यस्तो छ एमाले अध्यक्ष ओलीको १५ बुँदे राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा शर्मा ओलीले जेनजी आन्दोलनको समीक्षा गर्दै प्रतिनिधि सभा विघटन असंवैधानिक रहेकोले पुनस्र्थापनामा जोड दिएका छन् । ललितपुरको भनिमण्डलमा बुधबारदेखि जारी केन्द्रीय कमिटीको बैठकमा ६ पृष्ठको १५ बुँदे राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले सो कुरा भनेका हुन् । उनले जेनजी आन्दोलनमा आफूले गोली चलाउन आदेश दिएको भन्ने आरोपको खण्डन गरेका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘गोली चलाउने आदेश कानुनतः अधिकार प्राप्त संस्था वा अधिकारीले मात्र दिन सक्दछ र प्रधानमन्त्री त्यस्तो अधिकारी होइन भन्ने स्पष्ट छ । भदौ २३ गतेको गोलीकाण्डको बारेमा प्रधानमन्त्रीलाई घटना घटेपछि थाहा भएको हो ।’
उनले दङ्गा नियन्त्रणका अन्य वैकल्पिक उपाय अवलम्बन नै नगरी किन त्यति ठूलो मात्रामा गोली चल्यो ? एकसाथ किन करिब दुई दर्जन युवाहरूको हत्या भयो ? किन सयौँको संख्यामा घाइते बनाइयो ? २४ गतेको विध्वंसको तयारीका लागि वा के का लागि ? २३ र २४ गतेका घटनाहरूको अन्तरसम्बन्धको विश्लेषण गर्नुपर्ने उल्लेख गरेका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘भदौ २३ गतेको घटना पछि मन्त्री परिषद्को बैठक बसेको छ । बैठकले उक्त घटनाका सम्बन्धमा दुख व्यक्त गरेको छ। घाइतेहरूको निःशुल्क उपचारका निम्ति निर्णय गरेको छ। मृतक र घाइतेका परिवारलाई राहत र क्षतिपूर्तिका लागि निर्णय गरेको छ। घटनाको सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाउने र त्यस आयोगको सिफारिसमा दोषी उपर कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।’ उनले यथार्थ यस्तो हुँदाहुँदै पनि तत्कालीन प्रधानमन्त्रीविरुद्ध नियोजित रूपमा चलाइएका निराधार र आपराधिक प्रचारलाई एमालेले कडा प्रतिवाद र खारेज गर्ने उल्लेख गरेका छन् ।
संसद् विघटनविरुद्ध निर्णायक आन्दोलन गर्नुपर्ने को प्रस्ताव
नेकपा एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको निष्कर्ष निकाल्दै निर्णायक आन्दोलन गर्नुपर्ने निचोड निकालेको छ । त्यसका लागि लोकतन्त्र र संविधान मान्ने सबै पक्षलाई आन्दोलनका लागि आह्वान पनि गरेको छ । ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन आन्दोलन गर्नुपर्ने उल्लेख गरिएको हो ।
‘सरकारको संरक्षणमा भइरहेका ज्यादती र उल्टो गतिका विरुद्ध एवं विघटित प्रतिनिधिसभाको पुनस्र्थापना गर्दै देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेको हाम्रो पार्टीको निष्कर्ष छ’, ओलीको प्रतिवेदनको १४ नम्बर बुँदामा उल्लेख छ, ‘तसर्थ, जनपरिचालन र जनआन्दोलनका विभिन्न कार्यक्रमहरू तय गर्दै अघि बढ्न सिंगो पार्टी पंक्ति, संविधान, लोकतन्त्रका पक्षधर राजनीतिक दलहरू र आम नागरिकलाई आह्वान गर्दछौँ ।’ एमालेको केन्द्रीय कमिटी बैठक आगामी असोज ३१ सम्म जारी रहनेछ ।
हेर्नुस् प्रतिवेदन





