञ्चालन गरिरहेको जानकारी दिँदै उनले त्यसको आर्थिक स्रोत भनेको आफ्नो आत्मकथा किताब बेचेको पैसा र दातारूको दान मात्र भएको बताएका छन्।
पहिलेका सरकारहरूले कारखानालाई बेवास्ता गरेको गुनासो गर्दै पुनले अहिले आफू मन्त्री भएकाले त्यसका लागि आफैँले बजेट छुट्याउँदा अनैतिक हुने दुखेसो समेत पोखेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म मन्त्री भए पनि राष्ट्रिय आविष्कार केन्द्रले वीरगन्ज कृषि औजार कारखाना चलाइरहेकै छ। आर्थिक स्रोत भनेको मेरो आत्मकथाको किताब बेचेको पैसा र दाताहरूले दान गरेको पैसा हो’, ‘मन्त्री भएर कारखानाको लागि म आफैँले बजेट छुट्याउनु अनैतिक काम हुन्छ। पहिलेको सरकारहरूले छुट्याएको भए हुन्थ्यो तर छुट्याएनन्। भविष्यका सरकारले पैसा छुट्याए पनि हुन्छ।’
उनका अनुसार वीरगन्ज कृषि औजार कारखानामा बनेको धान काट्ने मेसिनको परीक्षण भइरहेको छ र अब परीक्षण सफल भएपछि उत्पादन सुरु हुने अपेक्षा गरेका छन् ।