जेनजीका अगुवाहरूलाई प्रचण्डको आग्रह : मित्र र दुष्मन छुट्याउनु होस्


काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी अगुवाहरूलाई मित्र र दुष्मन छुट्याउन आग्रह गरेका छन् । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो अपिल गरेका हुन् ।
‘आफ्नो सच्चा मित्र र दुष्मन छुट्याउन सक्नुहोस्,’ उनले भने, ‘आफूलाई माया गर्नेहरूलाई चिन्न आवश्यक छ । राम्रोसँग समीक्षा गरौं ।’ एक पक्षले जेनजी आन्दोलनलाई गलत ढंगले व्याख्या गर्न खोजेको पनि उनले बताए । प्रचण्डले भने, ‘एउटा विचारले तपाईंहरूको आन्दोलनलाई आतंकारी भनेको छ । तपाइंहरुलाई आतंककारी भन्दा हामीलाई चसक्क बिझ्छ । हिजो हामीलाई पनि उत्पीडनमा परेकाहरूको पक्षमा संघर्ष गर्दा आतंककारी भन्थे । आज तपाईंहरूलाई त्यस्तै भनिँदैछ ।’
प्रचण्डले जेनजी युवाहरूका माग जायज रहेको बताए । आन्दोलन हुँदै गर्दा सरकारलाई खबरदारी गरेको स्मरण गरे । ‘तपाईंहरूको पक्षमा सबैभन्दा पहिले बोल्ने पार्टी माओवादी हो,’ प्रचण्डले भने, ‘२३ गते साँझ दमनको विरोध गर्ने र तत्कालीन प्रधानमन्त्रीको राजीनामा माग गर्ने पहिलो पार्टी माओवादी हो ।’ भ्रष्टाचार न्यूनीकरण र सुशसनका लागि काम गर्दै आएको र सरकारमा नरहँदा निरन्तर खबरदारी गर्दै आएको पनि उनले बताए ।
‘अहिले संसद पुनर्स्थापनाको कुरा गर्नु विडम्बनापूर्ण’
प्रचण्डले देशको समसामयिक राजनीतिक संकट समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता उनले औंल्याए ।
संयोजक प्रचण्डले भने, ‘हामी यतिबेला अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौं । संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी माघ २१ गते तोकिएको निर्वाचन हो । यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार लगायत सबै पक्षको ऐक्यबद्धता आवश्यक छ ।’
संयोजक प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्रयाकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताए । ‘निर्वाचनबाट आउने नयाँ संसदले संविधान परिमार्जन गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्छ । जनताको अपेक्षा पूरा गर्न हामी तयार छौं,’ उनले भने ।
उनले आगामी माघ २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको बताउँदै भने, ‘निर्वाचन नगरीकन देशमा अर्को अराजकता आउन सक्छ । त्यसैले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी छ ।’
संयोजक प्रचण्डले संसद पटक–पटक विघटन गर्नेहरूले अहिले संसद पुनर्स्थापनाको कुरा गर्नु हाँस्यास्पद भएको बताए । ‘केपी ओली प्रधानमन्त्री हुँदा संसद् विघटन भयो, राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो । अहिले उनीहरुकै समूहले संसद्को कुरा गर्नु विडम्बनापूर्ण हो,’ प्रचण्डले भने ।
उनले समाजवादी मोर्चामा आबद्ध बाम शक्तिहरूबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिंदै भने, ‘हामीले बृहद बामपन्थी एकताको आवश्यकता महसुस गरेका छौं । तर त्यसले मात्र पुग्दैन । लोकतन्त्रवादी र राष्ट्रवादी सबै शक्तिहरू पनि राष्ट्रिय संकटको सामना गर्न एकजुट हुन जरुरी छ ।’
उनले वर्तमान अन्तरिम सरकार निर्वाचन गर्न गम्भीर रहेको र अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।