स्टुडियोमा आफैलाई आगो लगाएकी गायिका नितुको मृत्यु
काठमाडौं । शरीरमा आफै पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको मृत्यु भएको छ । उनको आज बिहान उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ‘कीर्तिपुर वर्न हस्पिटलमा आज बिहान ८ः२० बजे मृत्यु भएको छ’, जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन भट्टराईले जानकारी दिए ।
शनिबार दिउँसो पौडेलले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् । उनले १२ दिनअगाडि आफ्नो फेसबुक पेजमा निराशाजनक स्टाटस लेखेकी थिइन् । उनले लेखेकी थिइन्, ‘हाँसी रहने यो मुहारभित्रको उदासीपन हरकोहीले कहाँ बुझ्न सक्छ र ?’
गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । यस घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो । अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा छन् । उनीविरुद्ध भने कुनै जाहेरी नआएको परिसरका एसपी भट्टराईले बताएका छन् । उनीहरु लामो समयदेखि प्रेममा रहेको बताइएको छ ।
