एक सातादेखि आन्दोलित छन् मणिपाल र जिएमसी अस्पतालका नर्सहरु


कास्की । कास्कीका मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज(जिएमसी) अस्पतालमा कार्यरत नर्सहरु एक साता यता आन्दोलित छन् । पारिश्रमिक वृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्सहरु असोज २४ गतेदेखि आन्दोलन गरिरहेका छन् । यस्तै असोज २७ गतेदेखि जिएमसीका नर्सहरु आन्दोलनमा उत्रिएका छन् ।
नेपाल सरकारले २०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । सरकारी मापदण्डअनुसार नर्सको न्यूनतम पाँचौं तहको तलब ३४ हजार ७३० रूपैयाँ तोकिएको छ ।
मणिपाल र जिएमसीका नर्सहरुले आफुहरुले १२ हजारदेखि १५ हजारसम्म मात्रै तलब पाउने गुनासो गरेका छन् । अस्पतालले स्टाफ नर्सको रुपमा तोकेर राखेकाले स्टाफ नर्सलाई सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने नर्सहरुको माग छ ।
मणिपालले २४ हजारदेखि २९ हजारसम्म दिन तयार रहेको प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । मणिपाल र जिएमसी दुवैले नर्सहरुको मागअनुसार तलब दिन नसक्ने उल्लेख गरेका छन् ।