`

एमालेसँगको सम्भावित एकताबारे के भन्छन् प्रचण्ड ?

Nepal One HD २९ असोज २०८२ १६:२९
प्रमुख खबर

धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँगको सम्भावित एकताबारे खुलासा गरेका छन् । धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेता–कार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेण्डा बनाउँदै अघि बढ्ने बताए ।

‘अबको माओवादीको लाइन भनेको चुनाव हो’, उनले भने । उनले तिहार लगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रियाअघि बढ्ने जानकारी दिए । एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन । तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।’ कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए ।

‘जेनजीको असली प्रतिनिधि माओवादी हो’
संयोजक ‘प्रचण्ड’ ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताए । संयोजक प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको बताए । उनले भने, ‘हाम्रो पार्टी नै जेनजी आन्दोलन सुरु हुनुभन्दा पहिले उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो । जेनजी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ ।’

सरकारमा बस्दा जेनजीहरूलाई दमन गर्ने र जेनजीका माग र एजेण्डालाई समर्थन गर्दै आउनेमा अरु पार्टी नभएको भन्दै उनले थपे, ‘सरकारमा बसेर जेनजीहरूलाई दमन गर्ने र सडकमा जेनजीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन् भनेर एकथरी मानिसहरूले प्रचार गर्ने गरेका छन् । हामी उनीहरू जस्ता होइनौँ । माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेनजीहरूको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *