घ्याँसीखर्क र लुलाङ जोड्ने सडक चार महिनापछि सञ्चालन


म्याग्दी – म्याग्दीको रघुगङ्गङ्गा गाउँपालिका–८ घ्याँसीखर्क र धवलागिरि गाउँपालिका–२ लुलाङ जोड्ने सडकमा चार महिनापछि यातायात सञ्चालन भएको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको मलाङ पहिरोका कारण घ्याँसीखर्क र धवलागिरि गाउँपालिका–२ मा रहेको दरखोलामा वर्षात्सँगै बाढीको सतह बढेपछि लुलाङ जोड्ने सडक गत असार महिनादेखि अवरुद्ध भएको थियो ।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरबम दरखोलामा बर्खा रोकिएपछि पानीको सतह घटेको र ह्युमपाइप राखेर लुलाङ जोड्ने सडकमा यातायात सञ्चालन गरिएको छ । दरखोलामा मोटरेबल पुल नभएकाले लुलाङ र गुर्जा गाउँ जोड्ने सडकमा बर्खायाममा यातायात अवरुद्ध हुने गरेको हो ।
त्यसैगरी, राहुघाट नदीमा निर्माण भएका चिमखोला–राहुघाट–मङ्गले, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको सहयोगमा डोजर परिचालन गरेर मलाङको पहिरो पन्छाएपछि चिमखोला हुँदै घ्याँसीखर्क जोड्ने सडकमा यातायात सञ्चालन भएको हो ।
म्याग्दीको विकट क्षेत्रमा पर्ने घ्याँसीखर्क र लुलाङसहित बर्खामा अवरुद्ध भएका सबै सडक मर्मत गरेर यातायात सञ्चालन गरिएको स्थानीय तहहरूले जनाएका छन् । यातायात सञ्चालन भएसँगै ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत, निर्माण सामग्री र खाद्यान्न ढुवानी तथा कृषि र पशुजन्य वस्तु बिक्री गर्न सहज भएको छ ।