शिक्षामन्त्री पुनलाई शिक्षक महासङ्घको ध्यानाकर्षण


काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसँग नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलले विगतमा आफूहरूबीच भएका सहमति र सरकारका निर्णय कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको छ ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको नेतृत्वले केशरमहलमा मन्त्री पुनलाई भेटेर सरकारका तर्फबाट हुनसक्ने समस्या समाधानका विषय कार्यान्वयनका लागि आग्रह गरेको हो । विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारीमा रहेको प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारका तर्फबाट हुनसक्ने सम्बोधनको विषय कार्यान्वयनका लागि महासङ्घले मन्त्री पुनलाई आग्रह गरेको हो ।
महासङ्घले यसअघि गरेको प्रदर्शनपछि सरकारसँगको सहमतिमा गत वैशाख १७ गते मन्त्रिपरिषद्बाट निजामती अस्पतालबाट शिक्षक कर्मचारीलाई स्वस्थ्योपचारमा सहुलियत, अस्थायी र करारका विभिन्न प्रकृतिका शिक्षकको बिरामी र सञ्चित बिदावापतको रकम सेवाबाट अलग हुँदा एकमुष्ट रूपमा उपलब्ध गराउने, प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक सरकारले तोकेबमोजिम हुनेलगायत नौबुँदे निर्णय गरेको थियो ।
महासङ्घले सरुवा कार्यविधिको खारेजी र परिमार्जन, विभिन्न पालिकाबाट अस्थायी प्रकृतिका शिक्षकमाथि करार नवीकरणका नाममा गरिएको आनाकानी, तलब रोकिएको अवस्थालगायत विषयमा मन्त्री पुनको ध्यानाकर्षण गराइएको महासङ्घका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
शिक्षामन्त्री पुनले शिक्षक र कर्मचारीका पेसागत मुद्दामा आफू गम्भीर रहेको बताउँदै शिक्षाको गुणस्तर बढाउन शिक्षक दत्तचित्त हुनुपर्नेमा जोड दिनुभएको थियो ।